हाम्रो छिमेकीलाई खुलापत्र

२०७३ मंसिर १८ गते, काठमाडौं।

आदरणीय दाजुभाई, दिदीवहिनीहरु,

सप्रेम नमस्कार।

हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति वेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं। मलेरियाको महामारी पनि पचायौं र इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर राजनीतिक रुपमा बाच्नु परे पनि अर्थतन्त्रको ठूलो हिस्सामा योगदान गर्यौं। यी सब भए हाम्रा इतिहास तर यो पनि सत्य हो कि मलेरिया उन्मुलन पश्चात यहाँ हाम्रा नयाँ नयाँ छिमेकीहरु आए। अहिले सम्म छिमेकी प्रतिको भावना तथा छिमेकीत्वको आदर्श हामीले एकतर्फी जोगाउने काम कर्मद्वारा गरेका छौं भन्ने लाग्छ। हाम्रा छिमेकीहरुबाट हामीले कैयन उपलब्धीहरु हासिल गरेका छौं र हामी जस्तै यहाँ अनेकन प्राकृतिक मानव समुह आफ्नो आफ्नो साँस्कृतिक विशेषता, ऐतिहासिकता तथा ज्ञानपद्धति अनुसार अस्तित्ववान छन भन्ने बुझ्यौं। फरक फरक आस्था बोके पनि सबैको शाश्वत सत्य करुणामय छ भन्ने विश्वास पनि जागेर आयो। अहिले पनि सहअस्तित्व कायम गरेर जीवन जिउने काम भइआएकै छ। परेको बेला एक अर्कालाई साथ दिने काम नभएको पनि होइन। अहिले त नातागोता समेत गाँसिएर मानव समाज निर्माण भएको छ। यसलाई अब कसैले भाँजो हाल्ने औकात राख्दैन। त्यसैले त राजनीतिक खेल हामीलाई स्वार्थी बनाउने प्रयत्न गरे पनि अन्ततः हामी मानवताको त्यो उच्चतम अभ्यास पनि गर्न पुग्छौं जहाँ छिमेकीलाई परेको पीडामा मलम लगाउन अग्रसर भएका घटनाहरु साक्षी छन्।

हाम्रो छिमेकीलाई थाहा भएकै कुरो हो कि जहाँका हामी बासिन्दा हौं, आदिवासी भएर बाँचेका छौं। हामी आदिवासी नै रहन चाहेका हौं। हामीलाई विश्वास छ, हामी आदिवासीवाद मार्फत निर्देशित भएर यो संसार वदल्न चाहन्छौं। त्यसैले आदिवासीत्वको हामी सच्चा पहरेदार भएर यो धरतीलाई रक्षा गर्ने संकल्प गरेका छौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु! आधुनिक नेपाल राज्यमा हामी आवद्ध भएको २५० वर्ष भयो। यस अवधिमा राज्यको अहितमा कहिल्यै काम गरेको प्रमाण छैन तर सामन्ति राणा–शाहको शासनकालमा यिनै थारुलाई मासिने मतवालीको कितामा राखे। नेपालको राज्य प्रणालीमा इतिहासकाल देखि नै खेती योग्य जमीन तयार गर्ने यी थारुको स्वाभिमान प्रति शंका भएर नै शासकवर्गले आफ्ना द्वारे, पाले, पुरोहित तथा गुरुहरुको सेवामा ती जमिनहरु बक्सिस तथा जगीरको रुपमा उपलब्ध गराए। प्राकृतिक श्रोत र साधनहरुको पहुँचबाट हामीलाई बिमुख बनाउने काम भयो। हामीलाई जब पञ्चायती व्यवस्थामा एक भाषा, एक भेषको नीति मार्फत दमन गरीयो, हाम्रा संवेदना एका एक तरंगित हुन पुग्यो। हाम्रा परम्परा, प्रथाजनित कानुनहरु लगायत साँस्कृतिक धरोहर माथि धावा बोल्ने काम भयो र हामीलाई पछौटेपनको सुचिमा राख्ने काम नियोजित रुपमा गरे। केही थारु एलिट्सको स्वार्थ समायोजन गर्दै पञ्चायतकाल भरी फुटाउ र राज्य गरको नीति बमोजिम शासन लादिए भने थारु बाहुल्य क्षेत्रमा जंगल फडानी गर्दै पुनर्वास गराउने कामलाई प्राथमिकता दियो। यसले पनि थारुको अर्थराजनीतिमा प्रत्यक्ष प्रभाव पारे।

थारुले पञ्चायतकाल भरी आफू विरुद्ध हुँदै आएको शोषण र जालझेललाई लोकतन्त्रको पुनःस्थापना सँगै समायोजन गरेर संघर्ष चलाए। यसरी ठाउँ ठाउँमा राजनीतिककर्मीहरु शेल्टर लिंदा उनीहरुको भौतिक साधन जुटाउने काममा खटे। किसानहरु मोहियानी हकको सवाल उठाउँदै संघर्ष गर्दा त्यो पञ्चायती व्यवस्थामा राजनीतिक गतिविधि नै मानिन्थे। यसरी अन्तिम समय सम्म राजनीतिककर्मीलाई साथ दिंदै अन्ततः २०४६ सालको जनआन्दोलन सफल बनाए। तर प्रजातान्त्रिक व्यवस्थामा समेत थारु अपमानित जीवन कमैया, कमलहरी, बुक्रही भएर नेतागणको घर घरमा विताउने गरे। बँधुवा मजदुर भई जीवन गुजारा गर्दा पनि हामी थारु छिमेकीहरुको मानमर्दन गरेनौं बरु राजासाहेव,मालिक, माल्किन, हजुर भनेर सम्बोधन गरेको मनमष्तिष्कमा अझै ताजै छ। पहिले हामी भाषिक अधिकारको सवाल उठायौं र राजनीतिबाट धर्म अलग गर्ने विषयसँग एकाकार गर्यौं। तर प्रजातन्त्रमा त्यो पनि संविधानमा उल्लेखित अधिकारको कुरो उठ्दा हामी उपर ज्यादति शुरु भयो र एक दशक पछि श्रावण २ गते वर्षाको समयमा वेघर बनाइएका पीडाहरु पनि छन्। अहिले थरुहट राज्य प्राप्तीको लागि संघर्ष गर्न अग्रसर भयौं जुन हाम्रा छिमेकीहरुलाई असह्य हुँदैछ। यति बेला छिमेकीहरुले नै हामीलाई विखण्डनकारी देख्न थाल्नु भयो जबकी वहाँहरुलाई थाहा छ कि थारु आफ्नो थातथलोको विषयमा कति गम्भिर छ। थारु अनेकन प्राकृतिक प्रकोपका बाबजुद आफ्नो भाग्य अजमाउन बोर्डर पार गरेनन् न त उनीहरु पहाड नै उक्ले। आफ्नो पूर्खाले गुल्जार गरेको भूमी राज्यको ऐनहरुले खोस्ने काम गरे पनि राज्य विरुद्धको विद्रोह गरेको इतिहास छैन। हो, आफ्नो जीवनलाई दाउमा राखेर तत्कालिन माओवादीले उठाएको जनयुद्धमा साथ दिए। हाम्रा छिमेकीहरुलाई यी सबै जानकारी भएकै विषयहरु हुन। अझ थारुको जातीय सफाया गर्ने राज्यको योजना थियो। दोश्रो जनआन्दोलन पश्चात थारुको आफ्नै नेतृत्वमा आन्दोलन गरेको पनि सत्य हो। अहिले पनि उक्त आन्दोलनहरुमा पाँचजना जीवन आहुति दिईसके भने २०७२ साल भाद्र ७ गते टीकापुर घटनाको आवरण भित्र थारुको जातीय सफाया गर्ने राज्यको योजना नश्लीय राजनीति प्रतिबिम्बित गरे। शायद यसले गणतान्त्रिक नेपालको औपनिवेशिक चरित्र सतहमा ल्याएको भन्न सकिन्छ। थारु आन्तरिक औपनिवेशिकताको शिकार भएको महसुस पहिले देखि गरिआएकै हो। टीकापुर घटनाक्रमबाट उत्पन्न परिस्थितिले अझ यसलाई पेचिलो बनाउने काम गर्यो।

CN Tharuहाम्रा छिमेकी अहिले थारुबाट डराउने र थारु उपरोक्त छिमेकीहरुबाट तर्सिने काम हुँदैछ। व्यक्तिगत रुपमा मेरो विन्ती छ कि हाम्रा छिमेकीहरु प्रति त्यस्तो वैमनष्यता हाम्रो छैन। कुनै वेला छिमेकीले र कुनै वेला हामीले छिमेकीलाई ठेलमठेल गर्दा वहाँहरुको चित्त दुखेको होला अथवा हाम्रो पनि चित्त दुखे। यो खुलापत्र मार्फत हाम्रा छिमेकीहरुलाई ठेलमठेलको वेला परेको अन्याय प्रति अथवा आरोप प्रत्यारोपको कारणले हुन पुगेको छिमेकीत्वको उपहास प्रति गम्भिर छलफल गर्न तयार नै छौं। अर्को कुरो छिमेकीको धर्म प्रति सधैं प्रतिबद्ध रहँदै अगामी दिनमा पनि यसलाई प्रगाढ बनाउने दिसा मै हाम्रो योगदान रहनेछ। मेरो तर्फबाट छिमेकीत्व पालना गर्न कुनै कसर बाँकी नराख्ने संकल्प दोहरयाउन चाहन्छु। यससँगै छिमेकीहरुलाई यो पनि ज्ञात रहोस् कि थारुलाई सधैं उपनिवेशमा राख्ने राज्यको सारभूत आधार भत्काउन जुन सुकै विधि अपनाउन तयार हुनेछौं। आदरणीय दाजुभाई दिदीवहिनीहरु! हामी थारु उपनिवेशबाट मुक्ति चाहन्छौं र अब नेपाललाई वहुलराष्ट्रिय राज्यको रुपमा परिवर्तन गर्न अन्तिम लडाई गर्न तयार छौं। यसबाट फेरि पनि हाम्रा छिमेकीहरुलाई नकारात्मक असर पर्न सक्छ। वहाँहरु प्रति संघर्षको वेला जान/अन्जानमा दुरव्यवहार हुन सक्ला। त्यसलाई स्वभाविक रुपमा लिंदै हाम्रा छिमेकीहरुको हितलाई ध्यान दिने राज्य भए पनि हामी त्यसलाई उल्टाउने अन्तिम कोशिश गर्ने छौं तर छिमेकीत्वलाई अमर बनाइ राख्ने हाम्रो प्रतिबद्धतामा कुनै कमी आउन दिने छैन भनी यो खुल्ला पत्र विसाउँदै छु। बाँकी संघर्षको मैदानबाट जे निर्णय हुन्छ सबैले स्वीकार गरौंला। धन्यवाद।

स्नेही,

सीएन थारु

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *