जेलबाटै गच्छदार नेतृत्वको पार्टी परित्याग गरेको लक्ष्मण थारूको घोषणा

लखन चौधरी/धनगढी।

थरुहट नेता लक्ष्मण थारुले विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट राजीनामा दिएका छन्। फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका नेता थारुले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि जेल जीवन बिताउँदै आएका उनी स्वतन्त्ररुपमा जीवनयापन गर्नका लागि राजीनामा दिएको जानकारी दिएका छन्। यद्यपि उनले आफूहरुलाई पार्टीले पूर्णरुपमा उपेक्षा गरेकोले पनि राजीनामा दिएको खुलासा गरेका छन्।

आजै (सोमबार) फोरम लोकतान्त्रिक पार्टीलाई पनि फ्याक्स गरी राजीनामाबारे जानकारी गराएको नेता थारुले जानकारी दिए। उनले फोरम लोकन्त्रिक परित्यागपश्चात आफ्नो कुनै राजनीतिक दलमा प्रवेश गर्ने योजना नरहेको सुनाए। ‘जेलभित्र बसेर कुनै पनि राजनीतिक दलमा रहनु मलाई उचित लागेन, स्वतन्त्र रुपमा रहन चाहान्छु’, उनले भने।

त्यस्तै, उनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ– ‘दुखद टीकापुर घटनाको बनावटी झुटा मुद्दामा विगत १६ महिनादेखि कैलाली कारागारमा छु, त्यसै आरोपका अन्य २२ जना पनि यसै कारागारमा छन्। सम्मानित अदालतले न्याय दिनेमा आशावादी छौं।’

विज्ञप्तीमार्फत् थरुहट नेता थारुले शान्तिपूर्ण थरुहट आन्दोलनले सफलता पाउनेमा कुनै दुई मत नरहेको बताएका छन्। आफूहरु निर्दोष रहेको, देशलाई विखण्डन नचाहेको, जातीय सदभाव विगार्ने, दंगा भड्काउने काम नगरेको तथा नचाहेकाले सफलता मिल्नेमा विश्वास व्यक्त गरेका छन्। तर लामो समयको दासत्वको पीडा सहन तयार नरहेको अडान राख्दै राजनीतिक, आर्थिक, सामाजिक, कानसनी र संवैधानिक अधिकार प्राप्तीको लागि शान्तिपूर्ण आन्दोलनमा लाग्न आमनागरिकलाई अपिल समेत उनले गरेका छन्।

नेता थारुलाई ०७२ भाद्र २२ गते भैरहवाबाट पक्राउ गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *