चितवनमा फगुवा महोत्सव मनाइने, ‘समत’ पनि जलाइने

कारी महतो, चितवन।

चितवनमा ऐतिहासिक रुपमा प्रथम फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ। २०७३ फागुन २७ र २८ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. १७ सिसुवार (सौराहा)को चौरमा सम्पूर्ण थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरिने महोत्सवका सदस्य सचिव शिवनारायण चौधरीले बताए।

थारु समुदायको महान चाड फगुवामा फागु पूर्णिमाको बेलुका हरेक थारु गाउँमा चीर बनाएर जलाउने गरिन्छ। त्यसलाई थारु भाषामा ‘समत लेसे’ भनिन्छ। त्यसको अर्को दिन सबेरै समत पोलेको खरानी उडाउने र खरानीकै टीका लगाएर फगुवा मनाउने गरिन्छ। त्यस दिनलाई धुरहेरी भनिन्छ।

समत (चीर) सम्बन्धि विभिन्न किंवदन्तीहरु छन्। हिन्दू धर्ममा यसलाई होलिका दहनको रुपमा लिइन्छ तर थारु समुदायमा यसको बेग्लै महत्व छ। थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इनरप्रसाद महतोका अनुसार जितिया पर्वमा ब्रतालु महिला दिदीबहिनीहरुले ब्रत बसेर बेलुका जितवाहनको कथा सुन्ने गर्छन् र त्यस कथामा चिलो र सेरो दुई दिदीबहिनीहरु बीच विवाद बढ्दै गएपछि ती दुईमध्ये सत्य वा असत्यको पक्षमा को को छन् ? भनेर परीक्षण गर्नका लागि अग्निपरीक्षाको रुपमा फगुवा पर्वमा ‘समत’ बनाएर जलाउने गरिन्छ। ‘समत’ बनाउँदा अहिले पनि त्यसको माथिल्लो भागमा साँकेतिकरुपमा चिलोको ठाट र मुनितिर सेरोको लागि सानो खाल्डो खन्ने गरिन्छ।

बुढापाकाहरुका अनुसार समत जल्ने क्रममा कुन दिशातर्फ ढल्छ, त्यसैअनुसार गुरोहरुले त्यसवर्षभरि वर्षात् हुने वा खडेरी लाग्ने अनुमान गर्दथे र सोहीअनुसारको खेतीपाती गर्ने गरिन्थ्यो।

थारु समुदायले फगुवालाई परापूर्वकालदेखि नै निकै उल्लासमय वातावरणमा आफ्नै मौलिक तरिकाले मनाउँदै आएको भएपनि केही वर्षयता युवा जगतले आफ्ना मौलिक पर्वहरुमा आयातित सँस्कृतिलाई बढावा दिने गरेकाले संस्कृति संरक्षणका साथै युवाहरुमा हस्तान्तरण गर्नका लागि सबै एकजुट भई फगुवा महोत्सव आयोजना गर्न लागेको कुरा महोत्सव मूल आयोजक समितिका सहसंयोजक तथा थारु साँस्कृतिक संग्रहालय बछौलीका अध्यक्ष वीरेन्द्र महतोले बताए।

साँस्कृतिक महोत्सवका लागि कुनै सरकारी निकायले सहयोग नगरेकोमा दुःख व्यक्त गर्दै आर्थिक समितिका संयोजक सजना महतोले आदिवासी जनजातिका लागि आउने बजेट यस्तै कार्यक्रमहरुका लागि पनि विनियोजन गर्नका सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। उनले भने, ‘हरेक वर्ष नगरपालिकाको बजेट फ्रिज भएको सुनिन्छ तर साँस्कृतिक महोत्सवका लागि बजेट माग्न जाँदा नगरपालिकाले दिनै मन्दैनन्।’

फगुवा महोत्सव सम्पन्न गर्नका लागि मागर महतोको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल आयोजक समिति र १९ वटा उपसमिति गठन गरिएको छ। यसवर्ष फागुन २९ गते समत र ३० गते धुरहेरी भएपनि त्यसको दुईदिन अगाडि नै फगुवा साँस्कृतिक महोत्सव आयोजना गरिएको र अर्को वर्ष यसलाई निरन्तरता दिने कुरा मूल संयोजक मागर महतोले बताए।

महोत्सवको दुवै दिन थारु साँस्कृतिक नाचगीतका साथै थप मनोरञ्जनका लागि आधुनिक गायक कलाकारहरुको समेत प्रस्तुती पस्किने कुरा साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक दिपेस चौधरीले बताए। दुवै दिन लोकगायक मिलन लामा, संजय चौधरी, मनोज महतो लगायतका गायकहरुको प्रस्तुति रहनुका साथै अन्तिम समयमा डिजे गीत संगीतमा पार्टी डान्सको समेत व्यवस्था गर्ने जनाएका छन्।

महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशका साथै थारु खाना बिक्री वितरण गर्नेहरुलाई पनि निःशुल्क स्थान दिइने आयोजक समितिले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *