थारुहटले भन्यो- ‘सद्‍भाव विथोल्न एमालेद्वारा मेची-महाकाली अभियानको नाटक’

थारुहट तराई पार्टी नेपालले अधिकारको लागि सडकमा निस्केका निहत्था मधेसीहरुको अावाजलाई बन्दुकका नालले दबाउन सप्तरीको घटना घटाएको बताएको छ । सरकारले संविधान संशोधन गरेर मधेसी तथा थारुहरुको माग सम्बोधन नगरेर स्थानीय तह निर्वाचनको घोषणा गरेर मुठभेड निम्त्याएको थारुहटको भनाइ छ ।

सोमबार भएको उक्त घटनाप्रति थारुहटले अात्ति जनाउँदै एमाले मेची-महाकाली अभियानको नाटक गरेर समाजिक सद्‍‍भाव विथोल्न खोजेको अारोप समेत लगाएको छ । ‘एमालेद्वारा सुरु गरिएको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा शान्तिपूर्ण आन्दोलनरत मधेसी आन्दोलनकारीहरुमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाई चार जनाको नृसंस हत्या गरेकोमा घोर भत्र्सना गर्दै खेद व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

सप्तरी घटनाको सम्बन्धमा

आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, दलित, खस समुदायले आनो माग मुद्दा संविधान संशोधन मार्फत संबोधनका लागि आन्दोलन गरिरहेको अवस्थालाई वेवास्ता गर्दै नेपाल सरकारले बलजफ्त स्थानीय तहको निर्वाचन घोषणा गरी मुठभेडको श्रृजना गरी रहेकै बेला थरुहट तराईमा सामाजिक तथा जातीय सद्भाव खल्बल्याई थारु, मधेसी र जनजाति आन्दोलनकारीमाथि सुनियोजित रुपमा दमन गर्ने योजनाबद्ध रुपमा खोक्रो राष्ट्रियताको ढवाङ फुक्दै ने. क. पा. एमालेद्धारा शुरु गरिएको नौटंकी मेची महाकाली अभियानको क्रममा आज सप्तरीमा शान्तिपूर्ण आन्दोलनरत् मधेसी आन्दोलनकारीहरु माथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाई चार जनाको नृसंस हत्या गरेकोमा घोर भत्सर्ना गर्दै खेद व्यक्त गर्दछौं।

अधिकारका निमित्त सडकमा उर्लिएको निहत्था मधेसीहरुको आवाजलाई बन्दुकका नालले दबाउन खोज्ने गृह प्रशासनको निरकुंश दमनप्रति घोर आपत्ति प्रकट गर्दै दोषी प्रहरी प्रशासनमाथि अविलम्ब कडा भन्दा कडा कानूनी कारवाहीको माग गर्दछौं। साथै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै मृतकलाई शहीद घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउनको लागि सरकारसंग जोडदार माग गर्दै, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिदेखि थरुहट तराईमा आह्वान गरेको दुई दिने आमहडतालमा थरुहट तराई पार्टी नेपालको तर्फबाट ऐक्यवद्धता सहित पूर्ण साथ समर्थन रहेको व्यवहोरा सार्वजनिक गर्दछौं।

भानुराम थारु

अध्यक्ष

थरुहट तराई पार्टी, नेपाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *