भोट माग्न आउनेलाई प्रतिकार गर्ने टीकापुर राजबन्दी परिवारको चेतावनी

टीकापुर घटना घटाएको अभियोगमा जेल जीवन भोग्दै आएका कैदीबन्दीका परिवारजनहरुले सरकारद्वारा घोषित सबै चुनाव बहिष्कार गर्ने बताएका छन्। झुठा मुद्दा लगाएर आफ्ना प्रियजनहरुलाई कैद गरे पनि हालसम्म रिहाईको लागि राज्यले गम्भिरता नदेखाएको आक्रोश पोख्दै उनीहरुले कुनै पनि चुनावमा भाग नलिने बताएका हुन्।

प्रवासी थारु सेवा समाज मलेसलियाको सहयोग र थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीको समन्वयमा जिल्लाको जोशीपुरमा बुधबार आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी पीडित परिवारहरुले उक्त प्रतिक्रिया दिएका हुन्।

थापापुर-७ नवलपुरकी कैदीबन्दी परिवार यमुना चौधरीले झुठ्ठा मुद्धा लगाएर आफ्ना मान्छेहरुलाई फसाएको बताउँदै रिहाई नगरेसम्म सरकारको कुनै पनि चुनावमा भाग नलिने उद्घोष गरिन्। चुनावको लागि गाउँमा भोट माग्न आउन जो कोहिलाई गाउँ प्रवेशमा रोक लगाउने चेतावनी दिँदै उनले भनिन्, ‘सरकारले हालसम्म बिना आधार कैद गरेको छ, रिहाई गर्नमा गम्भिरता देखाएको छैन, रिहाई नगरेसम्म भोट हाल्दैनौ, कोहि गाउँमा भोट माग्न आए प्रतिकार गर्छौ।’

त्यस्तै, जोशीपुर–४ झबहीकी कैदीबन्दी परिवार प्रेमादेवी चौधरीले पहिचान र अधिकारको आन्दोलनलाई सरकारी पक्षले बलपूर्वक दमनको रबैया जारी राखेको बताइन्। अधिकार प्राप्तीको लागि अझै पनि आन्दोलनमा होमिन तयार रहेको बताउँदै उनले हाल आन्दोलनकारी नेतृत्व पंक्ति विखण्डित नभएर संगठित भएर अगाडी बट्नु पर्ने सुझाव दिइन्।

थापापुर–७ नवलपुरकी कैदीबन्दी परिवार रिमा चौधरीले आफूहरुमाथि राज्यले रंगभेदी व्यवहार गरेको आरोप लगाइन्। निर्दोष व्यक्तिलाई यातना समेत दिएको तर थारु समुदायको घर, पसलमा आगजनी गर्नेलाई कुनै कारबाही नगरेको उनको गुनासो छ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा संघर्ष समिति कैलाली–कञ्चनपुर संयोजक प्रभातकुमार चौधरीले विना आन्दोलन पहिचान र अधिकार प्राप्त नहुने र राजबन्दीहरुको रिहाई पनि मुस्किल भएकोले आफुहरु नयाँ चरणको आन्दोलनवारे बहस चलाई रहेको बताए।

कैदीबन्दी परिवारको हरेक दुःख सुखमा आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाउँदै संयोजक चौधरीले पहिचान र अधिकारको आन्दोलनबाट एक इन्च पनि पछि नपर्ने बताए।

कार्यक्रममा संघर्ष समिति कैलालीका प्रवक्ता ठाकुरप्रसार करियाप्रधानले पहिचान र अधिकारको आन्दोलनलाई नयाँ सिराबाट लैजाने बताए। कैलाली–कञ्चनपुर जिल्लालाई प्रदेश नं ५ मा समावेश गरे मात्रै थरुहट/थारुवान आन्दोलन बिश्राम लिइने बताउँदै उनले सरकारद्वारा घोषित स्थानीय निकायको चुनाव वहिष्कारसहितको आन्दोलन चर्काउने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *