टीकापुर घटनाका दोषी मधेसी नेता

एमाले नेता झलनाथ खनालले एमालेले अहिलेको संविधान संशोधन हुन नदिने बताएका छन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता, नागरिकता लगायतको ४ वटा विषय राष्ट्रको हितमा नरहेको बताए ।

उनले भने, ‘संविधान संशोधन हुन्न । एमालेले संविधान संशोधन हुन दिन्नौं ।’ एमालेको मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तर्गत टीकापुरको सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता खनालले भारतको निर्देशनमा मधेसी नेताहरुले संविधान संशोधनको कुरा ल्याएको आरोप लगाए । उनले भने, ‘मधेसी नेताहरुले निर्वाचन अघि संविधान संशोधन गर भनिरहेका छन् । यो हामीलाई मान्य हुन्न ।’

मुठ्ठीभर मधेसी नेताहरु संविधान कार्यान्वयन हुन नदिन टाउको उठाइरहेका उनले उनले आरोप लगाए । उनले भने, ‘संविधान कार्यान्वयन नहोस भनेर ३ तहको निर्वाचन हुन नदिन मधेसी नेताहरु लागि परेका छन् ।’

चुनाव गराउन यो सरकारले खुट्टा कमाइरहेको पनि उनले आरोप लगाए । उनले भने, ‘एमालेको दवावले मात्र यो सरकारले निर्वाचन घोषणा गरेको छ । मधेसी नेताहरुले भारतीय निर्देशनमा चुनाव भन्दा पहिला संविधान संशोधन गर भनिरहेका छन् ।’

एमाले नेता झलनाथ खनालले मोर्चा असहिष्णु भएर अगाडि आइरहेको आरोप लगाए । उनले भने, ‘सभा सम्मेलन गर्ने/सहभागी हुने संविधान प्रदत्त मौलिक हक विरुद्ध मधेसी नेताहरु आइरहेका छन् । राजविराज घटनामा एमाले होइन मधेसी नेताहरु दोषी छन् । ५ जनाको हत्यामा हामी दुखी छौं । मधेसी मोर्चा यसमा जिम्मेवार छ । उनीहरुले जिम्मेवारी लिनुपर्छ ।’

मधेसी नेतालाई उनले फासिष्टको संज्ञा दिए । उनले भने, ‘जनताको मौलिक हक बन्देज गर्नेहरु फासिष्ट चरित्रका हुन् । मधेसी मोर्चाले त्यो चरित्र छोडोस् । खुल्ला प्रतिष्पर्धामा आउनुस । शान्तिपुर्ण रुपमा आउनुस् । हामीलाई पराजित गरेर देखाउनुस् । तपाईको पराजित मानसिकताका कारण तपाइहरुले अभियान रोक्ने गतिविधि गर्दैहुनुहुन्छ । यसो नगर्नुहोस् ।’

टीकापुर घटनाका दोषी मधेसी नेता

२०७२ भदौ ७ गतेको घटनामा मधेसी नेताहरुको दोष रहेको आरोप पनि उनले लगाएका छन् । उनले भने, ‘टीकापुरमा रक्तपात मच्चाउने तत्वहरु तिनै हुन् । यस्ताबाट सावधान हुनपर्छ । टीकापुर घटनाको न्यायिक जाच हुन सकेको छैन । यसको न्यायिक छानविन हुन जरुरी छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *