दाङमा सीमाको जंगे पिलर सारिएको सांसद योगेन्द्र चौधरीको दाबी

दाङ जिल्लाको देउखुरी उपत्यकास्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाकाभन्दा ४० किलोमिटर टाढा निस्फिक्री बसेको भन्दै संसदमा चर्को आलोचना भएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी गरे ।

उनले भने, ‘विनाबर्दीका नेपाली जनताले सीमाको सुरक्षा गरेका छन् । तर, सीमा सुरक्षा गर्न भनेर एसपीको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल ४० किलो मिटर टाढा लमहीको अर्जुन खालामा बसेको छ । यसरी सीमा सुरक्षा कसरी हुन्छ ?’ सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीअनुसार काम नगरेको उनको भनाइ थियो ।

सांसद चौधरीले भने, ‘नेपाली भूमि मिचिने गरेर जंगे पिलर सरेको छ । यसतर्फ सरोकारवाला निकायले छिटोभन्दा छिटो ध्यान दिनुपर्छ । सीमा सुरक्षाका लागि खटिएको एसपीको कमाण्डको सशस्त्र प्रहरीले जिम्मेवारीअनुसार काम गरेको छैन । ४० किलोमिटर टाढा बसेर सीमा सुरक्षा हुँदैन ।’

भारतीय पक्षबाट मुलुकका विभिन्न स्थानमा सीमा मिचेको समाचार आइरहेका बेला फोरम लोकतान्त्रिकका सांसद चौधरीले देउखुरीबाट जंगे पिलर नेपालतर्फ सारिएको घटना उजागर गरिदिएका हुन् ।

गौरियानाका, कोइलावास, गुरुङखोला लगायतका क्षेत्रका जनता राज्यको ठूलो विभेदबाट बाँच्नु परेको बताएका फोरम लोकतान्त्रिकका सांसद चौधरीले भने, ‘त्यस क्षेत्रका जनताले अहिले पनि बिजुलीवत्ती देख्न पाएका छै्रनन् । उचित शिक्षा पाएका छैनन् । उच्च शिक्षा लिन २५ किलोमिटर टाढाको स्कुल जानुपर्ने बाध्यता छ ।’

कोइलावास, बेला, राजपुर गाविसको सिमाना भारतसँग जोडिएको प्रसंग उठाउँदै सांसद चौधरीले भने, ‘ती गाउँहरूमा बाटोघाटो छैन । त्यहाँ जाँदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यहाँका जनताले राज्यको सुविधान पाउनु पर्दैन ?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *