स्थानीय निकायको चुनावविरुद्ध प्रतिकार गर्ने थारु नेताहरुको चेतावनी

सरकारले बिना संविधान संशोधन स्थानीय तहको चुनाव मिति घोषणा गरे थारु नेताहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन बिना कुनै हालतमा स्थानीय तहको चुनाव हुन नसक्ने उनीहरुले बताएका हुन्।

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितले संविधान संशोधन बिना चुनाव हुन नसक्ने बताए। आफ्नो पार्टी र सम्बद्ध संघीय गठबन्धनले पनि संविधान संशोधन बिना स्थानीय निकायको चुनाव हुन नसक्ने सरकारलाई पटक पटक जानकारी गराएको उनले बताए।

‘हाम्रो बटम लाइन पहिलो संविधान संशोधन हो। त्यसपछि स्थानीय निकायको चुनाव सम्भव छ। हामीले यसबारे सरकारलाई पटक पटक ध्यानाकर्षण गराइसकेका छौं,’ उनले थारुवानसँग भने।

त्यस्तै नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले पनि यही अवस्थामा स्थानीय निकायको चुनाव हुन नदिने जानकारी दिए। जबरजस्ती आन्दोलन मिति घोषण गरे त्यसको कडा प्रतिकार गर्ने उनले चेतावनी दिए।

‘संविधान संशोधन र थरूहट प्रदेशको सीमांकन नसच्याइ सरकारले स्थानीय चुनाव गराउन खोजे हामी प्रतिकारमा उत्रन्छौं,’ उनले थारुवानसँग भने। त्यसका लागि आन्दोलनरत पार्टीहरुसँग छलफल भइरहेको उनले जानकाकारी दिए।

‘स्थानीय निकायको चुनाव जबरजस्ती गराइए आन्दोलनरत पक्षहरुसँग मिलेर सडक आन्दोलन गर्छौं,’ लेखीले भने। उनले मधेसी मोर्चा र संघीय गठबन्धनसँग मिलेर पनि आन्दोलन गर्नसक्ने बताए।

यता मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा जाने चेतावनी दिएको छ। सरकारले आगामी जेठमा चुनाव गर्ने गरी मिति घोषणाको तयारी गरिरहेका बेला मधेसी मोर्चाले आन्दोलनमा जाने चेतावनी दिएको हो। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको अनौपचारिक बैठकले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्‍याएको छ।

नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरुको माग सम्बोधन नगरी निर्वाचन गर्न खोज्नु भनेको झगडाका लागि निम्तो दिनु सरह हुने टिप्पणी गरे। मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पास भएपछि मात्र चुनावमा जान सकिने बताउँदै आएको छ।

यता चौतर्फी दबाबका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को आगामी बैठक बस्नुअघि नै मिति घोषणाको तयारीमा जुटेका छन्। आगामी  फागुन १० गते संसद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्र आइतबारसम्म नसके पनि फागुन १० गतेसम्म मिति घोषणा गर्ने गरी प्रधानमन्त्रीले गृहकार्य सुरु गरेका छन्। ‘आइतबारसम्म मिति घोषणा गर्न सकेनौं भने पनि १० गतेसम्म सरकारले स्थानीय तहको चुनाव मिति घोषणा गर्छ,’ एक मन्त्रीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *