गच्छदारले गरे मन्त्रीको अफर, भने- ‘दुई मन्त्री दिए सरकारमा जान्छौं’

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए । ‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ । अरु साथीहरुलाई पठाउँछु ।’

यसअघि पनि सरकारमा जाने कुरा भएको तर, प्रधानमन्त्री प्रचण्डले तत्काल दुई मन्त्री दिन नसकिने बताएकाले नगएको उनले बताए ।

फोरम लोकतान्त्रिका अध्यक्ष गच्छदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आफ्नो चाँडै सहमति हुने दाबी गरे । मोर्चाका नेताहरुसँग आफ्नो कुराकानी भइरहेको भन्दै उनले भने, ‘उपेन्द्रजीसहितका नेताहरुसँग मेरो कुराकानी भइरहेको छ । चाँडै सहमति बन्छ ।’

उनले विगतमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा गएर कुनै गल्ती नगरेको बताए । उनले भने, ‘मधेसी मोर्चाका नेताहरुले जे गरे, मैले पनि त्यहीं गरेको हुँ । उनीहरु पनि मत खसाल्न गए, हामी पनि मत खसाल्न गयौं । आखिर के को गल्ती गरें ?’

आफूले त्यसबेला सही कदम चालेको भन्दै उनले भने, ‘कम्तिमा संविधान संशोधन गर्नेसहित आठबुँदे सहमति गराएर प्रधानमन्त्रीलाई मत दिई सरकारमा गएको थिएँ । मोर्चाका नेताहरु त कुनै सहमति नगरी सुशील कोइरालालाई मतदान गरेका थिए ।’

अहिलेको सरकार बनाउन मधेसी मोर्चाले तीनबुँदे सहमति गरेको सदनमा गएको भन्दै उनले भने, ‘हाम्रो पार्टीले पनि सदनबाटै माग पूरा गराउने हेतुले सरकारमा सहभागी भएको थियो ।’

आफू सरकारमा रहँदा मधेसका माग पूरा नभएको स्वीकार गर्दै गच्छदारले सरकार संचालन सजिलो नरहेको प्रतिकृया दिए । ‘त्यत्तिबेला हामीले केहि गर्न सकेनौं ठीक छ, तर बर्तमान सरकारको गठबन्धनले गरेको तीन बुँदे सहमतिमा एक महिनाभित्र सबै मुद्दा फिर्ता लिने सहमति गरेकोमा ६ महिना हुँदासम्म किन फिर्ता भएन् ? यसर्थ सरकार संचालन सजिलो छैन ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *