आर्मीलाई हराउँदै सिमरा गोल्डकपको उपाधि संकटाले जित्यो

नागेन्द्र चौधरी/बारा।

त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ।
सिमरा रंगशालामाभएको फाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधि उचालेको हो।

उपाधिसँगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार नगद हात पारेको छ। उपविजेता आर्मीलेदुई लाख ५१ हजारमा चित्त बुझाएको छ।
रोमाञ्चकल खेलमा निर्धारित समयमा दुबै टिमले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थिय। अतिरिक्त समयमा पनि निर्णायक गोल हुन नसकेपछि नजिता टायब्रेकरबाट निकालिएको हो।

टाइइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरेका थिए। संकटाका विश्व अधिकारीको प्रहार भने सुनिल श्रीवास्तवले रोकेका थिए। आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र बललाई जाली चुमाउन सके। आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाउ गरे।

यसअघि खेलको ४७ मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। डिबक्सभित्रबाट बिनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाइन भित्र छिरेको थियो। खेलको सुरुवातदेखि नै आक्रमक सुरुवात गरेका दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले।

पहिलो हाफमा १-० ले पछि परेको संकटाले खेलको ५६ मिनेटमा गोल फर्कायो। आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाइलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे। अमितको गोलसँगै खेलमा फर्किएको संकटाले आर्मीलाई चुनौती दिँदै राम्रो खेल प्रदर्शन गर्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षकसमेत घोषित भएका उनले यामहा मोटरसाइकल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे। सबै विधाकाले जनही १५ हजार नगद प्राप्त गरेका छन्। प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ।

प्रतियोगिताको विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कार वितरण गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *