कृष्णा चौधरीले खुट्टाको प्लास्टर खोलेको २ दिनपछि ४ वटा स्वर्ण २ रजत जितिन्

सातौं बृहत राष्ट्रिय खेलकुदमा सहभागी हुन पूर्वाञ्चल आउनुअघिसम्म कृष्णा चौधरी असमञ्जसमा थिइन्। दुई दिनअघि मात्र उनको दाँहिने खुट्टाको प्लास्टर काटिएको थियो। त्यसैले उनी नेपाली खेलकुदको ठूलो खेल मेलामा सहभागी बन्ने सम्भावना नै न्युन थियो।
तर, यस्तो अवस्थामा पनि नेपाल आर्मीका प्रशिक्षक पुष्पराज ओझाले उनलाई खेल्ने अवसर प्रदान गरे, उनको प्रतिभा र मेहनत देखेर। जसको नतिजा अहिले उनी सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत पूर्वाञ्चलतर्फ भइरहेको २९ खेलका करिब तीन हजार खेलाडीमध्ये सर्वाधिक स्वर्ण जित्ने खेलाडीको रुपमा स्थापित भएकी छिन्। उनले यसपालि ४ स्वर्ण र २ रजत गर्दै ६ वटा पदक जितेकी छिन्।

यस क्रममा सय र दुई सय मिटर दुवै स्पर्धामा स्वर्ण जित्दै आफू स्प्रिन्टको नयाँ च्याम्पियन भएको उद्घोष गरेकी छिन्।
कृष्णाले ५ वर्षअघि धनगढीमा भएको छैटौं बृहत राष्ट्रिय खेलकुदमा पनि सय मिटर स्पर्धामा भाग लिएकी थिइन्। धनगढी घर भएपनि उनी मध्यमाञ्चलबाट सहभागी भइन्। त्यतिबेला चौथो स्थानमा रहँदै उनले दौड पुरा गरेकी थिइन्।
तर, यसपालि इटहरीमा सम्पन्न सातौंमा उनले खेलाडी मैत्री ट्रयाक नभएपनि सय मिटर र दुई सय मिटरमा १७ वर्षअघि नेपाल पुलिसकी देवीमाया पनेरुले राखेको राष्ट्रिय कीर्तिमान छेउछाउमा पुगेकी छिन्।

उनको दौडिने कला देखेपछि केही समय भित्रै उनले देवीमायाले सन् १९९९ काठमाडौंमा भएको आठौं साग गेममा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गर्ने आशा गरिएको छ।
‘करिब एक महिना चोटका कारण विश्राममा बस्नु नपरेको भए यसपालि नै राष्ट्रिय कीर्तिमान बनाउथे होला,’ नेपाल आर्मीकी २३ वर्षीय धाविकाले सेतोपाटीसँग भनिन्।

देवीमायाले आठौं साफमा सय मिटर दुरी १२ दशमलव १३ सेकेन्डमा पुरा गरेकी थिइन्। कृष्णाले प्रतिकूल अवस्थाका बाबजुद सातौंमा सय मिटर दुरी १३ दशमलव १६ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्।
यस्तै, देवीमायाले आठौं सागमा दुई सय मिटर दुरी २५ सेकेन्डमा पुरा गरेकी थिइन्। कृष्णाले २६ दशमलव ९० सेकेन्डमा पुरा गरिन्।

कृष्णाले यसपालि ४ गुना सय मिटर रिले ५२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। उनले ४ गुना ४ सय मिटर रिले पनि ४ मिनेट १४ दशमलव ७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्।

धनगढीको छैटौं बृहत राष्ट्रिय खेलकुदमा स्प्रिन्टमा कुनै मेडल जित्न नसकेपनि लङजम्पतर्फ उनले राष्ट्रिय च्याम्पियन नेपाल पुलिसकी केशरी चौधरीलाई स्तब्ध पारेकी थिइन्। त्यतिबेला उनले केशरीलाई दोस्रो स्थानमा धकल्दै स्वर्ण जितेकी थिइन्। उनको यो प्रदर्शनपछि नेपाल आर्मीले तत्कालै उनलाई अनुबन्धन गरेको थियो।

यसपालि लङजम्प र चार सय मिटर को दुवै स्पर्धामा उनले स्वर्ण जित्न सकिनन्। रजत मै चित्त बुझाउनु पर्यो। एक महिनाअघि काठमाडौंको दशरथ रंगशालामा लङजम्पको अभ्यास गर्ने क्रममा ’ल्यान्डिङ’ मा समस्या भएपछि उनको दाँहिने खुट्टाको ‘टेन्डन‘ हल्का क्रयाक भएको थियो। यसकारण चिकित्सकले उनको खुट्टामा प्लास्टर गरेर केही समय विश्राम गर्ने सुझाव दिएका थिए।

‘जम्प गर्दा खुट्टा दुख्ने कारण मैले राम्रो प्रदर्शन गर्न सकिन्,’ कृष्णाले भनिन्। उनी लङजम्पमा यसपालि केशरीसँग पराजित भएकी थिइन्। केशरीले लङजम्पमा ५ दशमलव ०५ मिटरको झलाङ लगाएकी थिइन्। कृष्णाले ४ दशमलव ९४ मिटरको दुरी तय गर्दै रजतमा चित्त बुझाउनु परेको थियो।

यस्तै उनी ४ सय मिटर दौडमा आफ्नै विभागकी संगीता मेचेसँग २ सेकेन्डभन्दा मूनीको समयमा पछि पर्दै स्वर्णबाट बञ्चित भइन्। मेचेले १ मिनेट शुन्य दुई दशमलव ७० सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितिन्। कृष्णाले १ मिनेट शुन्य ४ दशमलव ६० सेकेन्डमा दौड पुरा गरेकी थिइन्।

कृष्णाले १० महिनाअघि भारतको गुवाहाटीमा भएको १२ औं संस्करणको साग खेलकुदमा पहिलो पल्ट देशको प्रतिनिधित्व गरेकी थिइन्। उनले त्यतिबेला १ सय मिटर स्प्रिन्ट सातौं स्थानमा रहँदै पुरा गरेकी थिइन्। लङजम्पमा भने पाँचौ स्थान ओगट्न सफल भएकी थिइन्।

उनी तीन वर्षपछि नेपालमा आयोजना हुने भनिएको १३ औं साग गेमलाई अविस्मरणीय बनाउन चाहन्छिन्। उनको इच्छा छ, स्प्रिन्टमा भारत र श्रीलंकाको आधिपत्यलाई जसरी पनि तोड्ने। नेपालले साग गेममा स्प्रिन्टतर्फ अहिलेसम्म कुनै पदक जित्न सकेको छैन्।

सातौं बृहत राष्ट्रिय खेलकुदमा प्रतिकूल अवस्थामा पनि जसरी दौडिएर कृष्णाले सय र दुई मिटर स्प्रिन्टमा स्वर्ण जितिन्, यसले उनको प्रतिभा उजागर भएको छ। यसैले खेलकुद निकायले उनलाई विशेष अभ्यासको व्यवस्था मिलाएको खण्डमा आगामी साग गेममा उनले स्वर्ण र रजत नजितेपनि कास्य जितेर इतिहास रच्न सफल हुने प्रशिक्षकहरुको भनाई छ।

‘चोटका कारण ऊ एक महिना विश्राममा थिई। इटहरीको ट्रयाकको अवस्था पनि राम्रो थिएन्। यस्तो अवस्थामा पनि जुन समयमा ऊ दौडि, यसले उसको क्षमतालाई उजागर गरेको छ,’ एथलेटिक्सको मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत बहन गरिसकेका पूर्व ओलम्पियन पुष्पराज ओझा भन्छन्।

सातौंमा ४ वटा स्वर्ण जितेपछि कृष्णाको तारिफ चौतर्फी भइरहेको छ। तर, उनी एउटा कुरालाई लिएर फेरि असमञ्जसमा छिन्। त्यो के भने– साफको तयारीका लागि स्प्रिन्टमा बढि ध्यान दिने कि लङजम्पमा?

नवीन अर्याल/सेतोपाटी




Leave a Reply

Your email address will not be published. Required fields are marked *