कैलाली जेलमा नयाँ नियम, टीकापुर घटनाका कैदीलाई भेट्न पाँच मिनेटमात्र !

केही दिनयता टीकापुर राजबन्दी परिवारले आन्दोलन थालेपछि कैलाली कारागारमा नयाँ नियम लागु भएको छ । कैदीबन्दीहरुलाई भेट्न आउने मानिसहरुकै कारण भिडभाड भएको भन्दै कैलाली कारागारले नयाँ नियम लागु गरेको हो । योभन्दा पहिले भेट्ने कुनै समय सीमा नरहे पनि हाललाई पाँच मिनेट भित्रै भेटघाट गरिसक्नु पर्ने नियम लागु गरिएको छ ।

कारागारमा रहेका थरुहट नेता लक्ष्मण थारूले आफूहरुलाई नै लक्षित गरी समय सीमा निर्धारण गरेको दुखेसो सुनाए । केही दिनयता आफूहरुले कारागार भित्रबाट र परिवारजनले सडकबाटै आन्दोलनसहित विज्ञप्ती सार्वजनिक गर्दै गएपछि कडाई गरेको जिकिर गरे ।
तर कारागारको कुनै पनि नियमले आफुहरुको कलम र आवाजलाई बन्द गर्न नसक्ले नेता थारुले चुनौती दिए ।

तर कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले केन्द्रीय कारागारबाट कारागार व्यवस्थापन तथा कैदी र थुनुवाहरुको व्यवस्थापन गर्न परिपत्र आएपछि भेट्ने समयमा केही हेरफेर भएको जानकारी दिए । स्थानीय तह निर्वाचन नजिकिए संगै कैदी बन्दीहरुलाई भेट्ने मानिसहरुले गर्दा भिडभाड भैरहेकोले भेट्ने समयमा हेरफेर भएको उनले बताए ।

प्रजिअ रिजालले भने, ‘कैलाली कारागारको क्षमता १२५ जनाको छ, तर यहाँ पाँच सय वढी कैदी बन्दी रहेका छन् । यो भन्दा पहिले भेट्ने समय नतोकिएकै कारण भिडभोड हुँदै गएपछि समान्य हेरफेर भएको हो ।’ यद्यपि कैलाली र कञ्चनपुरवाहेक अन्य जिल्लाबाट भेट्न आउनेलाई कुनै समय सीमा बाध्यकारी नहुने कारागार कैलालीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *