नवलपरासीका थारुहरु पनि आन्दोलित, पुस ४ गते बन्दको घोषणा

काठमाडौं- नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। थारु कल्याणकारी सभा नवलपरासीले राजधानीमा पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

थारु कल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै भने, ‘वर्तमान संविधानमा उल्लेख गरिएको प्रादेशिक सीमाङ्कनले थारु बाहूल्य नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखेर आम थारु समुदायहरुको आत्मासम्मान, स्वाभिमान, भाषा, संस्कृति र पहिचानलाई समाप्ता पार्नेगरी जातीय कलस्टरलाई खण्डित गरेको हामी कुनै पनि हालतमा मान्दैनौं। यसले सम्पूर्ण थारुहरुलाई अन्याय गरेको छ।’

सभापति थारुले अहिलेको सीमाङ्नलाई संशोधन गरी नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा समावेश गर्नेगरी संविधान संशोधन गर्न माग गरे। उनले भने, ‘अरु बाँकी ७४ जिल्लाचाहिँ टुक्र्याउन नपर्ने तर थारु जातिको ऐतिहासिक थातथलो रहेको नवलपरासीलाई मात्र टुक्र्याएर तराईका आदीवासी भूमिपुत्र थारुमाथि गम्भीर षडयन्त्र भएको छ, यसलाई तत्काल सच्याउनुपर्छ।’

थारु कल्याणकारी सभाले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमहरुमा मंसिर २२ गतेसम्म विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, २३ देखि २६ सम्म गाउँजागरण अभियान सञ्चालन गर्ने, २७ र २८ मा विभिन्न बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदहरुसँग अन्तर्क्रिया गर्ने, २९ र ३० गते सरकारी कार्यालय घेराउ गर्ने, पुस १ गते नवलपुर क्षेत्रभरी मसाल जुलुस गर्ने, २ गते पूर्व-पश्चिम राजमार्गमा १ घण्टा चक्का जाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने, ४ गते १ दिन नवलपुर बन्द गर्नेलगायतका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *