कैलाली, कञ्चनपुरका थारुको मागलाई सम्बोधन गर्नुपर्छ : गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।

उनले संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्ने भएकाले सीमाङ्कनलगायतका विषयमा संविधान संशोधन गरी स्थानीय निकायको निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, “संविधान संशोधन गर्नु नै छ भने कैलाली, कञ्चनपुरको थारुको मागलाई सम्बोधन गर्नुका साथै पूर्वका सतार र राजवंशीको पहिचानलाई पहिचान कायम गरी अलग्गै प्रदेश निर्माण गर्नुपर्दछ ।”

उनले संविधान जारी हुनु अगावैदेखि मुख्य तीन दलको प्रष्ट धारणा नआएको र यतिखेर पनि यी दलहरुले दोहोरो भूमिका खेलिरहेको आरोप लगाए ।

नेकपा (एमाले)ले संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा उनले लोकतान्त्रिक मुलुकमा आफ्ना माग राखेर गरिएका संसद् अवरुद्धलाई अन्यथा लिनु नपर्ने विचार प्रकट गरे । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *