एमाले सांसद् चौधरीको प्रश्न- ‘मधेसको नाममा राजनीति गर्नेले मधेसीको जनताको समृद्धिमा चासो दिनुपर्दैन?

दुष्यान्त चौधरी/बारा।

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बलवीर चौधरीले एमालेको विचार राष्ट्रिय एकता र समृद्धिको आधार भएको बताएका छन्। एमाले गढीमाई नगरपालिका वडा नं. १६ को बार्हौवडा अधिवेशनको उदघाटन गर्दै चौधरीले उक्त कुरा बताएका हुन। चौधरीले यतिबेला संविधानको कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचन र एघार महिनाभित्र केन्द्र र प्रदेशको निर्वाचनको कार्यभार छाडेर कांग्रेस- माओवादीले संविधान संशोधन कि निर्वाचनमा अल्झिएर संविधानलाई असफल बनाउने खेलमा लागेको बताए।

मधेसको नाममा राजनीति गर्ने तर मधेसको विकास र जनताको समृद्धिसँग चासो नभएका मधेशकेन्द्रीत दलहरुको गैरजिम्मेवार भूमिकाको कारण संकटहरु बढेको उनले बताए। उनले तत्काल निर्वाचनमा गएर आफ्नो शक्ति परीक्षण गर्न कांग्रेस-माओवादीलाई चुनौति दिएका थिए।

कार्यक्रममा एमाले केन्द्रीय वैकल्पिक सदस्य दिनेश राई, जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, केन्द्रीय विभागका सदस्यहरु पलट चौधरी र किशोर शर्मा, प्रदेश कमिटीका सदस्यहरु भरत खडका र सीता गुरुङ, जिल्ला सचिवालय सदस्य डा. कृष्ण पौडेल, जिल्ला कमिटी सदस्यहरु कृष्ण खनाल, विद्या थापा, लक्ष्मी नेपाली, अनिल मैनाली, क्षेत्रीय उपाध्यक्ष पुष्कल थापालगायतले मन्तब्य राखेका थिए।

वडा कमिटी अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न अधिवेशनको सहजीकरण रविन्द्र भण्डारीले गरेका थिए। अधिवेशनमा लामो समय पार्टी निर्माण र समाजसेवामा योगदान गरेका अगुवाहरु र जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा हरिकृष्ण घिमिरे, भुपाल आले मगर, मोहन पौडेल, कमल थापा, दलबहादुर रुचाल, विजय मैनाली, सीता भट्टराई, पुष्पराज थापा मगर, मानबहादुर आले, निलकुमारी घिमिरे, गोपाल राई र विष्णुमाया भटटराईलगायत छन्।

वडा अधिवेशनले हरिदेव खरेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्ष मानबहादुर थापा मगर, सचिव रविन्द्र भण्डारी र सहसचिव शुकराम घिसिङ छन्। वडा अधिवेशनसँगै पार्टीले वनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो। वडा अधिवेशनले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ जोडने द्रुतमार्ग तत्काल निर्माण गर्न र टांगियाबस्तीको यथोचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *