टीकापुर घटनामा डीआइजी खडानन्द चौधरीलाई विभागीय कारबाही गर्न सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा घटनाको विषयलाई लिएर सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । सप्तरीमा तीन जनाको ज्यान जाने गरी घएको घटनाको भोलिपल्ट मंगलबार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको विभत्स रुपमा हत्या भएको थियो । संविधानमा आफूहरुको माग समेट्नुपर्ने भन्दै थरुहटको प्रदर्शनमा उनीहरुको घरेलु र आधुनिक हतियार प्रयोग गरेर हत्या भएको थियो । उक्त घटनामा सशस्त्र प्रहरीको असहयोगले उक्त क्षति पुगेको टिप्पणी गरिएको थियो ।

अहिले सोही विषयमा आयोगले डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । साथै आयोगले सुरक्षा निकायको असावधानी, गुप्तचरको कमजोरी र प्रहरी संगठनबीच आपसी समन्वय अभाव तथा फितलो सुरक्षा योजनाका कारण टीकापुर घटना भएको आयोगको ठहर छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालय टिकापुरका नेताहरुको उत्तेजित भाषाणले टीकापुर घटना भएको ठहर गरेको आयोगले तत्कालीन प्रशासकीय अधिकृत सुमन धिताललाई सचेत गराउन भनेको छ ।

राजेन्द्र महतो, उपेन्द्र यादव, अमरेशकुमार सिंह र देव गुरुङले उत्तेजक भाषण गर्दा स्थिति तनावपूर्ण भई मानवअधिकार उल्लंघन हुने पृष्ठभूमि तयार भएको ठहर गर्दै आयोगले आफ्नो सिफारिस पत्रमा उल्लेख गरेको छ, ‘जिम्मेवारी राजनीतिक दलको तर्फबाट मर्या्दित व्यवहारको अपेक्षा राख्दै सम्वन्धित राजनीतिक दलको ध्यानाकृष्ट गराउने ।’

साथै आयोगले घटनामा ज्यान गुमाएका प्रहरीको परिवारको हेरविचार, शिक्षादिक्षा र रोजगारीको हरसम्भव प्रयास गर्न सरकारलाई भनेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *