दाङमा गुन्जियो सर्वहारीको कविता

सन्तोष दहित/घोराही

थारु गाउँमा

मघौटा नाचको धुन

अनि माघी आइल रे

गीतको कोरस

तर माधुरामलाई

छुन सकेको छैन।

गीत, संगीतले

उसको कानमा छोराछोरीले विसाएको बिन्ती

प्रतिध्वनित भइरहेको छ।

यो कबिता पत्रकार एवम् साहित्यिकार कृष्णराज सर्वहारीले सुनाइरहँदा कार्यक्रममा उपस्थित सहभागीहरु ध्यानमग्न भइ सुनिरहेका थिए। अहिले थारु गाउँमा माघीको रौनाक भइरहेको बेला एकजना थारु समुदायको पात्र माधुरामलाई माघीले नछोएको र उसले माघी मनाउन नपाउँदाको पीडा कबितामार्फत् साहित्यकार सर्वहारीले माधुरामको कथा ब्यथा प्रस्तुत गरे।

सर्वहारीले आफ्नो एकल रचना बाचन कार्यक्रममा थारु भाषामा थारु समुदायले आफ्नो भाषा, कला, साहित्य, संस्कृति गर्व गर्नलायक कहिले होलान् भनेर ‘अखिर कैह्यासम?’ भनि शीर्षकमा अर्को कबिता सुनाए।

कहिया सम रहि नेपाली किल

हमार राष्ट्रिय भाषा?

का यि देशमे बोल्जैना

सक्कु भाषा राष्ट्रिय भाषा

नै रना चाहि?

यि कहियासमके उत्तर

खोज्ना दिन

आब आ सेकल

पहिचान सहितके संघीयता

थरुहट, लिम्बुवान, तमुवान, नेवा

लगायत हमार भाषाहे मैया कर्ना

यकर संरक्षणके ग्यारेण्टी कर्ना मेरीक

के संविधान बनैना के खवाइटा कसम?

थारु पत्रकार संघ दाङ शाखाले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको सर्वहारीको सुस्केरा शीर्षकमा एकल रचना बाचन कार्यक्रममा साहित्यकार सर्वहारीले सामाजिक विभेद् तथा उत्पीडिनमा थारु समुदायहरुले भोग्दै आएको समस्या र युवा युवायुवतीमा हुने माया प्रेमको विषयबस्तुलाई समेटेर नेपाली र थारु भाषामा करिब एक दर्जनभन्दा बढी कबिता, गजल, मुक्तक बाचन गरका थिए।

२०५५ सालदेखि साहित्य क्षेत्रमा प्रवेश गरेको सर्वहारीले अहिलेसम्म थारु र नेपाली गरी करिब २३ वटा भाषा, साहित्य तथा अनुसन्धानमुलक कृतिहरु प्रकाशन गरेका छन्। थुप्रै कृतिहरु प्रकाशनको लागि तयारी अवस्थामा समेत रहेको उनले बताए।

उनले बाचन गरेको सबै रचना प्रगतिशिल र क्रान्तिकारी रहेको राप्ती साहित्यकार परिषदका केन्द्रीय अध्यक्ष पुरोषत्तम खनालले बताए। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका खनालले साहित्यकार सर्वहारीले थारु समुदायको भाषा, साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएकोले राज्यले यस्तो ब्यक्तिहरुलाई सम्मान गर्नुपर्ने बताए। थारु समुदायको भाषा, कला, संस्कृति पछिल्लो समयमा लोप भइरहेकाले यस्तोखाले कार्यक्रममलाई निरन्तरता दिनुपर्ने उनले थारु संघसस्थालाई सुझाव दिए।

थारु पत्रकार संघ दाङको अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदिप गौतम, प्रगतिशिल लेखक संघका अध्यक्ष शरद अधिकारी, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केबी मसाल, राप्ती साहित्य परिषद दाङका सचिव दीपक शर्मा, साहित्यकार शरद देवकोटा, सुरेश सुमन डाँगी, रेशम विसी लगायतले बोलेका थिए। कार्यक्रमको सहजीरकण थारु पत्रकार संघका सल्लाहाकार एवम् साहित्यकार छविलाल कोपिलाले गरेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *