पूर्वाग्रही देख्ने सीतारामजीलाई मेरो जवाफ

किशोर चौधरी।
गत शनिबार थारु समुदायमा निकै लोकप्रिय अनलाइन समाचार पोर्टल ‘थारुवान डटकम’मा ‘माघीको नाममा फट्दैछन् थारु समुदाय’ नामक लेख लेखेको थिएँ। मेरो लेखमा या मलाई व्यक्तिगत रुपमा थारु विद्यार्थी समाजका कोषाध्यक्ष सीताराम चौधरीज्यूले देख्नुभएको पूर्वाग्रही चस्मा र लगाएको आरोपलाई खण्डन गर्दै प्रष्ट्याउन जमर्को गर्दैछु । सर्वप्रथम त धन्यवाद सीतारामजी गलतै सही मेरो लेखलाई तपाईँको आँखाले देख्न सक्यो। मेरो लेखलाई तपाईँजस्तै कैयन युवाहरुले थारुवान डटकममा नियाल्नुभएको छ। कतिले राम्रा भन्यो कतिले नराम्रो आफ्नो विचार राख्न स्वतन्त्र छ यसमा मलाई भन्नु केही छैन। तर मलाई दुःख लागेको छ तपाईँजस्तो होनहार युवाले मेरो लेखलाई सही तरिकाले बुझ्न सक्नुभएन, सही विचार र तर्कबाट खण्डन गर्न सक्नुभएन जो आफैँमा लज्जाबोध भएको छ। सामान्य कुरालाई सामान्यरुपमा नलिएर ठूलै सम्झिएर टुप्पोमा पुर्याउन खोजेको देख्दा हासो पनि उठिराखेको छ। मैले उठाएको कुरालाई कतै नछोइकन अपरिपक्व खण्डन गरेको देख्दा दया लागेको छ तपाईँप्रति। सार्वजनिकरुपमा व्यक्तिगत चरित्रमाथि धावा बोल्दा जोकोहीलाई खल्लो महसुस हुन्छ यही मानवीय चरित्र हो। हिजो तपाईँ आबद्ध संस्थाको कमी कमजोरीलाई औँल्याउँदा तपाईँलाई खल्लो महसुस भएको थियो त्यो स्वभाविक हो। लागेको आरोप खण्डन गर्नु तपाईँको उत्तरदायित्व हो म राम्रोसँग बुझेको छु। लागेको आरोप प्रस्ट्याउनको साटो मेरो व्यक्तिगत र पेसामाथि औँला उठाउनु असोभनीय देखिएको छ सीतारामजी।

पत्रकारिता मेरो पेसा हो। कलम चलाउनु मेरो धर्म हो। यही पेसालाई अंगाल्दै आफ्नो रोजीरोटी जोडेको छु। पत्रकार हुँ भन्दैमा आजसम्म म यस्तो तँ त्यस्तो, म त्यस्तो तँ उस्तो भनेर धाक लगाएको छैन। बस आफ्नो सीमाभित्र बाँधिएर बसेको छु नकि विनासिती कसैमाथि आरोप प्रत्यारोप लगाउँदैछु। अरुको आँखाले देखेर होइन, अरुको कानले सुनेर होइन आफ्नै आँखा र कानको भरमा परेको छु जो मसँग छ। १० वर्ष पत्रकारिताको दौरानमा कसैको उस्काहट र लहैलहैमा होइन सत्य, तथ्यको पछि कुदेको छु र माघीको नाममा फुट्दैछन् थारु समुदाय लेख पनि यसैको उपज हो नकि यो लेखमा बढाईचढाई र पूर्वाग्रही भएर लेखेको छु।

प्रसंग जोडौ सीतारामजीको पूर्वाग्रही प्रश्नमा। म पत्रकार हुँ कसैको गुलाम होइन जो थारु कल्याणकारिणी सभाको पक्ष र थारु विद्यार्थी समाजको विपक्षमा उभिनलाई। मेरो लेखमा खण्डण गर्नसक्नेले लेखको सम्पूर्ण पाटोलाई गहिरो अध्ययन गर्नु पर्थ्यो तर त्यो देखिएन। अपरिपक्व विचार र खण्डनको कुनै तुक देखिएन। मेरो लेखलाई सुरुवात गर्दा मैले थारु कल्याणकारिणी सभाको थोरै पृष्ठभूमि जोडेको छु। प्रमुख राजनीतिक घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसँग तुलना गरे त्यसलाई गम्भिर अध्ययन गर्न सक्नुभएन त्यसको लागि फेरि त्यो लेख पढ्न सुझाव दिन्छु। कुन ठाउँमा मैले थारु कल्याणकारिणी सभाको गुणगान गाएको छु त्यो पत्ता लगाउनुस्। माघीको नाममा फुट्दैछन् भन्दा तपाईँलाई अपाच्य भयो र यो होइन भन्नुभयो। तर विगत १२ वर्षदेखि राजधानीमा बसेर १० वर्षदेखि नेपाली पत्रकारितामा सरिक छु। राजधानीमा बस्ने थारु समुदायको गतिविधि नजिकबाट नियाल्दै पनि आएको छु। थारु समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा दुई तीन वर्ष अगाडि पनि सरिक भएको थिएँ र अहिले पनि हुँदै आएको छु। दुई तीन वर्ष अगाडिको कार्यक्रममा पूर्व पश्चिम सबै ठाउँका थारु समुदायको एउटै छानामुनि भेट्न पाइन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ। गत वर्ष माघी दुई समूहमा विभाजन भएपछि अहिले माघीमात्रै होइन गोष्ठी, सभा, सेमिनारको नाममा एकातिर पूर्वेली भनेको छ, अर्कातिर पश्चिमेलि भनेको छ। गुट उपगुट बनाएको छ। पूर्वका थारुले गर्ने कार्यक्रममा पश्चिमेली नजाने पश्चिमेलीको कार्यक्रममा पूर्वेली नजाने। यसलाई जुट भन्न मिल्दैन फुटतिर लम्किदै भन्दा फरक पर्दैन। भलै अरुपनि कारण होला तर यो पनि एउटा कारण हो। अहिलेको तीतो तर यथार्थ यही हो सीतारामजी।

मैले थारु कल्याणकारिणी सभाको नेतृत्वमा हुँदैआएको छ भनेको छु नकि थाकसको एकलौटि। अलिक हड्बडाएर पढेर खण्डन गर्नुको साटो व्यापक अध्ययन गरेर खण्डन गरेको भए सबैले बुझ्ने थिए। सीतारामजी तपाईँजस्तो व्यक्तिले शब्द शब्दमा भिजेर प्रतिवाद गर्दा राम्रो हुन्थ्यो।

मैले आर्थिक पार्दर्शिता, जिम्मेवारी बाँडफाडलगायत कुनै पनि बुँदामा असहमति जनाएको होइन र सहमति भए खुट्टा तान्ने पनि थिइन् होला। तर आज आफैँ आफैँमा गुट उपगुट बनाएर फुटेको देख्दा खल्लो महसुस हुन्छ। तपाईँलाई मेरो लेख चिया गफजस्तो लाग्यो यसमा मेरो भन्नु केही छैन। तर यथार्थ यही हो जो तपाईँलाई पचेन।

प्रसंग जोडौं थारु विद्यार्थी समाजको नैतिकता जुन कुरालाई तपाईँले प्राविधिक कमजोरी भन्दै पन्छिन् खोज्नुभएको छ। वास्तविकता भन्नुपर्थ्यो हो थारु विद्यार्थी विगत एक दशकभन्दा बढी समयदेखि वैधानिक संस्था होइन भनेर किन पन्छिनुभयो सीतारामजी? आखिर नवीकरण त नभएकै हो नि। नवीकरण नभएको भन्दा चित्त दुख्दो रहेछ है सीतारामजी? विगत १० वर्षभन्दा बढी समयदेखि नीकरण नगर्ने अनि मैले तपाईँको संस्था अवैधानिक होइन वैधानिक भनदिनुपर्ने हो सीतारामजी? १० वर्षदेखि संस्थाको नवीकरण गर्न नसक्ने अनि सधैँ जीवितै हुन्छ ठान्ने उसले गर्ने सबै क्रियाकलाप कसरी वैधानिक भयो सीतारामजी? यो कुरा तपाईँको खण्डनमा प्रष्ट देखिएन जो आफैँमा गौण देखियो। नवीकरण नगरेको १० वर्षभन्दा बढी भइसक्दा पनि तपाईँको संस्था वैधानिक हुन्छ होइन सीतारामजी ? अनि उसले गर्ने कार्य वैधानिक हुन्छ हो सीताराम जी ? यो भनिरहदा मलाई कुनै पश्चताप छैन् नभएको लाल्छना लगाएको पनि छैन सीताराम जी । यथार्थ तितो हुन्छ भन्थ्यो हो रहेछ ।

मैले थारु विद्यार्थीको ईतिहास खोज्ने चेष्टा गरेको छैन । उसले विगतको दिनमा आफ्नो समुदायका लागि काम गरेको छैन भन्न पनि खोजेको छैन मेरो लेखमा सीताराम जी । यो देशमा धेरै नेताहरु विद्यार्थी संघसंस्थाले नै जन्माएका छन् मलाई पनि राम्रोसंग थाहा छ । देशको नेतृत्व गर्ने एक से एक प्रमुख नेताहरुको जन्मदाता विद्यार्थी संघसंस्था नै हुन् । उदाहरण दिई राख्नुपर्दैन होला ।

तपाई कैयन संस्थामा आबद्ध हुनुहुन्छ मलाई थाहा छ। तर तपाईँलाई संस्थाको नीति नियम विधान थाहा नभएजस्तो बुझ पचाउन खोज्नु हुन्छ। होइन भने मैले उठाएको मुद्दा हेरे हुन्छ। यो माग कतिको जायज छ किन खण्डनमा यो कुरालाई छुनु भएन? म पनि पहिलो, दोस्रो र तेस्रो संयुक्त माघी भेलामा सहभागी भएको छु। आखिर सहमति त यिनै बुँदामा नभएको हो नि।

प्रस्ताव नं.१ चक्रप्रणाली अर्थात् थाकस उपत्यका समितिले यस वर्ष मनाउँछ भने अर्को वर्ष विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने, अन्यलाई पनि।
प्रस्ताव नं.२ प्रस्ताव नं.१ स्वीकार्य नभए केन्द्रीय समितिलाई जिम्मा दिने।
प्रस्ताव नं.३ संयुक्त बैंक खाता खोल्ने, त्यसमा विद्यार्थी लगायत अरु संघसंस्थाको प्रतिनिधि राख्नुपर्ने ।

के यी मागहरु जायज हुन्? कुन आधारमा जायज देख्नुभयो सीतारामजी? तपाईँले कुन चस्माले देख्दै हुनुहुन्छ यो माग जायज हो भनेर। तपाईँ नेतृत्व गर्ने संस्थामाथि कुनै संस्थाले यी मागहरु तेर्सायो भने तपाई सहजै स्वीकार्नु हुन्छ? हो यी मागहरु ठाडो हस्तक्षेपबाहेक अरु केही हुन सक्दैन। मैले पूर्वाग्रही चस्मा लगाएर होइन, मेरो तन, मन, बचन लगाएर भनेको हो यी प्रस्ताव कुनै हालतमा जायज हुन सक्दैनन्।

रह्यो कुरा थारु कल्याणकारिणी सभाको पृष्ठपोषण गरेको र थारु विद्यार्थी समाजलाई बनावटि आरोप लगाएको। सीतारामजी थारु कल्याणकारिणी सभाको पृष्ठपोषण गर्नुपर्ने मलाई कुनै जरुरी छैन। न मलाई एक छाक खान दिएको छ न एक सरो लुगा नै अनि उसको पक्ष र थाविसको विपक्ष किन लिनुपर्ने मैले। किशोरले थाकसको पैसा खाएको छ भन्ने प्रमाणित गर्नुस् पत्रकारिता पेसा छोड्न तयार छु। मनगढन्ते, बनावटि र पूर्वाग्रही चस्माले कसैलाई देखेको छैन। तपाईँलाई पनि पूर्वाग्रही देखेको होइन मैले। तर तपाईँले दिइएको सबबालको जवाफ दिइएको मात्रै हो। यसलाई अन्यथा नलिदिनु हुन पनि विनम्र अनुरोध छ।

अन्त्यमा, म सधैँ गलत प्रवृतिको विरोध गरेको छु र गरिरहने छु। थारु समुदायमा देखिएको गलत प्रवृतिप्रति मेरो सधैँ प्रहार हुनेछ नकि पृष्ठपोषण गरेर राख्ने। मेरो चाहना र उद्देश्य फुटाउने होइन जुटाउने हो, टुटाउने होइन जोड्ने हो। यसर्थ मेरो आग्रह छ सबै थारु समुदायमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने सबै थारु एक हौं। सबैको यसैमा भलाई छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *