विजय गच्छदारलाई कांग्रेसमा ल्याउने प्रयास

सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउनसके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् ।

बैठकमा सहभागी नेता रामकृष्ण यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसमा ल्याउन सके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्ने निष्कर्ष सहभागीले सुनाएको बताए ।

‘गच्छदारलाई कांग्रेसमा भित्र्याउनसके निर्वाचनका बेला थप मजबुत हुन सकिन्छ भन्नेमा सबैको एकमत रह्यो,’ यादवले भने । बैठकमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले पनि कांग्रेसका पुराना नेता तथा प्रजातान्त्रिक विचार बोक्ने नेताका हैसियतले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई कांग्रेसले उचित सम्मानसहित ल्याउन सके निर्वाचनमा कांग्रेसको माहोल निकै राम्रो हुने निष्कर्षसहित नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बुढाथोकीले गच्छदारलाई सके कांग्रेसमै ल्याउने, त्यो सम्भव नभएको अवस्थामा चुनावी गठबन्धन बनाएर भए पनि लैजान सुझाव दिए ।

उनीहरूले फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी भइरहेको भन्दै संस्थागत गर्न नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् । कांग्रेसमा रहेर मन्त्रीसमेत बनिसकेका गच्छदार संविधानसभाको चुनावको समयमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । सो पार्टीबाट पनि अलग भई उनले फोरम लोकतान्त्रिक गठन गरेका हुन् । कांग्रेसको सबै विषयमा जानकार गच्छदारलाई पुनः ल्याउन सके चुनावमा परिणाम राम्रो हुने कांग्रेसका ती सांसदको भनाइ छ ।

राजधानी दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *