वीरगन्जलाई हराउँदै आर्मी सेमिफाइनमा

नागेन्द्र चौधरी/बारा।

वीरगन्ज युनाइटेड क्लबलाई हराउदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो।
आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनको समीकरण पूरा भएको छ।

यसअघि साविक बिजेता विजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। आर्मीले अब सेमिफाइनल प्रवेशका लागि शेर्पासँग खेल्नेछ। छैठौं संस्करणको बिजेता आर्मीलाई जित दिलाउने क्रममा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङले एक÷एक गोल गरे। वीरगन्जविरुद्ध हाबी देखिएको आर्मीले खेलको १६ मिनेटमा बालकृष्णको गोलबाट अग्रता लिएको थियो। नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै बालकृष्णले गोल गरेका हुन्।

सुरुवातदेखि आक्रामक खेल देखाएको आर्मीले पहिलो हाफको ईन्जुरी समयमा दोस्रो गोल थप्दा वीरगन्जले भने कुनै अवसर बनाउन सकेन। दुई मिनेटको इन्जुरी समयमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेल २–० को स्थितीमा पुर्याएका थिए ।

खेलमा दुई गोलले पछि परेपछि निकै दबाबमा देखिएको वीगन्जले प्रदर्शन निकै कमजोर देखियो। वीरगन्जका खेलाडीबिच तालमेलको निकै अभाव देखियो। उपाधिकै दाबेदारको रुपमा हेरिएको आर्मीले दोस्रो हाफमा पनि निकै तालमेल देखाउँदै तेस्रो गोल थप्यो।

खेलको ५५ मिनेटमा बालकृष्णले मिलाएको पासमा दिपक गुरुङले गोल गरे । त्यसअघि आर्मीका गोलरक्षक बिकेश कुथु गम्भिर घाइते हुँदै मैदानबाट बाहिरिन पुगे। बल नियन्त्रणमा लिने क्रममा खेलाडीसँग ठोक्कीएपछि कुथु घाइते भएका हुन्। टाउकोमा चोट लागेका कुथुको स्थानीय अस्पतामा उपचार भइरहेको छ। उनको स्थानमा सुनिल श्रीवास्तव आएका थिए।

दोस्रो हाफको खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको आर्मीले गोल गर्ने केही अवसर भने चुकाएका थिए। तालमेलको खोजीमा देखिएकाले कुनै आकर्षक अवसर बनाउन नसक्दा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो।

वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले खेलाडीबीच तालमेल नमिल्दा पराजय भोगेको बताए। आर्मीजस्तो बलियो टिमसँग आफ्नो खेलाडीले खेल्न नसकेको उनले प्रतिक्रिया थिए। आर्मीका प्रशिक्षक नविन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। आफ्नो टिमले अझै केही अवसर गुमाउन पुगेको भन्दै न्यौपानेले त्यसलाई सुधार गर्दै खेल्नुपर्ने बताए।

खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। प्रतियोगिताअन्तर्गत बुधवार बिजय युथ क्लब र सिएमजी संकटाबीच खेल हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *