केशरी चौधरीको ‘स्वर्ण’ ह्याट्रिक

ट्रिपलजम्पमा स्वर्ण जित्दै केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या तीन पुर्‍याइन् । १ सय १० मिटर हर्डल्समा भने उनी पहिलो हुन सकिनन् । ‘चोटका कारण पनि मैले ३ स्वर्ण जित्न सकेँ, त्यसमा म खुसी छु,’ नेपाल प्रहरीकी केशरीले भने, ‘चोटबाट निको भएपछि थोरै इभेन्टमा मात्र केन्द्रित भएर खेल्छु ।’

केशरीले ११.६७ मिटर उफ्रँदै व्यक्तिगत तेस्रो स्वर्ण जितेकी हुन् । ढाडको नसा च्यापिएकाले उनी पाँचौं पटक जम्प गर्न गइनन् । एपीएफकी शीला चौधरी १०.५५ र आर्मीकी संगीता मेचे १०.४१ मिटर उफ्रँदै क्रमश: दोस्रो र तेस्रो भए ।

शनिबार हाइजम्पमा स्वर्ण जित्दै केशरीले सातौं राष्ट्रिय खेलकुद सुरु गरेकी थिइन् । ‘विभागको पदकका लागि’ मात्र आफूले चोटका बाबजुद हाइजम्प खेलेको बताउँदै केशरीले भविष्यमा फेरि उक्त इभेन्टमा फर्कने सम्भावना कम रहेको जनाएकी दिइइन् । आइतबार लङजम्प पनि जितेकी केशरी हर्डल्समा भने सविता चौधरीसँग पराजित भइन् ।

केशरीको दु:खेसो यसैमा थियो । उनका अनुसार निर्धारित तालिकाअनुसार १ सय १० मिटर हर्डल्स सोमबार मात्र खेलाइने कार्यक्रम भए पनि आइतबार नै खेल्नुपरेको थियो । ‘रुटिन जुधाएर एकै पटक गराइएका कारण मेरो स्वर्ण पदक गुम्यो, यसमा गम्भीर आपत्ति छ,’ ट्रिपलजम्पको क्रममा पदक लिन पुग्नुपरेकी केशरीले भने, ‘तालिकाअनुसार गराइएको भए म सजिलै जित्थेँ ।’ धनगढीको छैटौं खेलकुदमा उनले २ स्वर्ण जितेकी थिइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *