गच्छदारको टिप्पणी : प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’

नवगठित नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको चुनावमा सबै सहभागी भएमात्रै सार्थक र परिणाममुखी हुने बताएका छन् । 

विराटनगरमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले संविधान कार्यान्वयनको लागि चुनावमा सबैको सहभागिता आवश्यक रहेको बताएका हुन् । ‘सरकारको नीति र मधेसी मोर्चाको अडान दुवै गलत हो,’ उनले भने, ‘मधेसवादीको अतिवादी सोच र सत्ताधारीको बोल्ने एउटा र गर्ने अर्को शैलीले देश संकटमा फसेको छ ।’

सीमांकनको विषय टुंगो लागेमात्रै देशको समस्या समाधान हुने उनले बताए । ‘सीमांकनको विषय टुंगो लगाउन संसदमा दुई तिहाई आवश्यक हुन्छ जसको लागि सरकार बाहिरको दलसँग सहमति आवश्यक छ,’ उनले भने, ‘सबैलाई समेटर तोकिएको मितिमा चुनाव नभए सरकार परिवर्तन हुन्छ र भए पनि जेठ १ गतेभित्र सरकार परिवर्तन हुन्छ ।’

‘सीमांकनको विवाद नटुंगिए चुनावमा नजाने र काठमाडौंमा वार्ता नगर्ने अडान लिने मधेसवादीहरु अहिले आकाशबाट भुइँमा पछारिएको छ,’ उनले भने, ‘संघीय आयोगलाई सीमांकनको जिम्मा लगाएर कम्तीमा मतदाता बढाएर भए पनि मधेसवादी दलहरु चुनावमा आउन खोजेका छन् ।’ उनले मधेसवादी दलहरुलाई ढोंगी भएको आरोप लगाए । मोर्चाले एकातिर चुनाव अगाडि समस्या समाधानको अडान राख्ने र अर्कोतिर भित्रभित्रै स्थानीय तहको उम्मेदवारसमेत छनौट गरिसकेको उनको दाबी छ ।

उनले इतिहासमा सबभन्दा निरीह र बेकम्मा अहिलेको प्रचण्ड नेतृत्वको सरकार भएको टिप्पणी गरे । देशलाई कार्यवाहक प्रधानमन्त्री दिन नसक्ने अहिलेको निरीह प्रधानमन्त्रीसँग देश र मधेसको समस्या समाधानको आश गर्नु नै गलत भएको उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *