पाँच मधेसी पार्टीको एकतापछि राजपा बन्यो मधेसकै ठूलो पार्टी

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ बन्ने निश्चित भएको छ। लामो बहसपछि एकताको घोषणा र दलको नाममा सहमति गरेका पाँच दल आजै दिउँसो एकता घोषणा गर्ने तयारीमा छन्। एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र फोरम गणतान्त्रिक सहभागी छन्।

‘हामी एकताको सहमतिमा पुगेर पनि प्राविधिक विषय मिलाउन लाग्दा राति अबेरसम्म लाग्यो’, ‘मोर्चा आबद्ध दल फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘कहाँ एकता घोषणा हुने भन्ने ठाउँको टुंगो लागेको छैन।’

उनले एकताका लागि सबै कुरा टुंगो लागिसकेको भन्दै बाँकी विषय अध्यक्ष मण्डलबाट नै मिलाउन लागेको जानकारी दिए। एकतासँगै मधेशसँग नाम जोडिएका पाँच दलको नाममा अब मधेश जोडिने छैन। एकीकरणपछि दलको नाम राष्ट्रिय जनता दल रहनेछ।

पार्टी अध्यक्षमा महन्थ ठाकुर र कार्यबाहक अध्यक्षमा राजेन्द्र महतो रहने सहमति भएको छ। अन्य नेताहरु सह–अध्यक्ष रहने गरी महाधिवेशनसम्म अध्यक्ष मण्डलमा रहनेछन्। ‘महन्थजी पार्टीको अध्यक्ष बन्ने र राजेन्द्रजी कार्यबाहक अध्यक्ष बन्ने, बाँकी अध्यक्षहरु दोस्रो तहमा सह-अध्यक्ष बस्नेगरी सहमति नजिक पुगे पनि दोस्रो तहका नेताबीच वरीयताका विषयमा टुंगो नलाग्दा महाधिवेशनसम्म अध्यक्ष मण्डल बनाएर हैसियत यथावत कायम गरिएको छ,’ एकता प्रक्रियामा सहभागी एक नेताले भने, ‘बीचमा कुनै समस्या भए अध्यक्ष मण्डलबाट गठन गरिने विधान समितिबाट विवाद समाधानको प्रयास गरिने छ।’

ती नेताले कार्यसञ्चालनमा समस्या आएमा अध्यक्ष मण्डल नै विवाद समाधानको संयन्त्र बन्ने भन्दै बाँकी सबै विषय महाधिवेशनले टुंग्याउने बताए। सहमति अनुसार एक वर्षभित्र महाधिवेशनमा जाने तयारी रहेको छ।
एकतापछि राष्ट्रिय जनता पार्टी संसद्को पाँचौँ शक्तिका रुपमा स्थापित हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *