२० जना थारु किसानको ज्यान लिने ‘बर्गद्दी-बेलवा कान्ड’

कृष्णराज सर्वहारी।

८ मंसिर ०५८ को राति दाङ सदरमुकाम घोराहीमा माओवादीले आक्रमण गर्दा भगवतीप्रसाद गुल्मका प्रमुख (सेनानी) नरेश उप्रेतीसहित १४ सैनिक मारिए । घटनामा जिल्ला प्रहरीका नौ सुरक्षाकर्मीको ज्यान गयो । तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उक्त भीडन्तमा ७० माओवादी मारिएको दाबी गरे । तर, माओवादीले आफ्ना एक दर्जनभन्दा बढी कार्यकर्ता नमारिएको बतायो ।

सोही रात जिप्रका स्याङ्जामा माओवादीले आक्रमण गर्दा १४ प्रहरीको ज्यान गयो । दाङ र स्याङ्जा सदरमुकाम आक्रमणको तीन दिनलगत्तै ११ मंसिरमा माओवादीलाई आतंककारी बताउँदै संकटकाल घोषणा गरियो । र, आतंककारी तथा विध्वंसात्मक गतिविधि नियन्त्रण र सजाय अध्यादेश, २०५८ जारी भई सेना परिचालन गरियो ।

घोराही आक्रमणको पाँच दिनपछि १३ मंसिरमा सदरमुकामबाट करिब दुई किलोमिटर पूर्व–उत्तरस्थित घोराही ३ बर्गद्दी गाउँमा ११ जना निहत्था किसान सुरक्षाकर्मीबाट मारिए । उनीहरू खल्यानमा ट्रयाक्टरले दाइँ गरेको धान झाँट्दै थिए । घटना दिउँसो तीन बजे भएको थियो । तर, रेडियोमा सामाचार प्रसारण भयो, गए राति साढे नौ बजे बर्गद्दीमा लुटपाटका लागि आएका ११ माओवादी सुरक्षा कारवाहीमा मारिए ।
उक्त घटनाको ठीक एक वर्षपछि घोराहीबाट सात किमि उत्तरस्थित बेलवा गाउँमा पनि त्यस्तै घटना भयो । किसानहरू धान दाइँ गरिसकेर मनाइने पेडिया पर्वमा रमाइरहेका थिए । आफन्त डाक्न छिमेकी घरमा जान लागेका युवा गाउँको चौराहामा भेला भएका थिए ।त्यसैबेला सुरक्षाकर्मीले आठ जनालाई एकै चिहान बनाए । फर्किंदा बेलवाभन्दा एक किमि वरै गोग्ली चोकमा अर्का किसान सुरक्षाकर्मीको निशानामा परे । तर, उनीहरूबारे कमै चर्चा भयो । त्यसका कारण परिवारलाई परेको चोटमा मल्हम लगाउने काम त टाढाको कुरा ।

दुई छोरा, दुई भाइ गुमे
महिनादिनअघि फागुन तेस्रो साताको एक बिहान साढे सात बजेतिर छुनिलाल चौधरी घर निर्माणको काममा जाने हतारोमा थिए । उनले शुरुमै बिलौना पोखे, ‘कमैना लर्का चला गैला । बुढैलेम् हड्डी घोटे परटा ।’ (कमाउने छोराहरू गइगए । बुढ्यौलीमा हाड घोट्नुपरेको छ ।) छुनिलाल ७२ वर्षका भए । बाजे, बाबु र उनी बर्गद्दीका जमिनदार कृष्ण घिमिरेको घरमा कमैया थिए । उनका तीन भाइ अनि जेठा छोरा खुशीराम पनि अलग–अलग बस्थे । उनी कान्छा छोरा जगमानसँग बस्दै आएका थिए । पर्म लगाएर खेतीपातीमा सघाउनु थारूहरूको पुरानो चलन हो । सोहीअनुसार छिमेकीको दाइँमा सघाउन उनका दुवै भाइ प्रसादु र शीतलाल तथा दुवै छोरा पर्म गएका थिए, १३ मंसिर ०५८ मा ।

तर, सुरक्षाकर्मीले बिनासोधपुछ अन्धाधुन्द गोली चलाएर उनीहरूको ज्यान लिए । पतिको छेउमा बस्दै छुनिलालकी पत्नी फुलदशनी चौधरीले त्यो कालो दिनको सम्झना गरिन्, ‘म त्यो दिन घोराहीबाट फर्किंदै थिएँ । हरिद्वार चोकबाट हाम्रो गाउँ बर्गद्दी आउने बाटो छुट्टिन्छ । त्यो चोकमा गाउँका जमिनदारहरूले कुरा गरेको सुनेँ । अँधियालाई टिकुर बनाएर यी थारूहरू मात्तिए । कहिले मर्छन् कुन्नि ! कि घनिबगियाका मर्छन्, कि बर्गद्दीका मर्छन् ।’घर गएर फुलदशनीले छोराहरूलाई आफूले चोकमा सुनेको अनिष्ट कुरा सुनाइन् र पर्ममा नजान भनिन् । तर, आफूलाई पर्दा सहयोग गर्ने गाउँलेलाई सहयोग गर्न उनीहरू किन आनाकानी गर्थे र ।

आमाको कुरा नसुनी गए । छुनिलाल भन्छन्, ‘दिउँसै नै के गर्लान् र भनेर काकाहरूसँग छोराहरू गए । आखिर कहिल्यै फर्किएनन् ।’ उनका अनुसार त्यस वर्षको मकै माओवादीको दबाबमा अँधियाबाट टिकुर (तीन भाग) गरिएको थियो । धानबाली पनि त्यसै हुने डरले सुराकी गरेरै जमिनदारले सुरक्षाकर्मी बोलाएका थिए । छुनिलालका बाजे रजमान, बाबु कल्चुका सबै सन्तान जमिनदार घिमिरेकै बुकुरोमा जन्मिए । पछिल्लो समय नयाँबस्तीमा घर बनाएर मालिकको खेत अँधियामा जोत्दै आएका थिए । उनलाई माओवादी र जमिनदार दुवैसँग रिस उठेको छ । भन्छन्, ‘जमिनदार सबै जग्गा बेचेर काठमाडौं बस्छन् रे । तिनको जग्गामा हामीले कैयौँ पुस्तादेखि दशनंग्रा खियायौँ तर बेच्नेबेला एक बचन सोधेनन् ।

हामीले पनि ऋण–धन गरेर पछि तिर्नेगरी केही किन्दा हौँ ।’त्यसो त, घटनामा रगताम्य भएको धान पनि मालिकले तिमीहरूको सन्तानको सास गएको बाली हो, लैजाओ भनेनन् । त्यो पनि अँधिया गरेर लगे । त्यसैले मालिकबाट ठूलो आशा पनि राखेनन् । तर, तिनै मालिकको जग्गा प्लटिङ गरेर बेच्ने माओवादीले परिवारको सदस्यहरूको सास गएको खल्यानको जग्गा बेच्दा पनि उनको मन रोएको छ । स्मारक बनाउन गाडिएको साइनबोर्ड फालिएको छ अहिले । फूलदशनी भन्छिन्, ‘द्वन्द्वमा माओवादीलाई धेरै पाल्याै‌ । त्यही आरोप लगाएर सामाचार नि फुकाए । तर, तिनले अहिले आएर हामीलाई क्यै न क्यै बनाए ।’ छुनिलालको घर चुनाले पोतेर निख्खर सेतो छ ।

तर, ती दम्पत्तीको अनुहार औँसीझैं अँध्यारो छ । अन्नपूर्ण टुडे संवाददाता फर्किन लाग्दा फूलदशनी आँगनमा बाख्रापाठा बाँध्न खोज्दै थिइन् । घरी–घरी फुत्किएर भाग्ने पाठा समाउन सहयोग गरेपछि उनले आँशु पुछ्दै भनिन्, ‘यी बाख्राका पाठाझैँ चुलबुले थिए मेरा छोराहरू । देवरहरू अलग भए पनि दाजुभाइमा मिल्ती थियो । के दैव लाग्यो । यस्तो दिन देख्नुपर्योब ।’

जो घटनामा जोगिए
७० वर्ष पुगेका छन्, ठग्गु चौधरी । त्यतिबेला ५५ वर्षका उनको बुढ्यौलीलाई ख्याल गर्दै साथीहरूले त्यस दिन धानको घान कोट्याउन नलगाई पराल बाँध्न लगाएका थिए । टाढै गाडी देखिएपछि उनी लुसुक्क भागे । काम गरिरहेका १२ जनामध्ये उनी मात्र जोगिए । लठ्ठी टेक्दै हिँड्ने उनी घरको माथिल्लो तलाबाट सितिमिति झर्दैनन् अहिले । ‘काल फेन गाडी लेके खै सेना हो कि के हो गोहराइटेहे, मै बोल्बो नैकर्लु (हिजो साँझ नि गाडी लिएर सेनाको हो कि कसको मान्छे हो, यहाँ आएर बोलाउँदै थियो । म त बोल्दै बोलिन),’ शुरुकै कुराकानीमा उनले भने । बर्दी लगाएका सुरक्षाकर्मी देख्दा र गाडीको आवाज सुन्दा अहिले पनि उनी तर्सिन्छन् ।

खेतमा सिँचाइ गर्न गएका बेला सुरक्षाकर्मीको कुटपिटमा परेका उनको त्यसपछि मानसिक अवस्था कमजोर भयो । छोरा जन्ती चौधरीका अनुसार बीच–बीचमा ‘ऊ मलाई मार्न आउँदैछन्’ भनेर बर्बराउँछन्, उनी । चार वर्षअघि मंसिरमै ठग्गुकी पत्नीले विष खाएर आत्महत्या गरिन् । त्यसपछि उनी अझ कमजोर भएका छन् । उनले गुनासो पोखे, ‘आफ्नो लोग्नेलाई मात्रै जोगायो, अरू साथीसँगी मारिए भनेर गाउँलेहरू उसलाई भनिराख्थे । अघन (मंसिर) लागेपछि टोलाएर बस्थी । गाउँलेको काल सेना भयो ।

श्रीमती आफ्नो काल आफैं बनी ।’ साथीहरू र पत्नीको शोक र सुर्ताले रातदिन रोएर बिताउने ठग्गु आँखा पनि राम्ररी देख्दैनन् । ‘मरेर जाने साथीहरू निष्ठुरी भए, हिजोआज सपनामा पनि आउँदैनन्,’ उनी भन्छन्, ‘बाबाले मेरो नाम जानेर जुराए कि क्या हो । मेरै अगाडि त्यति धेरै साथी ढलेको देख्नुपर्योज । बाँचेर पनि शान्ति छैन । जिन्दगीले ठग्नु ठग्यो ।’ ठग्गुले संवाददातासँग रामै्र लवजमा कुरा गरे । तर, गाउँलेहरूले भनेको सुनियो, ठग्गा बौलाइसक्यो ।

रोजगारीको चाहना
द्वन्द्वका पीडित परिवारले आफ्नो शिक्षा र सीपअनुसारका काम खोजेका छन्, पाएका छैनन् । भौनीदेवी (मुन्नि) चौधरी त्यसको अपवाद हुन् । खल्यान काण्डमा पति गुमाएकी उनी घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पियन छिन् । स्नातक पढ्दै गरेका छोरा विनोदले हालै प्रहरी जवानमा नाम निकालेर नवलपरासीमा तालिम गर्दैछन् । बीबीएस सकेकी छोरी मीना घोराहीको एक विद्यालयमा शिशु स्याहार केन्द्रमा पढाउँदैछिन् । भौनीदेवीलाई त्यस दिन ‘हाम्रो बाबालाई पुलिसले मारे’ भनेर केटाकेटी रुँदै आएको घटना ताजा छ ।

भन्छिन्, ‘प्रहरीले हाम्रा शाखा–सन्तान भुट्यो । यसमा फारम भर्दिन भन्थ्यो छोराले । मैले नै बल गरेर नाम निस्की पो हाल्छ कि भनेर कर गरेँ । इच्छा विपरीतको प्रहरी सेवामा गयो ।’ सोही घटनामा पति गुमाएकी पार्वती चौधरी घटना हुँदा सात महिनाकी दोजिया थिइन् । उनी अहिले घोराहीको एक होटेलमा काम गर्छिन् । भन्छिन्, ‘जुठो भाँडा माझेर जिन्दगी गुजार्नुपरेको छ । अलि व्यवस्थित काम पाए परिवार पाल्न, छोराछोरी पढाउन सहज हुन्थ्यो ।’

द्वन्द्वपीडित परिवारलाई मैनबत्ती बनाउने, कृषिलगायत तालिम त दिइएको थियो तर कुनै काम लागेनन् । मैनबत्ती बनाउन शुरुमा सामग्री र ५० प्रतिशत अनुदान पाउने भनिए पनि दिइएन । घटनामा बाबु गुमाएकी खुशमानी चौधरी भन्छिन्, ‘कृषि तालिममा हामी जग्गाजमिन नभएकालाई कामै लागेन । डकर्मी तालिम धेरैले गरेका छाै‌ँ । तर, तालिम दिनेले सर्टिफिकेट नै दिएनन् । त्यसैले, सामान्य ज्यालामा काम गर्नुपरेको छ ।’ नौलो मान्छे आए पीडित परिवारले सहयोगको आशा गर्नु स्वाभाविकै हो । खुशमानीले रोष व्यक्त गरिन्, ‘तपाईंहरूको लेख्ने मात्रै काम हो भने कृपया हाम्रो घरदैलोमा नआएकै बेस । हामी आफ्ना दुःख सुनाउँदा सुनाउँदा थाकिसक्यौँ ।’

खुशमानीका दुःख
खुशमानीका दुःख कम्ती पीडादायी छैनन् । त्यस दिन उनका बाबु साेंग्रा चौधरी गाउँबाट गुरुवा (धामी) बोलाएर एकछिन मात्रै बसे । खुशमानी भन्छिन्, ‘मामा आउनुभएको थियो । उहाँसँग १० मिनट मात्रै गफ गरेको भए उहाँको ज्यान जोगिने थियो । साथीहरू काममा लागिसके । म त हिँडेँ भन्नु भयो । घरबाट निस्केको पाँच मिनटमै मारिनु भयो ।’

आफ्नो बाबु मर्नलाई मात्रै सामेल हुन पर्ममा गएझैँ लाग्छ, खुशमानीलाई । विद्यालयबाट फर्किंदा खबर ल्याउने केटाकेटीको सूचनापछि घटनास्थलमा सबैभन्दा पहिले पुग्ने खुशमानी र उनकी आमा पुन्या थिए । मर्ने मरिगए भनेर सद्गतका लागि छोरीले आमाको सहयोगमा बाबु सोंग्राको लास बोकेर घर पु¥याएकी थिइन् । सुरक्षाकर्मीको टोलीले एउटा लास हरायो कि भनेर गाइँगुइँ गर्यो् तर गाउँमा पसेर खोजेन । छिमेकीहरूले यसरी लास ल्याएपछि प्रहरी आएर परिवारको पूरै सदस्य मार्न सक्ने भनेपछि बेलुकी फेरि खल्यानमै राखेर आए ।

बिहान घटनास्थलमा एमाले कार्यकर्ता खोजखबरका लागि पुग्दा फोन गरेर छुटेको लास लिन बोलाएका थिए । पाँच मिनट अघिसम्म जिउँदो–जाग्दो बाबुको लास काँधमा राख्नुपर्दा खुशमानीलाई त्यस्तो अभागी कोही नहोस् भन्ने लाग्छ ।फागुन तेस्रो साता पुन्याको घर सुनसान थियो । छोरा खुशीराम र खुशमानी गाउँकै बहिनीको घरको छाना छाउन सघाउन एकाबिहानै पुगेका थिए । खुशीरामका अनुसार उनी घोराहीस्थित जिल्ला शिक्षा कार्यालयमा करारमा दुई वर्षदेखि पियन थिए । तर, माओवादी संलग्नताको आरोपमा प्रहरीले सोधपुछको नाममा दुःख दिन थालेपछि काम छाडेका थिए । भन्छन्, ‘म माओवादी कार्यकर्ता भएर हिँडेकै थिइनँ ।

त्यो दिन काम विशेषले घर बाहिरै थिएँ । नभए बाबुको साटो मै पर्ममा जाँदो हुँ । सायद बाबुको साटो मेरै ज्यान जाने थियो ।’ सोंग्रा र पुन्या दम्पत्तीले घरमा खुशीयालीका लागि नै छोराको नाम खुशीराम र खुशमानी राखेका थिए सायद । तर, उनीहरूको खुशी देख्न नपाउँदै सोंग्रा मारिए, पुन्या पनि पतिवियोगको पीडामै बितिन् । उक्त घटनापछि पनि बर्गद्दीका थारू परिवारमा पर्मको चलन अद्यापि कायम छ । उनीहरू हातेमालो गरेर अझै गाउँ विकासको धेरै काम गर्न चाहन्छन् । तर, हातेमालो गर्ने निकाय उनीहरूका घरदैलौमा पुगेकै छैनन् । जो पुग्छन्, उनीहरूका दुःख रेकर्डर र क्यामेरामा कैद गर्छन् र फर्किन्छन् ।

न्यायको आशामा
मोती चौधरीले त्यो घटनामा ससूरा जोगीलाई गुमाइन् । विगत सम्झिँदै उनी भन्छिन्, ‘हाम्रा परिवारका सदस्य माओवादी थिएनन् तर खल्यान घटनापछि माओवादी हुन बाध्य पारियो । किनकि, घर बसे झन् असुरक्षित हुने भइयो । सबै पुरुष भागी–भागी हिँड्नुपर्योह ।’ घटनामा पति कृष्णप्रसादलाई गुमाएकी गीता चौधरी भन्छिन्, ‘घटनाको भोलिपल्ट एक जमिनदारकी श्रीमतीले ‘थारू कल्याण, गए खल्यान’ गीत गाउँदै नाचेको पनि हल्ला चल्यो । यसको निष्पक्ष छानविन हुनुपर्छ । हामीले न्याय पाउनुपर्छ ।’ बर्गद्दीमा मारिने किसानहरू एक जना हरिद्वार र बाँकी नयाँबस्ती (कटही)का हुन् । बयरको झ्याङ फाँडेर बसाइएको नयाँ बस्ती हो कटही ।

तिनले बयरको काँडा त फाँडे तर मनमा गढेको खिल अझै निकाल्न पाएका छैनन् । संरक्षकका रूपमा जमिनदारको कुनै एक सदस्य पनि मल्हमरूपी शब्द ओकल्न आएनन् । बरु, पलायन भए गाउँबाट । त्यसो त, माओवादी कारवाहीको डरले घटनापछि जमिनदारहरूको पनि बस्ने अवस्था रहेन । माओवादी कार्यकर्ताले बर्गद्दी खल्यान काण्डको सुराकी गरेको आरोपमा डाक्टर भनिने गणेश न्यौपाने र भुटवा भनिने भोजराज रेग्मीलाई ३ साउन ०६१ मा सफाया गरेको पर्चा छरे ।

आरोपित न्यौपानेकी पत्नी द्रौपता भने सुराकी गरेको आरोप अस्वीकार गर्छिन् । उनका अनुसार ८ मंसिरको घटनामा घोराहीका बैंकसमेत लुटिएपछि छोरा दीपेन्द्रको बिहेका लागि सापटीको जोहो गर्न दम्पत्ती घरबाहिर थिए । उनीहरूले अधेरवा (अँधिया कमाउने किसान)लाई खुशीसाथ अँधियाबाट टिकुर दिएका थिए । घटनामा आफ्नै अधेरवा रिसमान चौधरी पनि मारिएकामा दुःख व्यक्त गर्दै द्रौपता भन्छिन्, ‘त्यसबेला सुरक्षा निकायले पाँच जना एकै ठाउँमा भेला नहुने उर्दी जारी गरेका थिए । उनीहरूले नीति, नियम थाहा पाएर काम रोक्नुपथ्र्यो ।’
द्वन्द्वपीडित समिति दाङको अध्यक्षसमेत रहेकी न्यौपाने पीडितलाई अरूले मागी खाने भाँडो बनाएकामा निरास छिन् । भन्छिन्, ‘सुरक्षाकर्मी या माओवादी, जुन पक्षबाट मारिए पनि सबैको पीडा एउटै छ । मनभित्रको गोली निकाल्ने काम हुनुपर्छ । विडम्बना हामीले एउटा परिचय पत्र पनि पाएका छैनौं ।’ स्थानीय शान्ति समितिमा पीडकहरूकै हालीमुहाली देख्दा उनलाई दुःख लागेको छ । १४ चैतमा दाङको हापुरेमा शान्ति सद्भाव र्यालीको समापनमा निम्ता आए पनि उनलाई जाने जाँगर चलेन ।

माओवादी केन्द्रको घोराही नगर कमिटी अध्यक्ष विश्व आचार्यले शुरुमा बर्गद्दी काण्डबारे बोल्न आनाकानी गरे । पछि उनले भने, ‘माओवादीले धान दाइँ गरिरहेका छन् भनेर सुराकी भएरै सेनाले मारेको हो । पीडितले न्याय पाउनुपर्छ । हामीले सबैका तर्फबाट सत्य निरुपण आयोगमा निवेदन दिएका छौँ ।’ उनका अनुसार घटना भएको स्थान खल्यान क्षेत्रमा शहीद पार्क बनाउन माओवादीले कोशिस गरेको हो तर जमिनदारले बिक्री गरिसकेका थिए । अहिले घटनास्थलको पश्चिमपट्टि करिब पाँच सय मिटर टाढा नगरपालिकाको सहयोगमा जलाशय बनाइँदैछ । त्यही स्थानमा शहीद स्तम्भसमेत निर्माण हुँदैछ, जहाँ मृतकहरूको शालिक पनि राखिने छ ।

बेलवाको पेंडिया काण्ड
१८ मंसिर ०५९ । संकटकाल लागेको एक वर्ष पुगिसकेको थियो । घोराही वरिपरि साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म कफ्र्यु लाग्थ्यो । घोराहीबाट ६ किमि उत्तरमा पर्ने बेलवा गाउँका किसान भने पेडियामा मस्त थिए । गाउँले युवा आफन्त बोलाउन चोकमा भेला भएका थिए । साँझ साढे ७ बजेतिर गाउँमा सुरक्षाकर्मी सवार गाडी आयो । कुराकानीसमेत नगरी फायरिङ गर्दै सबैलाई एकै चिहान बनाइयो । मृतक इन्द्रलालका दाजु अनिल चौधरीका अनुसार उनी घरमा आफन्तहरूसँग पेडिया खाँदै थिए । ‘भाइ साथीहरूलाई बोलाउन गएको थियो । ऊ गएको पाँच मिनट पनि भएको थिएन होला । पट्याकपुटुकको आवाज आयो,’ उनी भन्छन् ।

उनीहरू डराएर सुत्ने तरखर गर्न थाले । तर, ढोकामा सुरक्षाकर्मीको बुट बजारियो । अनिल भन्छन्, ‘घरमै आएर २/३ लात्ती हाने । चुपचाप सुत भने । त्यसपछि गल्लीतिर जाने अवस्था पनि रहेन ।’ अनिलको घर मात्रै होइन, सुरक्षाकर्मीले अरू घरमा पनि छिरेर त्यसैगरी ढोका बजार्दै तर्साएपछि राति कोही निस्किन सकेन । आफन्तलाई पेडिया खान बोलाउन गएकाहरू डरले त्यतै सुतेको आकलन गरे । तर, बिहान चोकमा केही युवाको चप्पल र टोपी मात्र फेला प¥यो । राति नफर्केकाहरू सधैंका लागि नआउनेगरी गएको लख काट्न बाध्य भए ।

गाउँलेहरू गाउँका महटाँवा (बडघर) गोपीलाल चौधरीको घरमा भेला भए । आफन्त खोज्न आग्रह गरे । तर, त्यो महटाँवाको वशको कुरा थिएन । गोपीलाल भन्छन्, ‘महटाँवा त म विगत ३६ वर्षदेखि छु । तर, संकटकालमा सुरक्षाकर्मीसँगको घटनामा कुरा मिलाउन सक्ने अवस्था कहाँ पो थियो र ?’ गाउँलेहरूले लक्ष्मीपुर गाविसका पूर्वअध्यक्ष भुवन देवकोटालाई सम्झिए । उनले बेलवाका थारू किसानहरूको लास महेन्द्र अस्पतालमा राखिएको पत्ता लगाए । र, गाउँलेलाई बुझ्न आउन अनुरोध पठाए ।

देवकोटा सम्झिन्छन्, ‘तर, गाउँलेहरू जसले मारेको हो, उसैले सद्गत गरोस् भनेर शुरुमा लास बुझ्न आएनन् । जाने गइगए, त्यसो गरे प्रशासनले अझ आँखा गाड्छ भनेर सम्झाएपछि आठ जनाको लास बुझेर गाउँको खोला किनारमा एकै ठाउँमा गाडे ।’लाश बुझाउँदा तत्कालीन जिल्ला प्रहरी प्रमुखले कस्तो कागजमा सही गराए, पीडित परिवारले भेउ नै पाएनन् । घटनामा छोरा र ज्वाइँसमेत गुमाएका अनन्तलाल चौधरी भन्छन्, ‘रुँदारुँदै आँखा आँशुले टम्म भरिएका थिए । खै कस्तो कागजमा सही गराए, थाहै भएन ।’ सञ्चारकर्मीसमेत रहेका पूर्वगाविस अध्यक्ष देवकोटाका अनुसार डीएसपीले उनलाई पनि मुचुल्काको कागज हेर्न दिएनन् । पछि थाहा भयो, भीडन्तमा मारिएको कागजमा हस्ताक्षर गराइएको रहेछ । देवकोटा भन्छन्, ‘त्यो कुनै भीडन्त थिएन । निर्दोष थारूहरू मारिएका हुन् ।

जान/अन्जानमा उनीहरूले कफ्र्यु नै तोडे पनि सोधपुछका लागि नियन्त्रणमा लिन सकिन्थ्यो ।’ घटनामा छोरा गुमाएका सीताराम चौधरीका अनुसार राजमार्गबाट एक किमि भित्र पर्ने र दाइँ चलिरहेकाले अरू बेला पनि राति १०/११ बजेसम्म गाउँलेहरू काम गर्थे । संकटकालमा अझ बढी दुःख पाइने त्रासका कारण कतै उजुरीसमेत नगरिएको उनी बताउँछन् । भन्छन्, ‘१५ वर्ष भइसक्यो, गल्ती गर्नेले आफैं माफी माग्नुपर्ने हो । तर, समयमा पूरै क्षतिपूर्ति त पाइएन भने अरू धेरै आशा गरेका छैनौँ ।’

यस्तै, घटनामा कान्छो छोरा रामप्रसादलाई गुमाएकी फूलमानी चौधरीका अनुसार उनका जेठा छोरा र अर्की छोरी माओवादीमा लागेका थिए । भन्छिन्, ‘माओवादीमा लाग्नेहरू त शिरमा कफन बाँधेर घरबाट निस्किएका थिए । बरु, उनीहरू भीडन्तमा मारिएको भए सन्तोष मान्ने थियौँ । तर, भर्खर ६÷७ कक्षा पढ्दै गरेको निर्दोष कान्छो छोरो त्यत्तिकै मारियो ।’

बर्गद्दी घटनाबारे पत्रकार नवीन विभासले वृत्तचित्र बनाइरहेका छन् । ‘त्यो घटनालाई राज्यको श्वेत आतंक भन्न सकिन्छ । ९ मंसिर ०५८ मा आफ्ना १४ सहकर्मी माओवादीबाट मारिएको र दर्जनौं गम्भीर घाइते भएपछि घोराहीको सेना घाइते बाघझैँ भएका थिए । ११ मंसिर ०५८ मा संकटकाल घोषणापछि सेनाहरू फुक्काफाल भए,’ उनी भन्छन्, ‘बर्गद्दीका जमिनदार आफ्ना किसानबाट बाली बाँडफाँटको विषयमा असन्तुष्ट थिए । अँधियाबाट टिकुरको कुरा भएपछि यस विषयमा सेनाले किसानहरूलाई सम्झाइबुझाइ गरिदेओस् भन्ने चाहनाले उनीहरूले गुल्ममा खबर पु¥याएको हुनुपर्छ । तर, घाइते सेनाले साथीहरू गुमाएको बदला निर्दोष किसानहरूको हत्या गरेर लियो ।’

उनका अनुसार वृत्तचित्र खिच्ने क्रममा एक जमिनदार परिवारका सदस्यले आफ्नै नातेदारजस्ता थारूहरूको ज्यान लिन नभई सम्झाइबुझाइ गर्न सेनालाई पठाइएको बताएका छन् । त्यतिबेला सेनाले मृतक किसानको काँधमा बन्दुक भिराएर स्थानीय सञ्चारकर्मीहरूलाई तस्बिर खिच्न लगाई सञ्चारमाध्यमको दुरुपयोग नै गरेको थियो । बर्गद्दी घटनामा निर्दोष किसान मारिए भनेर एड्भोकेसी फोरममार्फत् पीडितहरूले जिल्ला अदालत, घोराही र पुनरावेदन अदालत, तुलसीपुरमा मुद्दा पनि दायर गरेका थिए ।

एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमका अनुसार वारदातका दिन खटिने सेनाहरूको नाम खुलाएर पठाउन पुनरावेदनले भगवतीप्रसाद गुल्मका प्रमुखलाई आदेश दिएको थियो । तर, ती सैनिकको सरुवा भइसकेकाले थाहा नभएको पत्र पठाएर गुल्मपतिले झारा टारे । गौतम भन्छन्, ‘बर्गद्दी र बेलवाजस्तै ठूला घटना मध्यपश्चिममा २६ वटा भएका छन् । तर, दैलेखका पत्रकार डेकेन्द्रराज थापाबाहेक कसैको मुद्दा सुनुवाइ भएन । सम्मानित अदालतको अवहेलना सुरक्षा निकायबाट भइरहेको छ ।’

बेलवा घटनामा मारिएकाहरू
१) असुरी चौधरी
२) शरद चौधरी
३) हेलुराम चौधरी
४) रामप्रसाद चौधरी
५) इन्द्रलाल चौधरी
६) ढुण्डीराज चौधरी
७) पृथ्वी चौधरी
८) बुद्धिराम चौधरी
९) विनोद चौधरी

नातिको सहारा
बेलवा घटनामा कान्छो छोरो हेलुरामलाई गुमाएकी कालीमैया चौधरी (६०) घरमा एक्लैजस्तो भएकी छन् । परिवारमा बज्रपात परेपछि उनका माइलो छोरा आफ्ना ठूल्दाइ बस्दै आएको भारतको कश्मीरतिर हानिए । अहिले सपरिवार उतै बस्छन् । साइँला छोरा घोराहीमा पसल गर्छन् । उनी अहिले हेलुरामका छोरा (नाति) राजेशसँग बस्छिन् । आठ कक्षामा पढ्ने राजेश ट्युसन पढ्न घरबाट बिहानै निस्कन्छन् । अनि, उनलाई दिन पनि वर्षजस्तो लाग्छ । भन्छिन्, ‘छोरो मारिएपछि बुहारी पनि घर छाडेर हिँडिन् । छोरो मारिएको खबर पाउँदा पनि कान्छी लिएर बसेका मेरा बुढा एक पटक पनि हालखबर सोध्न आएनन् । भावीले दुःख पाउनै लेखेको रहेछ ।’

बेलवामा मारिने सातमध्ये ६ जनाका पत्नीले अर्कै बिहे गरिसकेका छन् । अनन्तलाल भन्छन्, ‘बुहारीहरूको मुख हेरेर छोराको नियास्रो मेट्दा हौं, ती पनि गइगए ।’ स्वयंराज चौधरीले घटनामा छोरा पृथ्वीलाई गुमाए । भएको एउटा छोरा पनि नरहेपछि उनले छिमकी गाउँका बिक्की चौधरीलाई घरज्वाइँ बनाएका छन् । मृतक असुरी चौधरीकी पत्नीले देवरसँग बिहे गरिन् । यसरी बेलवामा पीडित परिवार पुनःस्थापित भएको देखिए पनि भित्रको जलन उस्तै छ । असुरीकी पत्नी सुनिता भन्छिन्, ‘मुर्गी मारेहस हेर्टी हेर्टी मारडेल, ओइन जरुर पाप लग्हिन् (हेर्दाहेर्दै चल्ला मारेझैं मारे, तिनलाई अवश्य पाप लाग्नेछ) ।’ सुनितालाई घरमा हुलेर चौराहाबाट एक मिनटको दूरीमा रहेका असुरीलाई सेनाले मारेको थियो । ‘मेरो घर यहीँ नजिक छ, मलाई नमार्नुस् हजुर,’ पतिको यो आवाज सुनिताको कानमा अझै पनि ठोकिन्छ ।

असुरी छिमेक गाउँबाट पेडिया खाएर आउँदै थिए । स्थानीय शान्ति समितिका संयोजक नेत्रप्रकाश पाण्डे भन्छन्, ‘बर्गद्दी र बेलवाका निर्दोष, निहत्था थारू किसानका माग लम्बेतान पनि छैनन् । उनीहरू छोराछोरीका लागि शिक्षा र त्यसअनुसारको रोजगारी चाहन्छन् । आफन्तको अकालमा सास गएको स्थानमा स्मारक ठडिएको हेर्न चाहन्छन् । के तिनका सपना पूरा हुँदैनन् ?’

‘भाइको दर्दनाक हत्या गरे’
दिव्याइ चाैधरी
खल्यान काण्डमा मैले आफ्ना दुई भाइ रूपलाल र रामबहादुरलाई गुमाएँ । घटना भएको दिन म भेडालाई घाँस काटेर भर्खर फर्किएकी थिएँ । गाउँको ठग्गा चौधरी काका भागिरहेको देखेँ । किन दौडेको भनेर सोधेँ । उहाँले भन्नु भयो, ‘लालगाडी आ रहल ओहे टे भागटुँ’ (रातो गाडी आएको छ, त्यसैले भाग्दैछु ।’ म भेडालाई घाँस हाल्न गोठमा छिरेँ । आवाज आयो, ‘खुट्टा टेक्, मुन्टो टेक साले ।’ गोठबाट घटनास्थल छेलिने भएकाले केही देख्न सकिनँ । एकैपल्ट भटट्ट आवाज आयो । मैले होस गुमाएँ, गोठमै टोलाएर बसेँ ।

गाउँबाट पुन्या र उनकी छोरी खुशमानी घटनास्थलमा आएर रुँदै रहेछन् । ‘तिम्रो भाइ बाँचेको छ, ल हिँड पानी लिएर जाउँ’ भनेपछि बल्ल घटनास्थल गएँ । भाइ रूपलालले पानी–पानी भनिररहेको थियो । तर, घाँटीमै ४/५ वटा गोली लागेका थिए । पानी घाँटीबाट बाहिरियो । हात र बंगारामा पनि गोली थियो । भाइलाई जोगाउन सकिन्छ कि भनेर मैले खटौली (सानो खाट) ल्याएँ । दुई जनालाई रोइकराइ गरी अस्पताल लान अनुरोध गरेँ । तर, खटौली सानो भएर टाउको र खुट्टा लत्रिए ।

बोक्न सघाउनेहरूले भन्दै थिए, ‘यस्तो घटनामा परेकोलाई अस्पतालले उपचार गर्दैन । बरु घरमै ब्लेडले चिरेर गोल निकालौँ ।’ तर, म ठूलो खाट खोज्न गाउँतिर दौडिएँ । बाटोमा फेरि गोली चलेको आवाज आयो । फर्किँदा लास लगिसकेका रहेछन् । एउटा थारू त जिउँदै छ भनेर फेरि गोली हानेछन् । मेरो भाइको हत्या दर्दनाक तरिकाले गरियो । शुरुमा हत्या गरेर जाने गाडी सानो भएकाले लास ओसार्न पछि अर्को गाडी प्रयोग गरियो । त्यसबीचमा मृत्युको नजिक पुगेको भाइ रूपलालसँग कुराकानी भएको थियो ।

सुरक्षाकर्मीसँग भनाभन पो गर्योभ कि ? किन मा¥यो तिमीहरूलाई भनेर सोध्दा उनीहरूसँग दोहोरो कुराकानी नभएको बतायो । मैले भाइबुहारीलाई देखाएर सोधेँ, ‘यिनी को हुन् चिन्छस् ?’ उसले ‘टोर बहुरिया’ भन्यो । समयमै उपचार पाएको भए एउटा भाइ बाँच्ने थियो ।हामी चार भाइ, चार बहिनी हाँै । म सबैभन्दा जेठी हुँ । मारिएका भाइहरू त्रिभुवन नगरपालिकाको ट्रिपरमा बालुवा, ढुंगा लोड/अनलोड गर्थे । माओवादीका कार्यक्रममा कहिल्यै गएनन् । संकटकाल लागेपछि घरमै थिए । छिमेकीलाई दाइँमा सघाउन जाँदा अकालमा ज्यान गयो । अहिले पनि उनीहरूका दौँतरीहरू भेट्दा भक्कानो फुट्छ । दुवै भाइका १/१ छोरी छन् ।

एउटीको बिहे भइसक्यो, अर्की पढ्दैछिन् । दुवै बुहारीले अर्कै घरजम गरेपछि भतिजीहरूले राम्ररी पढ्न पाएनन् । जवान छोराहरूको मृत्युले दिनरात पीर बोकेर बाबा लालबहादुरको पनि मृत्यु भयो । मृतक भाइहरूका छोरीका नाममा क्षतिपूर्ति कागज बनाइनुपर्नेमा उसले आफ्नी श्रीमतीको नाम लेखी पठाएछ । यसले क्षतिपूर्ति पनि रोकियो । मैले सच्याउने प्रक्रिया अगाडि बढाएपछि ऊ मकहाँ आउनै छाडेको छ ।
(कुराकानीमा आधारित)

बंग्याइएको समाचार
बर्गद्दीमा मारिएका किसानहरूबारे १५ मंसिर ०५८ को गोरखापत्रको पहिलो पृष्ठको समाचारको पेटबेलीमा यस्तो उल्लेख छ, रक्षा मन्त्रालयले जनाएअनुसार हिजो दाङको त्रिभुवननगर ३ बर्गादी इलाकामा माओवादी आतंककारीहरूले लुटपाट गरी आतंक मच्चाइरहेको अवस्थामा स्थानीय जनतालाई सुरक्षाको प्रत्याभूति दिन गस्ती गरिरहेको शाही नेपाली सेनाको टोलीले प्रतिकार गर्दा ११ जना माओवादी आतंककारीको मृत्यु भएको छ । यस्तै, २० मंसिर ०५९ को कान्तिपुरको पहिलो पृष्ठमा ‘कारवाहीमा नौ गाउँले मारिए’ शीर्षकको समाचारमा उल्लेख छ, सुरक्षा फौजले बुधबार राति घोराहीस्थित पाँच किमि दक्षिणपूर्व गाउँमा गरेको कारवाहीमा स्थानीय नौ जना मारिएका छन् ।

लक्ष्मीपुर ३ बेलवा र गोग्ली गाउँमा भएको कारवाहीमा मारिने सर्वसाधारण भएको स्थानीयवासीले जनाएका छन् । सरकारी स्रोतहरूले भने उनीहरू माओवादी भएको ठहर गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार बाली भित्र्याएपछि खाइने पेडिया (भोज) खाएर एक घरबाट अर्को घर जाँदै गर्दा राति साढे सात बजेतिर सेनाले गरेको कारवाहीमा ती गाउँले मारिएका थिए । स्थानीय सुरक्षा स्रोतले घटनास्थलबाट सकेट बम र माओवादीसँग सम्बन्धित कागजपत्र बरामद भएको दाबी गरेको छ । मारिनेहरूको उमेर १४ देखि २२ वर्षबीच थियो ।

बर्गद्दी घटनामा मारिएकाहरू
१. रूपलाल चौधरी (२५)
२. रामबहादुर चौधरी (२२)
३. सोंग्रा चौधरी (४०)
४. खुशीराम चौधरी (२८)
५. जगमान चौधरी (२२)
६. कृष्णप्रसाद चौधरी (२२)
७. जोगी चौधरी (५०)
८. प्रसादु चौधरी (४८)
९. शीतलाल चौधरी (४५)
१०. चिडवा चौधरी (२५)
११. रिसमान चौधरी (४०)

अन्नपूर्ण टुडेबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *