संसदमा उर्लिए थारु नेता, भने- ‘संशोधनले कैलाली, कञ्चनपुरसहित थरुहटको ग्यारेन्टी गर्नपर्छ’

संविधान संशोधन विधेयकमाथि भएको छलफलमा थारु नेताहरुले खुलेर आवाज उठाएका छन्। उनीहरुले संविधान संशोधन बिना कुनै हालतमा निर्वाचन हुन नदिने बताएका थिए। त्यतिमात्र हैन संविधान संशोधनले थारुका माग सम्बोधन हुनुपर्ने तथा कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेशको ग्यारेन्टी गर्नुपर्ने माग पनि थारु सांसदले अगाडि सारेका छन्।

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले आन्दोलनरत पक्षको माग समेटिनेगरी संविधान संशोधन हुनुपर्ने माग राखे। अहिलेको संशोधन विधेयक शासक वर्गलाई मात्र पक्षपोषण गरेको भन्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी पुनः परिमार्जनसहितको संविधान संशोधन विधेयक आउनपर्ने बताए।

उनले टीकापुर घटनामा पक्राउ परेकाहरुको तुरुन्त रिहाईको मागसमेत गरे। झुटा मुद्दा लगाएर उनीहरुलाई कैदी बनाएको भन्दै सांसद दहितले बिनासर्त उनीहरुको तुरुन्तै रिहाई हुनुपर्ने माग राखे।

त्यस्तै नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले हतार गरेर संविधान जारी गरिएको आरोप लगाए। उनले अहिलेको संविधानमा कम्तीमा पनि २० वटा धारा संशोधन गर्नुपर्ने अावश्यकता रहेको बताए। ती धारा संशोधन नगरिए संविधान कार्यन्वयन कुनै हालतमा हुन नसक्ने उनको भनाई थियो। ‘यो संविधानलाई सम्पूर्ण नेपालीले हाम्रो संविधान हो नभनेसम्म कार्यन्वयन हुन सक्दैन,’ उनले भने।

त्यस्तै नयाँ शक्ति नेपालकी सांसद  गंगा थारुले संशोधन प्रस्ताव राम्रो भएपनि यसले थारुको माग सम्बोधन गर्न नसकेको बताइन्। उनले तीन बुँदे सहमति पनि अहिलेसम्म कार्यन्वयन हुन नसकेको आरोप लगाइन्। ‘संशोधन विधेयक महत्वपूर्ण भए पनि यसले अझै थारुलाई कमैया कमलरी बनाउने प्रयास गरेको छ,’ उनले भनिन्।

उनले कैलाली कञ्चनपुर बिनाको थरुहट प्रदेश कुनै हालतमा स्वीकार्न नसक्ने बताइन्। ‘त्यसैले संशोधन विधेयकले कैलाली कञ्चनपुरसहितको थरुहट राज्यको ग्यारेन्टी गर्नुपर्छ,’ उनले भनिन्।

त्यस्तै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संविधान घोषणा गरेको १८ महिना भइसक्दा पनि कार्यन्वयन हुन नसकेको बताए। संविधान संशोधन बिना निर्वाचन हुन नसक्ने बताउँदै उनले संविधान संशोधन पारित गराउनुपर्ने माग गरे। उनले थारुहरुको समस्या समाधान अझै हुन नसकेको बताउँदै थारुको अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्नुपर्ने बताए।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले राष्ट्रघाति भनिएका थारुहरुले कहिले महाकाली नदी बेचेको छ भनेर प्रश्न गरेकी थिइन्। उनले तीन दलका नेताहरु नै असलीमा राष्ट्रघाति भएको बताउँदै थारुले उठाउँदै आएको माग सम्बोधन हुनुपर्ने बताइन्।

त्यस्तै नेपाली कांग्रेसका सांद प्यारेलाल रानाले संविधान संशोधन सान्दर्भिक रहेको बताए। तर आन्दोलनरत पक्षको जायज माग अहिलेसम्म पूरा नभएको उनले बताए। ‘पहिले ६ प्रदेशको खाका ल्याइएको थियो। केही ठाउँमा आन्दोलन गरेर ७ बनाइयो। तर थारु मधेसीले तेत्रो आन्दोलन गर्दा पनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन। तसर्थ उनीहरुको जायज माग पूरा गराउनपर्छ,’ उनले भने।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *