नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले भने- ‘अन्तर्राष्ट्रिय निकायलाई तराई मधेसमा रोक लगाउँ’

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले अन्तर्राष्ट्रिय निकायहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका छन्। उनले तराई मधेसका घटनामा दुःख ब्यक्त गर्ने काममात्र गरेको भन्दै संयुक्त राष्ट्र संघका एजेन्सीहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका हुन्।
मधेसको पीडामा दुःखमात्र जताउने ती निकायहरुप्रति घृणा महसुस भएको बताउँदै उनले संयुक्त राष्ट्रसंघको मुख्यालयलाई आफ्ना राजदूतहरुको बैठक डाक्न आग्रह गरेका छन्।

उनको पार्टी नयाँ शक्ति नेपालले पनि सप्तरी घटना एमालेको अहंकार र सरकारी लाचारीको परिणाम भएको बताएको छ। सरकार अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रिएको भन्दै पार्टीको विज्ञप्तीमा भनिएको छ- ‘यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्छ।’

नयाँ शक्तिका सबैखाले अतिवादको विपक्षमा रहेको भन्दै संविधान संशोधन गर्नु सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता कमजोर बनाउनु होइन भनेको छ। शान्ति सुरक्षाको उचित वातावरण बनाउनुको सरकार पनि साटो अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रिएको नयाँ शक्तिको आरोप छ।

त्यस्तै पत्रकार प्रशान्त झाले मधेसी मोर्चालाई बाहिरिया सुझाव नसुन्न आग्रह गरेको छ। उनले भारतको कुरासमेत नसुन्न आग्रह गर्दै मधेसी जनतालाई जे राम्रो हुन्छ त्यही गर्न आग्रह गरेका छन्। उनले संसद छाडेर तराई जान पनि मोर्चाका नेतालाई आग्रह गरेका छन्। ‘संविधानले मधेसलाई समायोजन गर्न सक्दैन भने मधेसले पनि संविधान ब्लक गर्न सक्छ,’ उनले भनेका छन्।

यता संयुक्त राष्ट्रसंघ र अमेरिकाले सप्तरीमा सोमबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रसंघ र अमेरिकाले मंगलबार अलगअलग विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच तनाब बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
राजविराजमा एमाले सभा सकिएपछि मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ३ जनाको ज्यान गएको थियो ।

‘स्थानीय निर्वाचन नजिकिँदै गर्दा तनाब बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघ गम्भीर चिन्ता व्यक्त गर्छ,’ नेपालस्थित संयुक्त राष्ट्रसंघको आवाशीय संयोजकको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सप्तरीमा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपमा केहीको मृत्यु र केही घाइते भएकोमा हामी दुःखी छौं ।’

अभिव्यक्ति स्वतन्त्रता र सभा सम्मेलनमा हिंसाले कुनै स्थान पाउन नहुने भन्दै राष्ट्रसंघले संयमता अपनाउन सबैलाई आग्रह गरेको छ । शक्ति प्रयोग गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड ख्याल गर्न पनि राष्ट्रसंघले सुरक्षा निकायलाई आग्रह गरेको छ । शान्तिपूर्ण रुपमा आफ्ना धारणा राख्न राजनीतिक दललाई पनि  विज्ञप्तिमार्फत आग्रह गरिएको छ । ‘ऐतिहासिक स्थानीय निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण बनाउन हामी समावेशी र अर्थपूर्ण संवादका लागि प्रोत्साहन गर्छाैं,’ राष्ट्रसंघले भनेको छ ।

यस्तै, घटनाप्रति अमेरिकाले पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘नेपालको केही क्षेत्रमा देखिएको बढ्दो अस्थिरताको संकेतलगायत  सप्तरीमा प्रदर्शनकारीको ज्यान जानेगरी भएको झडपप्रति अमेरिका गम्भीर रुपमा चिन्तित छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामी सबै प्रदर्शनकारी र दललाई अहिंसात्मक रुपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्छाैं ।’

अमेरिकाले शान्तिपूर्ण रुपमा विचार व्यक्त गर्ने हक लोकतन्त्रको मूल अंग भएको जनाउँदै नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ । ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचन तयारीमा जुटिरहेको देख्न पाउँदा अमेरिका उत्साही भएको विज्ञप्तिमा जनाइएको छ । ‘संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्चित गर्ने दिशामा यो एक महŒवपूर्ण कदम हो,’ विज्ञप्तिमा उल्लेख छ।

यस्तै, नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सोमबार नै लोकतान्त्रिक मूल्य मान्यता अनुसार संयम अपनाउन र हिंसा त्याग्न राजनीतिक दलको र्याली र विरोध प्रर्दशनमा सहभागीलाई आग्रह गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *