यसकारण दमदार हुन्छ हाम्रो माघी महोत्सव : संयोजक चन्द्रप्रसाद चौधरी

थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी राजधानीमा मनाइने माघी महोत्सव मूल आयोजक समितिको संयोजक हुन्। उनीसँग माघी महोत्सवमा देखिएको विवाद र माघी महोत्सवको तयारीबारे थारुवानले गरेको कुराकानी पढ्नुस्।

यस वर्ष पनि माघी दुई ठाउँमा मनाउने सुनिएको छ नि ?
हो, अहिलेसम्म दुई ठाउँमा माघी महोत्सव हुने कुरा छ। यो अवस्था आउनुका केही कारकतत्वहरु छन्। केही सामन्ति सोँच र प्रवृत्ति भएका ब्यक्तिहरुका कारण यसपटक पनि माघी दुई ठाउँमा हुने देखिएको छ। ती ब्यक्तिहरुले हठ छाडेर सहमति गर्न आउँछ भने हाम्रो ढोका हरदम खुल्ला रहनेछ। हामी माघी सँगै गर्न तयार छौं। तर माघी दुई ठाउँमा गरेर केही बिग्रिन्छजस्तो मलाई लाग्दैन। किनकि यो साँस्कृतिक महोत्सव हो। आन्दोलन होइन। आन्दोलनको अगुवाई गर्ने थारु कल्याणकारिणी सभाले त सबै दल र संस्थाको नेतृत्व लिन सकिरहेको छैन। साँस्कृतिक महोत्सवमा फुट ल्यायो भनेर हल्ला फिजाउँनुको कुनै तुक देख्दिनँ। आफूलाई माउँ संस्था दाबी गर्छ भने उसले २० लाख थारुलाई समान ब्यवाहर गर्न सिक्नपर्छ। त्यही ब्यवहारका कारण हामीले छुट्टै माघी महोत्सवको घोषणा गरेका हौं।

तपाईँहरु के एजेण्डा प्रस्तुत गर्नुभयो र उहाँहरले मान्नु भएन? 
१. माघी महोत्सव थाकको केन्द्रीय कार्यसमितिले संयोजन गर्नुपर्छ।

जहाँ कोही पदाधिकारीलाई सेरोमोनियल संयोजक बनाएर उपत्यका समिति र युवा विद्यार्थीलाई कामको जिम्मेवारी दिन सक्थ्यो। तर थाकसले सेरोमोनियल संयोजक लिन पनि तयार छैन। विवाद मिलाउनुको सट्टा एउटै ब्यक्तिको पछाडि लागेको छ। पूरा संस्था नै एउटा ब्यक्तिको पछाडि लाग्नु कतिको जायज कुरा हो? माउ भनाउँदा संस्थाभन्दा त यहाँ ब्यक्ति प्रधान भएको स्पष्ट देखिन्छ।

२. हिसाब किताबमा पारदर्शिता र माघी महोत्सवको संयुक्तरुपमा खाता खोल्नुपर्छ।

विगत चार पाँच वर्षको खर्च विवरण हेर्नुस् अचाकली खर्च भएको भेट्न सक्नुहुन्छ। थाकस उपत्यकाले माघी महोत्सव मनाउन ११-१२ लाख खर्च गरेको देखियो। जबकि विरोधका बावजुद गरिएको गत वर्षको माघीमा त्यही थाकस उपत्यकाले जम्मा ७ लाख मोटामोटीमा खर्चमा समापन गर्‍यो। भनेसी विगतमा वर्षमा भएका ४-५ लाख कहाँ गए? यसको उत्तर थाकस उपत्यकाले दिनुपर्छ कि पर्दैन? यो अनियमितता होइन भने के हो?
३. सबै संघसंस्थालाई जिम्मेवारी दिनुपर्यो।

माघी महोत्सव थाकस उपत्यकाको ठेकेदारी होइन। माघी महोत्सव ऊ एक्लैले गर्दै आएको पनि होइन। ठीक छ हाम्रो माउसंस्था हो, उप्रतिको जिम्मेवारी हामीले बहन गर्नुपर्छ। तर सबै जिम्मा आफैँले लिने, कामचाहिँ युवा विद्यार्थीले गर्नुपर्ने? थाकस उपत्यकाको ठेगेदारी प्रवृत्ति हटाउन जरुरी छ। सबैलाई जिम्मेवारी दिनुपर्छ।

यी यावत कुरामा तपाईँहरुको सहमति भइसकेको थियो रे त?
कसले भन्यो सहमति भयो। कसैले सहमति भएको कुरा दाबी गर्छ भने त्यो झुटको प्रचारबाहेक केही होइन। नाइटिङ्गेल स्कुलमा हाम्रो सहभागितामा मिलन बैठक आयोजना भएको थियो। हामीले मिल्ने आधारहरु धेरै अघि सारेका पनि थियौं। उपस्थित मान्छेहरु हाम्रो कुरामा सहमत जनाएपनि थाकस पदाधिकारीहरु हाम्रो एजेन्डाभन्दा पनि आफ्नो कामको तारिफ गरेर बसे। हामीले आफ्नो उपस्थिति माइनुटिङमा जनाएका हौं। त्यसैलाई कसैले सहमतिको नाम दिन्छ भने त्यो झुटको खेतीबाहेक केही होइन।

एक महिना अझै बाँकी छ मिल्ने सम्भावना कतिको छ । के भयो भने मिल्नु हुन्छ ?
एक महिना त धेरै भयो। मिल्नलाई एक महिना चाहिँदैन एक घण्टामा मिल्न सकिन्छ। तर मिल्न हामी होइन उहाँहरु चाहनुभएको छैन।उहाँहरुले यति बुझ्नुपरो कि गतवर्ष दुई ठाउँमा माघी किन भयो? त्यति मनन गरेर मिल्ने मनसाय बनाउनुभयो भने भोलि नै हामी ताली पिटेर मिल्छौं। मिल्ने आधार हामीले माथि नै भनिहाल्यौं।

अनि तपाईँहरुको माघीलाई त अवैधानिक भनिरहेका छन् नि। 

थारु विद्यार्थी समाजमा धेरै कुरा मिलेको थिएन। जसका कारण बेलैमा रिन्यु हुन सकेन मान्छु। तर माघीमा थारु विद्यार्थी समाजमात्र छ र? २७ संस्थाको अगाडि एउटाको गल्ती देखाएर हुन्छ? त्यस्तै सक्रिय थाकस छ भने उसले अहिलेसम्म किन रिन्यु गर्न सकेको छैन? आफूलाई थाकसको जिम्मवार ठान्नेहरु पहिला आफू सच्चिएर देखाउ। अनि अर्कालाई आरोप लगाउन मिल्छ। जानकारीको लागि थारु विद्यार्थी समाजको दर्ता प्रसोस सुरु भइसकेकाले यसमा विवाद खडा नगर्न सबैसँग आग्रह छ।

कति वटा संस्था छ, तपाईँहरुको माघीमा ?
राष्ट्रिय माघी महोत्सव मनाउन हामीसँग २७ वटा संस्था आबद्ध भएका छन्। यो बढ्नेक्रम पनि जारी छ। कोही आएर समन्वय गर्न चाहन्छ भने उनीहरुका लागि पनि हाम्रो ढोका सधैंलाई खुल्ला छ।

उसो भए यस वर्ष तपाईँहरुका माघीमा के कस्ता कार्यक्रम आयोजना हुँदैछ?
यस वर्ष हामीले फरक फरक किसिमका कार्यक्रमहरु गर्दैछौं। हामीले सकभर यसवर्ष तीन दिन माघी मनाउने तयारी गरेका छौं। पुस २९ गते देखि माघ २ गतेसम्म कार्यक्रम गर्ने योजना छ। जसमा मोटरसाइकल र्‍याली, जीता मर्नादेखि रक्तदानसम्मका कार्यक्रम आयोजना हुनेछ। साँस्कृति कार्यक्रमदेखि बौद्धिक बहससम्मका कार्यक्रम आयोजना गर्ने तयारी हाम्रो छ। र, छुटाउनै नपर्ने कुरा यसवर्ष पनि हामीले माघीलाई आन्दोलनको रुपमै मनाउने निर्णय गरेका छौं।

थारु कल्याणकारिणी सभा भन्दा फरक के छ? 
यसवर्ष माघीमा हामीले नयाँ कार्यक्रमहरु पनि अघि सारेका छौं। जस्तै: माघीबाट उब्रेको रकम थारु समुदायको काठमाडौंमा आफ्नै भवन निर्माणमा केही रकम जम्मा गर्ने। गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नका लागि केही रकम छुट्याइने। आर्थिकरुपले कमजोर भएकाहरुका लागि औषधोपचारका निम्ति केही रकम छुट्याइने। थारु समुदायको भाषा, कला तथा साँस्कृति प्रवर्द्धन गर्नका लागि केही रकम छुट्याइने। प्राकृतिक विपत्ति तथा भैपरी आउने जोखिमका निम्ति चाहिने रिलिफ फण्डका लागि केही रकम छुट्याइने। थारु समुदायलाई योगदान दिएका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई दोसल्ला ओढाई नगदसहित सम्मान प्रदान गर्ने योजना बनाएका छौं।

आयस्रोत कहाँबाट जुटाउन हुन्छ ?
धेरै राम्रो प्रश्न सोध्नुभयो। जुनसुकै काम पनि आर्थिक बिना सम्भव हुँदैन।  गत वर्ष चार दिनको तयारीमा गर्नुपरेकाले घाटा व्यवहोर्नुपर्‍यो। हामीले आफ्नो गोजीबाट पैसा हालेर कार्यक्रम गर्‍यौ। तर यसवर्ष हामीसँग अझै महिना दिन बाँकी छ। जसका लागि हाम्रो टिमले दिनरात काम गरिरहेको छ। आर्थिक जोहो गर्न करपोरेट हाउसदेखि कलकारखाना र विभिन्न संघसंस्था धाइरहनुभएको छ। सबैको साथसमर्थन रहेकाले यस वर्ष गतवर्षभन्दा पनि भब्य सभ्य माघी महोत्सव आयोजना हुनेमा हामी विश्वस्त छौं।

प्रमुख अतिथि कसलाई बनाउँदै हुनुहुन्छ ?
हामीले प्रमुख अतिथि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूलाई बोलाउने निर्णय गरेका छौं।

दुई ठाउँमा हुने भएपछि कति दर्शक आउँलाजस्तो अपेक्षा गर्नु भएको छ?
राजधानीमा दुई ठाउँमा भए पनि हामीले राम्रै दर्शकको अपेक्षा गरेका छौं। फरक तरिकाले मनाउने भएकाले गतवर्ष भन्दा बढी दर्शकको अपेक्षा गरेको छौं। महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको पनि भब्य प्रस्तुती रहने भएकाले दर्शक उल्लेख्यमात्रा सहभागी बन्नुहुन्छ भन्ने विश्वास छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *