किशोरजी, सुमनजीले दिएको मानसिक टर्चरबारे पनि लेख्ने कि?

चन्द्रप्रसाद चाैधरी।

पत्रकार किशोर चौधरीजीको लेख पढेर मलाई लेख्नैपर्ने बाध्यता बनायो। माघी महोत्सवलाई लिएर बारम्बार थारु विद्यार्थी समाज र मलाईसमेत मुछिएर पत्रकार महोदयले लेख लेखेको पाइयो। उहाँले कतिपय कुराहरु बुझेर हो वा मिस गाइड भएर तथ्यपरक लेख प्रस्तुत गर्न सक्नुभएको छैन। त्यसैको जुन सत्य कुरा हो त्यो उहाँलाई जानकारी गराउन चाहन्छु। हुन त उहाँले मलाई सम्पर्क गरेर सोधेको भए सबै कुरा जानकारी गराउँथे। तर उहाँ आरोप लगाउनमात्र उद्यत हुनुभयो। रियालिटी जान्न चाहनुभएन।

माघी महोत्सवकै सबालमा पत्रकार महोदयले गलत ब्याख्या गर्नुभएको छ। वि.सं. २०५९ सालमा माघी महोत्सव पहिलोपटक मनाएको सत्य हो। तर उक्त महोत्सव थारु कल्याणकारिणी सभा, उपत्यका समितिका तत्कालीन अध्यक्ष प्रेमीलाल चौधरीको संयोजकत्वमा भएको कुरा एकदमै गलत हो। त्यो महोत्सव थारु विद्यार्थी समाज केन्द्रीय समितिको मुख्य पहल र थारु कल्याणकारीणी सभा केन्द्रीय समितिको सहयोगमा भृकुटिमण्डपस्थित नेपाल पर्यटन बोर्डमा भएको हो। त्यसमा सबै जिम्मेवारी थारु विद्यार्थी समाजले लिएको थियो। सभा तत्कालीन केन्द्रीय अध्यक्ष नरेन्द्र कुमार चौधरीले सभापतित्व ग्रहण गरेको महोत्सवका प्रमुख अतिथि तत्कालीन सम्माननीय प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुनुहन्थ्यो। विशिष्ट अतिथिमा वातावरण सहायक मन्त्री गोपाल दहित थिए भने स्वागत मन्तव्य थारु विद्यार्थी समाजका तत्कालीन केन्द्रीय अध्यक्ष रामानन्द चौधरीले दिएका थिए। कार्यक्रम सञ्चालन पनि समाजकै केन्द्रीय सचिव सत्यनारायण चौधरीले गरेका थिए। म (समाजको ललितकला क्याम्पसको अध्यक्ष) त्यस कार्यक्रमको प्रत्यक्षदर्शी पनि हुँ। तपाईँको आलेख कति न्यूनस्तरीय रहेछ भन्ने कुरा यहाँबाट पनि प्रमाणित हुन्छ। वा भनौं तपाईँले यसबारे गहण अध्ययण गर्नुभएन। दस वर्ष पत्रकारिताको धाक लगाउनेले आफ्नै समुदायको इतिहासलाई तरोडमरोड गर्नु कतिको उचत हो पत्रकार महोदय? यसको जवाफ पनि दिने प्रयास गर्नुहोला।

रह्यो कुरा जिम्मेवारीको। म महासचिव कति वर्षदेखि थिएँ? कुन वर्षमा मलाई जिम्मेवारी दिइयो? त्यो पनि ब्याख्या राम्रोसँग गर्नुभएको छैन। युवाहरुले जिम्मेवारी बाँडफाँड र पारदर्शिताको कुरा उठाएपछि गत वर्षमात्र मलाई टेन्ट र साउन्डको जिम्मेवारी दिइएको थियो। तर जिम्मेवारी दिइसकेपछिको कुराहरु तपाईँले खोइ ब्याख्या गर्नुभएको? टेन्ट/साउण्डमामात्रै सुमनजीले ५ लाखको हाराहारीमा खर्च देखाउनुहुन्थ्यो। यही आवाज उठाउँदा उनले जिम्मेवारी तोकेको थियो। तर जिम्मेवारी दिएकै साँझदेखि सुमनजीले बारम्बार फोन गरेर ‘मेरो संयोजक खोसिस्’ भनेको कुरा किन उल्लेख गर्नुभएन? सुमनको नीति नै युवालाई असफल बनाउने थियो। त्यसो थिएन भने उनले यसअघि काम गरेको मान्छेको सम्पर्क नम्बर उपलब्ध गराउँथ्यो। तर सुमनजीले यसअघि जहाँबाट टेन्ट साउन्ड ल्याउँथ्यो त्यसको सम्पर्क नम्बर किन उपलब्ध गराएनन्? दिनदिनैको ‘मेरो भाग खोसिस्’ भनेर मानसिक टर्चर दिएको ब्याख्या किन गर्न सक्नुभएन पत्रकार महोदय? सुमनजीलाई राम्रोसँग थाहा थियो सम्पर्क नम्बर दिए उनको कर्तुत पर्दाफास हुन्छ भनेर।

मेरो जिम्मेवारीको कुरा गर्नुहुन्छ भने तपाइँलाई बताइदिउँ मैले ७-८ ठाउँबाट कोटेशन मगाइसकेको थिएँ। जुन कोटेशन हेर्ने हो भने सुमनजीले खर्च गर्दै आएको रकमको ठ्याक्कै आधा थियो। त्यही कुराले सुमनजी आतिनुभयो र बैठकमै हाम्रो हैसियतको प्रश्न उठाउनुभयो। ‘सक्छौं भने तिमीहरु आफैं गरेर देखाउँ’ भनेर टेबल ठटाउनुभयो। तपाइँलाई जानकारी छैन भने आउनुस् तपाईँलाई भिडियो नै उपलब्ध गराइदिन्छौं। तपाइँ आफ्नो टेलिभिजनबाट पर्दाफास गर्नुस् साँच्नै थारु समुदाय र थारु कल्याणकारिणी सभाको भलो चिताउनुहुन्छ भने। हामीले जिम्मेवारी पूरा नगरेको भए ४ दिनमा माघी महोत्सव तयारी हुने थिएन। पोहोर सालकै दुई माघीलाई राम्रोसँग ब्याख्या विश्लेषण गर्नुस् पत्रकार महोदय। भावनामा लेख्नु र तथ्यपरक विश्लेषण गर्नु फरक कुरा हो।

तपाइँले माघी महोत्सव २०७२ को खर्चबारे पनि ब्ख्या गर्नुभएको छ। विगतको हरेक वर्ष माघी महोत्सव गर्दा जिम्मेवारी बाँडफाड गरिन्थ्यो। तर गतवर्ष थाकसकै भातृ संगठनले सबै जिम्मेवारी आफूअनुकुल बाँडफाड गर्‍यो। त्यसकै विरोधमा मूल आयोजक समितिका अन्य संघसंस्थाले जिम्मेवारी समावेसी बनाउन माग गर्‍यो। तर थाकस उपत्यकाले माघी महोत्सवलाई आफ्नो ठेक्का, बपौती, मागी खाने भाँडो बनाएको विगतको इतिहासलाई दोहोर्‍यायो। तपाईँकैअनुसार २०७१ सालका माघी महोत्सवमा ११ लाख ४९ हजार खर्च भएको अडिट रिपोर्टमा उल्लेख छ भन्नुभयो। तर २०७२ सालको महोत्सवमा ७ लाख ७५ हजारमात्र कसरी भयो? स्वयंसेवकको ४५ हजारबाट १० हजारमा झर्दा र साँस्कृतिकको ८५ हजारबाट ४८ हजार झर्दा ७२ हजारमात्र कम भएको देखिन्छ। अनि बाँकी रकमको खोजीनीति जनता आफैँले गर्ने हो पत्रकार महोदय? कि ११ लाख ४९ हजारबाट ७ लाख ७५ हजारमा झर्नु ७२ हजारमात्र प्रमुख फ्याक्टर हो? बीचमा अझै पनि तीन लाख बढी रकम देखिन्छ त्यो रकमको पनि खोजीनीति गर्ने हो कि पत्रकार महोदय। साँच्चै नै तपाईँ थारु समुदायको भलोको काम गर्नुहुन्छ भने देशको चौथो अंगको दर्जाले अहिलेसम्मको माघीको अडिट रिपोर्ट हेर्नुस्। कुन कुन वर्ष कति कतिले खर्च भएको छ केलाउनुस्। र, मुख्य कुरा कुन वर्ष कुन चिजमा कति कति खर्च गरेको छ? खर्चको अनुपात निकाल्नुस्। भ्रष्टाचार भएको रहेछ कि रहेनछ थाहा पाउनुहुन्छ। अनि भ्रष्टाचारको एभिन्युज एक्सक्लुसिभमा पर्दाफास पनि गर्नुस्। यतिको हिम्मत जुटाउनुभयो भने तपाईँको दस वर्षे पत्रकारिताको कदर गर्नेछु सर्वसर्वदा। नत्र जनतालाई भ्रमित पार्ने काम नगर्नुस् अनुरोध।

अन्त्यमा, पत्रकार महोदयले घरभित्रको आन्तरिक झगडामा, बाउ-छोराको झगडामा बाउको लाज छोराले ढाक्नुपर्ने उल्लेख गर्नुभएको छ। जुन कुरासँग म एकदमै सहमत छु। तर बाउले यहाँ दुई छोरीबीच झगडामा घिउ थप्ने काम गरेको छ। विद्यार्थी-विद्यार्थीमा फुट ल्याउने काम गरेको छ। म नि चाहन्छु बाउले छोराहरुबीच द्वन्द्व सर्जना गर्ने काम नगरोस्। सक्छौ मिलाउ सक्दैनौं फुटाउने काम पनि नगरौं।

लेखक थारु विद्यार्थी समाजको केन्द्रीय अध्यक्ष हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *