म थारु हुँ तर पहिले नेपाली हुँ : शान्ता चौधरी

सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो । जनता सिकेको विचारको पक्षमा छैनन् भन्ने प्रष्ट देखियो किनभने उनले कुनै जनसमर्थन पाएनन्, उनको पक्षमा कोही देखिएनन् ।

तैपनि हामीले सिकेलाई किन खतराको रुपमा हेर्यौं ? किनभने उनलाई सहयोग गर्ने, उनलाई उचाल्ने र खतराको रुपमा विकास गर्ने बलिया शक्तिहरु छन् । हामी सबैले बुझेको कुरा के हो भने सिके राउत र उनीसँग तालमेल मिलाएर चलिरहेका शक्तिहरु छन् । ती शक्तिहरुले नेपाललाई अस्थिर बनाउने, नेपाललाई कमजोर बनाउने र नेपाललाई संविधान विहिन बनाउने प्रयास गरिरहेका छन् । त्यस्ता शक्तिहरुले सिकेलाई अगाडि सारेर देशलाई ब्ल्याकमेलिङ गरिरहेका छन् ।

हेर्नुस्, हामी यहाँ उपस्थित साथीहरु विभिन्न पार्टीका छौं, विभिन्न जातिका छौं, विभिन्न विचार र क्षेत्रका छौं । यो देशभित्र हामी सबैको आआफ्नो मागमुद्दा हुनसक्छ, आआफ्नो धारणा हुनस्क्छ । तर, जब देशको कुरा आउँछ हामीले आफ्नो जाति र पार्टी भन्ने होइन, जिल्ला क्षेत्र र गाउँ भन्ने होइन, मेरो यो विचार र तेरो यो विचार भन्ने होइन । देशभन्दा माथि कुनै विचार हुँदैन, देशभन्दा माथि कुनै वाद र सिद्धान्त हुन सक्दैन । देश सर्वाेपरी हो । देश रहे हामी जनता रहन्छौं, देश नरहे कोही रहन्नौं ।

देश टुक्राउँछु भन्ने विचारलाई बेलैमा निमिट्यान्न पार्नुपर्छ । सिके राउतलाई पनि बेलैमा ठेगान लगाउनुपर्छ भनेकै हौं हामीले । तर, अहिले यस्तो सरकार छ यो सरकारको पालामा सिकेको स्वर्ण युग सुरु भयो । जनताको व्यापक दवाबपछि सिकेलाई गिरफ्तार गर्न सरकार वाध्य भएको छ । रैथाने एकता परिषदले पनि सरकारलाई सिकेको बारेमा खबरदारी गरेको हामीले सुनेकै हौं । जनदवाब थिएन भने सिकेलाई यो सरकारले गिरफ्तार गथ्र्याे भन्नेमा मलाई शंका छ । जनदवाब भएन भने सरकारले कुनै पनि बेला कुनै पनि बहानामा सिकेलाई बिना कानुनी कारबाही छाड्न सक्छ । यो पक्षमा रैथाने एकता परिषद् सहित सबै जनताले खबरदारी गर्न आवश्यक छ ।

नेपालीलाई विभिन्न जातजातिमा फुटाउने प्रयास भइरहेको छ । म थारु हूँ तर पहिले नेपाली हूँ । थारुको नाममा राजनीति गरेर धनाड्य बनेका केही नेताहरुले भन्ने गरेका छन्, थारु भएकै कारणले हामी विभेदमा परेका छौं । म यो कुरा मान्दिन । धनाड्य थारुहरुले कमैया कमलरी राखेका थिए, गरिब थारु कमैया कमलरी बनेका थिए । यसको मतलब के हो भने आर्थिक विभेद भयो । नेपालमा समस्या जातीय होइन वर्गीय हो । वर्गीय समस्यालाई ढाकछोप गर्न र विदेशी स्वार्थका लागि जातीय समस्यालाई हौवा बनाइएको हो ।

हेर्नुस्, जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने भावना विकास गर्न सकिएन भने कुनै पनि जातिको विकास हुन सक्दैन । अधिकार पाइएन भन्छन्, जबसम्म आर्थिक रुपमा सबल बनिँदैन तबसम्म पाएको अधिकार पनि उपभोग गर्न सकिँदैन । यो कुरा जनताले बुझ्न आवश्यक छ । यो देश रहेन भने हामी पनि रहन्नौं । देश छ र जनता छौं, यो देश विभिन्न जातीय समुदायले बनेको छ । देशमा समावेसीकरण व्यापक रुपमा हुन थालेको छ । उत्कृष्ट संविधान बनेको छ र यो संविधान संशोधन गर्न सकिन्छ । एकपटक संशोधन भइसक्यो, फेरि पनि हुनसक्छ । तर, देशहितभन्दा बाहिर गएर संविधान संशोधन गर्न पाइँदैन । संविधान संशोधनको बहानामा देश विखण्डनमा लैजान प्रयास भइरहेको छ । सिके राउतलाई अगाडि सारेर पछाडिबाट केही शक्तिहरुले संविधान संशोधनका लागि दवाब दिइरहेका थिए । देशमाथिको यस्तो ब्ल्याकमेलिङ अब सहन हुँदैन ।

यहाँ म मेरा थारु भाइहरुलाई देखिरहेको छु, मधेसी भाइहरुलाई पनि देखिरहेको छु । देशको मामिला आएपछि हामी जाति र पार्टीभन्दा माथि उठ्न सक्छौं भन्ने यहिँबाट पनि देखियो । हामीले अब सिकेजस्ता विखण्डनकारी कोही देखा नपरुन्, यो देश टुक्रा पार्छु भन्ने हिम्मत कसैले नगरुन् भन्नेमा ध्यान दिनुपर्छ । खबरदारी गर्नुपर्छ । रैथाने एकता परिषद्ले यस्तो खबरदारी गरिरहोस्, तपाईंहरुको खबरदारीमा म सधैं साथमा रहन्छु ।

(रैथाने एकता परिषद्ले काठमाडौंमा आज आयोजना गरेको प्रदर्शनपछिको सभामा शान्ता चौधरीले व्यक्त गरेको विचार) 

आठइप्रहरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *