चितवनमा बन्ने भो ‘थारु भवन’, सरकारद्वारा ५५ लाख बजेट निकासा

कारी महतो/चितवन।

थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा आज भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन भएको छ। माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको अध्यक्षतामा उक्त निर्माण समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो, सचिवमा थाकस क्षेत्र नं. ८ का सचिव नारायण चौधरी, कोषाध्यक्षमा भरथी महतो र सदस्यहरुमा गुजेश्वरी चौधरी, बुद्धिराम चौधरी, सोहर चौधरी, सबिता चौधरी, गीता राउत, शान्ति चौधरी र भरत चौधरी छन्।

आज भएको भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सचिवालय सदस्य राजु हुमागाई (सुबोध), नेकपा एमालेका जिल्ला सदस्य नारायण वन र नेपाली कांग्रेसका रत्ननगर सभापति रुपन घिमिरे र थाकस चितवन क्षेत्र नं. ८ का सभापति रामा सभापति रामेश्वर चौधरी लगायतको समुपस्थिति थियो । उक्त भेला नागरिक समाज रत्ननगरका संयोजक शालिग्राम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो।

चितवनको निर्वाचन क्षेत्र नं. २ बाट पहिलो संविधान सभाको प्रत्यक्षबाट निर्वाचित सदस्य तथा पूर्व मन्त्री रामबहादुर थापा (बादल)को सिफारिसबाट निकासा भएको रु ५५ लाख बजेटबाट उक्त भवन निर्माण गर्न लागिएको हो। स्थानीय विकास मन्त्रालयबाट जिल्ला विकास समिति चितवन मार्फत् भएको बजेटलाई सदुपयोग गर्नका लागि थाकसको भवन निर्माण समिति गठन गरिएको जानकारी निर्माण समितिका संयोजक दर्शन चौधरीले दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *