थाकसको विद्यार्थी सभा गठन, विद्यार्थी समाजले डाक्यो सचिवालय बैठक

थारु कल्याणकारिणी सभा (थाकस)ले थारु विद्यार्थी सभा गठन गरेको छ। राजधानीमा आयोजित प्रथम भेलाले संजय चौधरीको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति बनाएको हो। सभाको प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। कार्यसमितिमा अधिकांश सदस्यहरु थारु विद्यार्थी समाजका रहेका छन्। विद्यार्थी समाजले विवाद मिलाउन भन्दै उपत्यका कमिटी खारेज गरेपछि संजय नेतृत्वको टोली रुस्ट बनेको थियो। जसका कारण उनीहरु थारु कल्याणकारिणी सभामा आबद्ध भएको बताइएको छ।

यता थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले सोहीबारे छलफल गर्न सचिवालय बैठक डाकेका छन्। समाजको विधानअनुसार केन्द्रीय सचिव प्रेमा चौधरी र केन्द्रीय सदस्य संजय चौधरीलाई स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए साधारण सदस्यसमेत नरहनेगरी हटाउन सकिने अध्यक्ष चौधरीले बताए।

यता लेखीले सभामा युवाहरुको सहभागितालाई मध्यनजर गरेर विद्यार्थी सभा गठन गरेको बताए। सभामा सबै क्षेत्रबाट युवाहरुको सहागिता अपरिहार्य रहेको उनले बताए। भेलामा सभाका प्रचार विभाग प्रमुख रामलाल चौधरी र थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीको पनि सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *