थारू फिल्म भौँरा माघ १ गतेदेखि चल्ने भएको छ। दाङको देउखुरीस्थित सत्यसाई सिनेमा हलमा माघ १ गतेदेखि चल्ने फिल्मका निर्माता नन्दु चौधरीले जानकारी दिए। चम्पन साँस्कृतिक समूहको ब्यानरमा बनाइएको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता चौधरीले जानकारी दिए। ‘फिल्ममा थारु साँस्कृतिका अलवा थारु समुदायमा विद्यमान कमैया, कमलरी प्रथाजस्ता कूरीतिहरुबारे पनि देखाएका छौं,’ उनले भने।
२५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ छन्। थारु फिल्म क्षेत्रमा नयाँ अनुहारलाई प्लाटफर्म दिने हिसाबले पनि फिल्मको निर्माण गरेको निर्माता चौधरीले जानकारी दिए।
फिल्मलाई कृष्ण चौधरीले निर्देशन गरेका छन्। श्रीनारायण चौधरीको पटकथा रहेको फिल्मलाई अनुभवी छाँयाकार हरिनारायण चौधरीले खिचेका छन्। फिल्मको नृत्य निर्देशकमा दीपक चौधरी, हरि वाग्ले र दीपक दीप छन्। फिल्म दाङको थारु वस्ती र देउखरी वरिपरि खिचिएको छ।
फिल्ममा निर्माता नन्दुराज चौधरीसहित, कृष्ण चौधरी, श्रीनारायण चौधरी, सोनु थारु, अन्जु चौधरी, रीमा चौधरी, राज कुस्मी, हरि चौधरी, रोशन रत्गैँया, फिरु चौधरी, वीरबहादुर चौधरी, समीक्षा चौधरी, राम कठरियालगायतको अभिनय रहेको छ।
Facebook Comment