भारोत्तोलनमा थारू किशोरीको वर्चश्व

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, कैलाली, सुर्खेत र दाङका गरी २७ महिला खेलाडी सहभागी छन् । ४८ किलो तौल समूहतर्फ प्रथम भएकी बाँकेकी सन्जु चौधरी राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पर्न सफल भइन् । उनले १ सय १२ किलोको कीर्तिमान कायम गरी स्वर्ण पदक जितिन् । सोही तौल समूहबाट सुर्खेतकी राजकुमारी चौधरी ७० किलो उठाएर दोस्रो र बाँकेकी ताराकुमारी चौधरी ६२ किलो तौल उठाएर तेस्रो हुन सफल भएका छन् ।

५३ किलो तौल समूहमा दाङकी उमा चौधरीले ८० किलो उठाएर प्रथम भइन् । बाँकेकी कविता चौधरी ६५ किलो उठाएर दोस्रो र सुर्खेतकी दीपा चौधरी ६५ किलो तौल उठाएर तेस्रो भए । ५८ किलो तौल समूहमा दाङकी रामकुमारी चौधरीले ९९ किलो उठाएर प्रथम र सुर्खेतकी लक्ष्मी चौधरी ६८ किलो उठाएर दोस्रो भइन् । ६३ किलो तौल समूहमा दाङकी कल्पना चौधरीले ८० किलोको कीर्तिमान बनाइन् ।

भारोत्तोलनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा जज सम्सुनद्दिन सिद्दिकीले पछिल्लो समयमा भारात्तोलन खेलमा महिलाहरूको आर्कषण बढिरहेको बताए । नेपालगन्जमा आयोजना गरिएको उक्त प्रतियोगितामा २६ महिला सहभागी छन् । बाँकेकी मधेसी महिला सालु बर्मा पनि ४८ किलो तौल समूहमा सहभागी छन् । ‘भारोत्तोलन खेल बल र श्रममा भर पर्छ । त्यसैले महिलाहरूको सहभागिता कम हुन्थ्यो । तर, यसपल्ट उल्लेख्य सहभागिता भएको छ,’ उनले भने, ‘यो खेलमा महिलाको सहभागिता हुनु निकै सकारात्मक हो । निरन्तरताका लागि सबैले सहयोग गर्न आवश्यक छ ।’

उक्त खेल पुरुषतर्फ ८ तौल समूह र महिलाका लागि ७ समूहमा खेलिन्छ । तर, नेपालगन्जमा भएको क्षेत्रीयस्तरको प्रतियोगितामा तीन तौल समूहमा मात्रै खेलाइएको छ । सातौं राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्जमा भइरहेका क्षेत्रीयस्तरका प्रतियोगितामा भारोत्तोलनसँगै सुटिङ, क्रिकेट, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन लगायतका १० खेलमा प्रतिस्पर्धा भइरहेको छ । प्रतिस्पर्धाका लागि करिब ८ सय खेलाडी नेपालगन्जमा आएका छन् । पुस ८ गतेदेखि १५ गतेसम्म विराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट प्रतियोगिता आयोजना गरिएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *