‘चुनावको मिति तोकेकै दिन आन्दोलन घोषणा’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको मिति तोकिएकै दिन आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । प्रमुख दलहरु जेठ १ गतेभित्र चुनाव गर्ने गरी फागुन ८ भित्र मिति घोषणा गर्न सहमत देखिएका छन् । तर, मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिइरहेको छ ।

पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न राजविराज आएका फोरम अध्यक्ष यादवले प्रचण्ड सरकारमाथि द्वन्द्व बढाउन खोजेको आरोप लगाए । मुलुकमा देखिएको समस्या समाधान नगरी चुनाव गराउन खोजे मुलुकमा द्वन्द्व सृजना हुने यादवले बताए । उनले भने, ‘अहिले कुनै चुनाव हुन सक्दैन । चुनाव गराउन मूलभूत समस्या समाधान गर्नु जरुरी छ ।’

मधेसी मोर्चाका नेता यादवले संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई पारित नगरी गरिने चुनावले समस्या मात्रै खडा गर्ने बताए । ‘संविधानलाई परिमार्जन गरेर हुन्छ कि पुर्नलेखन या संशोधन के गरेर हुन्छ, त्यसमा सबैको अधिकारलाई राख्नुपर्छ’ उनले भने, ‘यसो नगरी गरिने निर्वाचनले मुलुक शान्ति र स्थिरतातर्फ जाँदैन ।’

उनले मुलुकलाई मुठभेडबाट रोक्न पहिला संविधान संशोधन नै गर्नुपर्ने बताए । सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन आफूहरुले पनि आन्दोलनको घोषणा गर्ने यादवले बताए । ‘यदि यस्तो नगरी सरकारले निर्वाचनको मिति घोषणा गरे हामी आन्दोलनको घोषणा गर्‍छौं’ उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *