सप्तरी काण्डपछि जेलबाटै गर्जिए लक्ष्मण थारु, अहंकारी केपी ओलीलाई कारबाहीको माग

टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गरिएका थरुहट नेता लक्ष्मण थारू र लाहुराम चौधरी सप्तरी गोली काण्डको विरोध गर्दै जेलबाटै गर्जेका छन्। कैलाली कारागारमा रहेका उनीहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेको अहंकारी, अडम्बरीपन र प्रशासनको जंगलीपनको कारण सप्तरीमा सर्वसाधारण आन्दोलनकारी उप्पर गोली चलाइएको ठहर गरेका छन्।

जारी विज्ञप्तीमा भनिएको छ– ‘शान्तिपूर्ण आन्दोलनमा एमालेका गुण्डाहरुको उक्साहटमा प्रशासनले जंगली वर्वरतापूर्वक गोली चलाई दर्जनौंको छाती, टाउकोमै गोली हान्यो, हत्या गर्यो, त्यो दुखद सप्तरी घटनाप्रति हामी थरुहटबासी अन्यन्तै भावुक र दुःखि छौं, त्यो क्रुर दमन र हत्याको घोर भर्त्सना गर्दछौं, हत्याको सम्पूर्ण कारण अहंकारी केपी ओली नै हुन्, दमनकारी हत्यारालाई कारबाही हुनैपर्छ।’

त्यस्तै उनीहरुले सप्तरीमा मारिएकाहरुलाई सहिद घोषणा गरिनुपर्ने, एमाले अध्यक्ष केपी ओलीलाई कारबाही गरिनुपर्ने, टीकापुर घटनाका सम्पूर्ण बन्दीहरुलाई रिहाई गरिनु पर्ने माग गरेका छन्। कैलाली–कञ्चनपुरसहित नवलपरासीसम्म थरुहट प्रदेश घोषणा गरिनुपर्ने, विगतमा भएका सहमतिहरु कार्यान्वयन गरिनुपर्ने माग पनि विज्ञप्तीमा उल्लेख छ। त्यस्तै उनीहरुले विज्ञप्तीमार्फत फागुन २५ र २६ गते थरुहट क्षेत्रमा आमहड्तालको घोषणा समेत गरेका छन्।

लाहुराम चौधरी थरुहट-थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक हुन् भने लक्ष्मण थारु थरुहट नेता हुन्। टीकापुर घटना घटाएको अभियोगमा हाल उनीहरुलगायत २६ जना कैलाली कारागारमा रहेका छन्।

नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा सोमबार आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।

त्यस्तै थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, कञ्चनपुरले पनि सप्तरी घटनाको विरोध गरेको छ। उसले एमालेको मेची-महाकाली अभियानलाई नौटंकीको संज्ञा दिँदै प्रहरी प्रशासनद्वारा भएको निर्मम हत्याको कडा भर्त्सना गरेको छ। हेर्नुस् वज्ञप्ती:




Leave a Reply

Your email address will not be published. Required fields are marked *