थारुका पार्टीसहित ७४ दल निर्वाचन आयोगमा दर्ता

निर्वाचनको विरोध गर्ने थारुका पार्टीहरुले पनि स्थानीय तहको चुनावमा सहभागिता जनाउन दल दर्ता गरेका छन्। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, भानुराम चौधरी अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरी नेतृत्वको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले दल दर्ता गरेका हुन्।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा ७४ दलमात्र दर्ता भएका छन्। मधेसी मोर्चामा आबद्ध भएकामध्ये ६ दल दर्ता भएका छैनन्। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले भने दल दर्ता गरेको छ।

आयोगको क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा ११३ दल दर्ता भएका थिए। आयोगले तीन दिने म्याद दिएर संविधानको धारा २७१ बमोजिम विवरण पेश गरी केन्द्रीय कार्यालयमा पुनः दर्ता गर्न भनेको थियो।

तर, ७४ दल मात्र दर्ता भएका छन्, जसमा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित अधिकांश दल छन्। तर, मधेसी मोर्चामा आवद्ध तमलोपा, सदभावना, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सदभावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टीले भने केन्द्रमा दल दर्ता गराएका छैनन्। उनीहरुले जिल्ला तथा क्षेत्रमा भने दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

जिल्ला तथा क्षेत्रीय कार्यलयमा दर्ता भएका तर, केन्द्रमा दर्ता नभएका दलहरुले पनि आगामी स्थानीय चुनावमा भाग लिन पाउने आयोगले जनाएको छ। जिल्ला तथा क्षेत्रमा दर्ता नभएका नयाँ ७ वटा दलले जिल्लामा छुटेको भन्दै केन्द्रीय कार्यालयमा मात्रै निवेदन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। यद्यपि उनीहरुले स्थानीय चुनावमा भाग लिन पाउने छैनन् ।

दलहरुलाई दिइने चुनाव चिन्ह भने संविधानसभाको निर्वाचनमा भाग लिएका दलले समानुपातिक तर्फ प्राप्त गरेको मतका आधारमा र अन्यका हकमा स्थानीय तह निर्वाचन ऐन अनुसार प्राप्त हुने प्रवक्ता शर्माले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *