माघीको नाममा फुटदैछन् थारु समुदाय [विचार]

किशाेर चााैैधरी।

थारु समुदायको हकहित र अधिकारको वकालत गर्ने थारुहरुको छाता संगठन अर्थात् थारु कल्याणकारिणी सभा वि.सं. २००५ सालमा स्थापना भएको थियो। तुलना नै गर्ने हो भने वर्तमान नेपाली राजनीतिका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उमेर भन्दा पाको संस्था हो थारु कल्याणकारणी सभा। तर यिनै पार्टीले कैयनपटक देशको बागडोर सम्हालेकाछन् र सम्हाल्दैछन् पनि। यी पार्टीहरुसँग थारु कल्याणकारिणी सभासँग तुलना गर्नु मेरो मुर्ख्याई सिवाय केही हुनेछैन्। म तुलना गर्ने दुस्सहास पनि गर्दिन। हो ती पार्टीहरुको ऐजेन्डा फरक छ उसले सिंगो देश हाक्ने तागत राख्छ र उसले देशमा भएका सम्पूर्ण जनतालाई समेटेर अगाडि बढ्ने क्षमता राख्छ। तर जेठो संस्था कहलिएका थारु कल्याणकारणी सभा त्यो क्षमता राख्दैन। उसले राख्छ त केवल थारु समुदायको हक, हित र अधिकारको लागि बस यति। अर्थात् थारु समुदायका लागिमात्र। तैपनि पूरा गर्न सकेको छैन हक र अधिकार। अझै कल्पिराखेको छ हक अधिकारको लागि। अझै लडिराखेको छ पहिचानको लागि। अझै गोली खाँदैछ आफ्नो अस्तित्व बचाउनको लागि। अनि म किन तुलना गर्ने ती कान्छो संगठन कांग्रेस, एमाले, माओवादीसँग।

वि.सं. २००५ सालदेखि २०७३ सालमा आउँदा अर्थात् ६८ वर्षको दौरानमा उसले आफ्नो समुदायका लागि के गर्यो के गरेन, को कहाँ पुग्यो कसले कतिचोटि देशलाई बलात्कार गर्यो त्यसतर्फ जान चाहन्न। तर म यो भन्छु थारु समुदाय कहाँ छ कुन स्थितिमा छ बस यति। तिमी यो गरेनौँ, त्यो गरेनौँतर्फ म जान चाहन्न। मैलै माथि उल्लेख गरिसके बुझ्नेलाई त्यही काफी छ मलाई लाग्छ। हुन त मैलै मेरो लेखमा थारु कल्याणकारिणी सभालाई घचेट्न खोजेको होइन। तर मेरो लेखमा थाकसको कुरा जोडिन भने त्यो अधुरो नै सावित हुनेछ। मैले माघीको नाममा फुट्दैछ थारु समुदाय विषयक लेख लेख्दै गर्दा आफैँलाई खल्लो महसुस भइराखेको छ तर लेख्नु मेरो धर्म हो पेसा हो। यथार्थ कुरा लुकाएर लुकिँदैन पनि। हो, यतिबेला घामजस्तै छर्लङ्ग भएको छ थारु समुदायमा देखिएको दरार।

भनिराख्नु परोइन, विगत १२ वर्षदेखि राजधानीमा बसोबास गर्ने थारु समुदायका लागि र काम विशेषले घर जान नपाएका थारु समुदायका लागि थारु कल्याणकारिणी सभा उपत्यका समितिले राजधानीमै माघी महोत्सवको आयोजना गर्दै आएको छ। थाकस उपत्यका समितिका तात्कालीन अध्यक्ष प्रेमीलाल चौधरीको संयोजकत्वमा सुरु भएको माघी एउटा बन्दकोठाबाट सुरु भएको थियो। तर समयक्रमसँगै माघीलाई थाकस उपत्यका समितिले बृहत् र विस्तारितरुपमा केही वर्षदेखि बनाउँदै आएको छ। पर्यटन बोर्डको हलदेखि आज खुल्लामञ्च, टुडिखेल र दशरथ रंगशालासम्म पुगेको छ। थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले उपत्यका समितिलाई जिम्मा दिएसँगै उपत्यका समितिले राजधानीमा माघी महोत्सवको आयोजना गर्दैआएको छ। उपत्यका समिति सम्हालेका प्रेमीलाल र अहिले उपत्यका समितिका अध्यक्ष सत्यनाराण चौधरी सुमनको नेतृतवमा माघी महोत्सवको आयोजना गर्दै आएको छ।

गतवर्ष सुमनको नेतृत्वले आर्थिक हिनामिना भएको र हिसाब किताब पार्दर्शी नभएको भन्दै केही युवाहरु सुमनको नेतृत्वमाथि औँला उठाएको थियो। हो, आर्थिक हिनामिना भयो र पार्दशिता अपनाउनुपर्छ भन्नु युवाहरुको कुतर्क हो भन्न खोजेको होइन। यहाँसम्म म पनि क्लियर छु। यही कुरा र अन्य कुरामा विवाद चुलिएपछि माघी महोत्सव गत वर्ष २ ठाउँमा मनाएका थिए। यसलाई पनि मैले अन्यथारुपमा लिएको छैन। तर जब यो वर्ष फेरि सबै मिलेर माघी गर्नुपर्छ भन्ने प्रस्ताव थारु कल्याणकारणी सभा उपत्यका समितिले ल्यायो त्यसपछि थारु विद्यार्थी समाजले अनेकौं प्रस्ताव अघि सारे जो आफैँमा नाजायज प्रस्ताव छ। मानौं थारु कल्याणकारिणी सभा उपत्यका समितिलाई थारु विद्यार्थी समाजले चलाउनेजस्तो। देखियो पनि त्यस्तै। थारु विद्यार्थी समाजको प्रस्ताव यस्तो छ जसमा सहमति जुट्न सकेन।

प्रस्ताव नं.१ चक्रप्रणाली अर्थात् थाकस उपत्यका समितिले यस वर्ष मनाउँछ भने अर्को वर्ष विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने, अन्यलाई पनि।
प्रस्ताव नं.२ प्रस्ताव नं.१ स्वीकार्य नभए केन्द्रीय समितिलाई जिम्मा दिने।
प्रस्ताव नं.३ संयुक्त बैंक खाता खोल्ने, त्यसमा विद्यार्थी लगायत अरु संघसंस्थाको प्रतिनिधि राख्नुपर्ने।

यी बुदाँहरुमा थारु विद्यार्थी समाजले रटानमा रटान लगाएर अगाडि बढेपछि सहमति नभएकै हो। मैले थारु कल्याणकारिणी सभा उपत्यका समिति या सुमनको पक्ष लिएर यो लेख लेखेको होइन। थारु कल्याणकारिणी सभा उपत्यका समिति र सुमनसँग मेरो गोरु बेचेको साइनो पनि छैन। न कसैको २ रुपैया चाहिएको छ, न कसैको गोडा नै मोल्नु परेको छ। बस सधैँ यथार्थको पछि कुदेको छु र कुदिरहने छु पनि।

मलाई लाग्छ थारु विद्यार्थी समाजले अघि सारेको यी बुँदा कुनै दृष्टिले जायज छैन। जायज यो मानेमा छैन कि थारु कल्याणकारिणी सभा केन्द्रीय समिति र उपत्यका समिति जिल्ला समिति एउटै संस्था हो। कार्यविभाजन अथवा जिम्मेवारी बाँडफाड गर्दा पनि आफैँमा गर्ने हो। भोटिङराइट पनि यिनैमा हुन्छ न कि थारु विद्यार्थी समाजलाई भोटिङराइट छ। भनेपछि थारु कल्याणकारिणी सभा उपत्यका समितिमा थारु विद्यार्थी समाजको हस्तक्षेप किन? केन्द्रीय समितिले उपत्यका समितिलाई जिम्मा दिएको जिम्मेबारी फेरि केन्द्रीय समितिलाई फिर्ता गर भन्ने अधिकार कहाँबाट आयो थाविसलाई? संयुक्त बैंक खाता खोल यसमा हामीलाई पनि सहभागिता गर्नुपर्छ भन्ने अधिकार कस्ले दियो थाविसलाई? न थारु विद्यार्थी समाज अहिलेको आधिकारीक संस्था हो। नवीकरण नभएकै १ दशकभन्दा बढी भइसकेको छ थारु विद्यार्थी समाजको। अनि हुँदै नभएको संस्थाको नाममा राजनीति गर्नु कतिको जायज हो? आज थारु समुदायलाई ती संस्थाले छिन्न भिन्न पार्दैछन्। चाहे माघीको नाममा होस् या अन्य कुनै गोष्ठी, सभा, सेमिनारको नाममा अहिले एकातिर पूर्वेली भनेको छ अर्कातिर पश्चिमेलि भनेको छ। गुट उपगुट बनाएको छ पूर्वको थारुले गर्ने कार्यक्रममा पश्चिमेली नजाने पश्चिमेलीको कार्यक्रममा पूर्वेली नजाने। अहिलेको तीतो तर अथार्थ यही हो।

थारु समुदायको हक अधिकारको लागि नारा घन्काएर मात्रै हुँदैन। त्यसका लागि सबै उठ्नुपर्छ, जुट्नुपर्छ, हातमा हात राखेर काँधमा काँध राखेर होस्टेमा हैसे गर्दै अगाडि बढ्नुपर्छ यतिबेला न कि माघीको नाममा जस्तै गुट बनाएर। थाकस उपत्यका समितिले आर्थिक पार्दशिता कसरी हुन्छ ल जाउ हामी तयार छौं। अझ सरकारले दिने पैसा चलाउँदै नचलाउ र थाकसको भवन बनाउनका लागि जम्मा गरौं त भनेकै हो। जिम्मेबारी बाँडफाडमा पनि कसरी हुन्छ मिलाएर जाउ भनेकै हो। फेरि थारु विद्यार्थी समाजले मेरो गोरुको बाह्रै टक्का भनेर अड्डी कस्नु जायज हो? एकताको लागि कुनै भूमिका खेल्न नसक्ने थारु विद्यार्थी समाजले थारुको हकहित र अधिकारको लागि लड्छु भन्नु हास्यास्पद कुराबाहेक अरु के हुनसक्छ? आफ्नो आङमा जुम्रा नदेख्ने अरुको आङमा भैँसी देख्ने थाविसलाई पाठ कस्ले सिकाउने हो खोइ कुन्नी?

लेखक थारु पत्रकार संघ नेपालका सदस्य हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *