नेपाली जनता [विचार]

दिल बहादुर चौधरी।

अहिले जताततै नेपाली जनताको चर्चा छ। देशमा मात्र हैन, बिदेशमा पनि नेपाली जनताको चर्चा छ। हरेक संघ संस्था, दातृ निकायमा मात्र हैन, संयुक्त राष्ट्र संघमा पनि यसको खूब चर्चा छ। राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुको त मुखमै झुण्डिएको छ, “नेपाली जनता।”

एकदिनको कुरा हो, मन्दिरमा सँधै पूजा–आजा गर्ने भगवानका भक्तलाई पनि “नेपाली जनता” ले हैरान पारेछ। टिभी हेर्छ, नेपाली जनता भन्छ, रेडियो सुन्छ, नेपाली जनता भन्छ। पत्रपत्रिका पढ्छ, नेपाली जनता भन्छ, बाहिर गफ सुन्छ, नेपाली जनता भन्छ। आखिर नेपाली जनता भनेको के हो? उसलाई अचम्म लागेछ। नेपाली जनतादेखि उ पार पाएन। उ मन्दिरमा ध्यानमा बस्यौ, खूब घोत्लियो। भगवानसँग प्रार्थना गर्‍यो, हे ईश्वर नेपाली जनता भनेका को हुन्? म अर्थ लगाउँदा, लगाउँदा हैरान भैसकें, पागल हुन मात्र बाँकी छ, प्रभु! ममाथि दया गर्नोस्। त्यसपछि ईश्वरबाट मर्जी भयो, आकाशबाणी भयो, हे बत्स! तिमी चिन्ता नगर, यो राजनीतिक शब्द हो। कूटनीतिक भाषा हो, रणनीतिक चाल हो। यो त तिमीले गिरिजा प्रसाद कोइरालासँग सोध्नुपर्छ। त्यसपछि भक्तलाई झन् फसाद पर्‍यो। उ सोच्न थाल्यो हे ईश्वर सांसदहरुलाई भेट्न समय नदिने गिरिजा प्रसाद कोइरालालाई भेट्न यो जाबो पूजारीलाई के समय मिल्थ्यो। उ बिचार गर्‍यो, त्यहाँ गइयो भने मलाई को पो सोध्छ र! बरु देशका सदरमुकाममा हुने संयुक्त आम सभामा जान्छु, त्यहाँ थाहा भैहाल्छ होला। उ काठमाण्डूको आमसभामा पुग्यो, त्यहाँ गिरिजा प्रसादले आमसभामा भने, “अखण्डता र सार्बभौमिकताबाहेक सबै कुरा दिन नेपाल सरकार तयार छ। त्यसैले म सबैलाई चुनावमा भाग लिन अनुरोध गर्दछु। यदि कसैले संबिधान सभाको चुनाव बिथोल्न खोज्यो भने तिनी नेपाली जनताबाट आफैं पाखा लाग्नेछन्।” भक्त फेरी पनि रणभुल्ल, उ प्रचण्ड खोज्दै बिराटनगर पुगेछ। आमसभामा प्रचण्डले भनेछन् – “मधेशमा आन्दोलन हुनुमा देशी र बिदेशी प्रतिक्रियाबादीहरुको हात छ। सरकार गम्भिर हुनुपर्छ। नेपाली जनता यसबाट सतर्क हुनुपर्छ।” त्यसपछि उनी माधव नेपालको पछि लागेछन्। एउटा आमसभामा माधव नेपालले भनेछन् – “सशस्त्र र निशस्त्र समुहहरुका अवरोधका बाबजुद पनि सात दलको संयुक्त आमसभा तराईमा सम्पन्न भएको छ। नेपाली जनता संबिधान सभाको चुनावमा भागलिन आतुर छन्, त्यसैले चुनाव तोकिएकै मितीमा हुन्छ।” देउबाकहाँ पुगेछन्। देउबाले भाषणमा भनेछन्– “माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्नु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हो, त्यसैले यसमा नेपाली जनता चलाखो हुनुपर्छ।” नेमकिपाका नारायणमान बिजुक्छे, नेकपा मसालका मोहनबिक्रम सिंहकहाँ पुग्दा भनेछन्- “संबिधान सभाको चुनाव हुन्छ। चुनाव बिथोल्नेलाई नेपाली जनताले तह लगाउँछन्। संघीय राज्य ठिक हुँदैन। संबिधान सभाले निर्क्यौल गर्छ।” यसरी भक्त महाशय सि.पी. मैनाली, गजुरेल, बामदेव गौतम, मोहन बैद्य किरण, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, लिलामणी पोखरेल, परीथापा, पासाङ्ग शेर्पा, आनन्दीदेवी सिंह, जे.पी. गुप्ता, ज्वाला, गोइत, आदि सबैका छलफल, अन्तर्क्रिया, सभा समारोह चहार्न पुगेछन्। मानवअधिकारवादी, नागरिक समाजका अगुवा, पत्रकारहरुसम्म पुगेछन्। आखिर स्पष्ट जवाफ कहींबाट पाउन सकेनन्। हरेक नेता, कार्यकर्ता, मानवअधिकार, पत्रकार, सरकार, आन्दोलनकारी सबैसँग साक्षात्कार गरे तर नेपाली जनताकेा भेउ पाएनन्। अनि मनमनै सोचे, हे ईश्वर बास्तवमा नेपाली जनता अभेद्य, अगम्य र अथाह रहेछन्। यिनको मापन गर्न कसैले सकेन। म बबुरो सानो मन्दिरको सानो पुजारीले के सक्थ्यो।

नेपाली जनताको परिभाषा नेपालमा अभेद्य रहेछ, भेद पाउन गाह्रो छ। अगम्य छ, जसको गहिराई नाप्न सकिएन। अथाह छ, थाहा पाउनै सकिएन। प्रभो! सबै कुरा थाहा भयो तर नेपाली जनताको परिभाषा थाहा भएन प्रभो! उ पूरा देश घुमी फेरी मन्दिरमा आइपुग्यो। आराम गर्‍यो, सुस्तायो। बिहान पख नुहाई–धुवाई गर्‍यो, पुजा–पाठ गर्‍यो र फेरी ध्यानमा बस्यो। शान्त र एकान्त बाताबरणमा उसले पार त के पाउँथ्यो, अनुमानसम्म लगायो। उसलाई लाग्यो शायद नेपाली जनताको परिभाषा, फरक फरक बर्ग, तह र तप्कामा फरक फरक रहेछ। यसरी बु‰दा नै बेश होला। दल, नेता, कार्यकर्ता र सरकारको अनुसार “सरकारमा सामेल ब्यक्तिहरु, नेताहरु, कार्यकर्ताहरु र तिनका शुभेच्छुकहरु नेपाली जनता हुन्।” आन्दोलनकारीहरुका अनुसार “आन्दोलनमा लागेका नेता, कार्यकर्ता, समुदाय र जाति नेपाली जनता हुन्।” राजाबादीहरुका अनुसार “राजतन्त्रमा आस्था राख्नेहरु सबै नेपाली जनता हुन्।” सरकारमा नबसेका अन्य राजनीतिक दल, नेता, कार्यकर्ताहरुका अनुसार “तिनका समर्थकहरु नेपाली जनता हुन्।” नागरिक समाजका अनुसार “नेपाल देशमा बसोबास गर्ने, नेपालका राज्य व्यवस्थाका अधिनमा रही, नेपालको कानुनका मातहतमा रहेका सम्पूर्ण मानिसहरु नेपाली जनता हुन्।” यसरी अर्थ्याएपछि मात्र भक्त महाशयको मनमा शान्ति छायो।

बास्तवमा नेपालमा अहिले नेपाली जनता भनेको के हो? तिनी को हुन्? अर्थ्याउन नै गाह्रो छ। परिभाषा साह्रै भेग भएको छ। एकथरीको भनाई छ, अब ललीपप देखाएर नेपाली जनतालाई भुल्याउन सकिन्न। नेपाली जनता सचेत भैसकेका छन्। अर्कोथरीको भनाई छ, अब चुनाव भाँड्ने प्रयत्न गर्नेहरु आफैं सखाप भएर जानेछन् किनकी नेपाली जनता तिनका बिरुद्धमा नै उत्रनेछन्। यी परस्पर बिरोधी भनाईहरुले नेपाली जनताको परिभाषालाई अझ अभेद्य, अगम्य र अथाह बनाइरहेका छन्। मैले पनि यसको भेउ पाउन सकिरहेको छैन। पत्रकार, मानवअधिकारकर्मी र नागरिक समाजका अगुवाहरुले अबका दिनमा के दलित, मधेशी, के आदिवासी जनजाति, के महिला के उत्पीडित जाति, तह र तप्का सबैलाई समेटेर लानुको बिकल्प नरहेको कुरा उदघोष गर्छन्। अबका दिनमा देशका हरेक नागरिक समान अवसर हक अधिकारको भागी हुनुपर्छ भनिरहेका छन्। तसर्थ मेरो अनुमान पनि नेपाली जनता भनेका यस देशमा रहेका सबै जातजाति, तह र तप्काका ब्यक्तिहरु हुन्, ती चाहे अवसरका उपभोग गरिरहेका हुन् वा अवसरबाट सदा बञ्चित भएकाहरु हुन्। अबका दिनमा सबैलाई समेटेर लानुको बिकल्प छैन। सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्र अपरिहार्य छ। संघीय लोकतान्त्रिक गणतन्त्र, जाति, क्षेत्र र भूगोलको आधारमा हुनुपर्छ भन्ने सबैको हैन, अधिकांशको माग हो।

तसर्थ संक्षिप्तमा के भन्न सकिन्छ, संघीय स्वायत्तता बर्तमानको माग हो। संबिधान सभा अगावै सात दलले मधेशी, आदिवासी जनजातिहरुसँग गरेको सम्झौता अक्षरस :  पालन गरी सबै असन्तुष्ट पक्षहरुलाई बार्तामा बोलाई समस्याको निकास निकाल्नु बाहेक अर्को बिकल्प अब हामीसँग छैन। सुरक्षा घेराबिचको संयुक्त सभा र सुरक्षा घेराबिचको चुनावले सार्थक परिणाम निकाल्न सक्तैन। ज्ञानेन्द्रको नाटकिय निर्वाचन भन्दा कुनै मानेमा फरक हुँदैन। देश पुन :  समस्याको दलदलमा फस्न सक्छ। यसमा सबैको ध्यान जान आवश्यक छ। आ–आफ्नै ढंगले नेपाली जनताको परिभाषा गर्न थाल्यौं भने भोलीका दिनमा नेता, कार्यकर्ता र शुभेच्छुकहरु मात्र संबिधान सभामा भाग लिने अवस्था नआउला भन्न सकिन्न। हाम्रो परिभाषामा नेपाली जनता भनेका तिनी मात्रै हुन भनी समेट्न थाल्यौं भने गाह्रो होला। बम, बारुद र बन्दुकका बिचमा दश लाखको लोभमा कर्मचारी खटिएलान् तर नेपाली जनता त नभनौं यसको अर्थ गाह्रो छ, आम मतदाताहरु के गर्लान्? चासोको बिषय भएको छ। यसको मतलब मैले आन्दोलनकारीहरुलाई बढावा दिन खेाजेको पक्कै होइन। थारु, मधेशी, आदिबासी जनजातिहरुको पहिचानसहितको संघीयताको माग सम्बोधन गर्नुपर्छ र देशलाई मुठभेडबाट बचाउनुपर्छ भन्ने मात्रै हो। जाति, क्षेत्र र भूगोलको आधारमा संघीयता र स्वायत्तता नै देश बिखण्डनको मूलआधार हो यदि कोई भन्छ भने शायद त्यो नै देश बिखण्डनकारी हो कि भनी सोच्नु पर्ने बेला भएको छ। देशलाई निकास दिनु नै सबै नेता, कार्यकर्ता, बुद्धिजीवि, नागरिक समाज आदि सबैको जिम्मेवारी हो। सबै अधिकार सबैको लागि भएको हुनाले आफ्नो खल्तीबाट गए जस्तो गर्नु अहिलेको परिप्रेक्ष्यमा महाभूल हो, समयको पुकार यही हो।

नोट : २०६४ साल माघ १७ गते धनगढी पोष्ट दैनिकमा प्रकाशित यो लेख सान्दर्भिक लागेर पुनप्रकाशित गरिएको छ।- सम्पादक




Leave a Reply

Your email address will not be published. Required fields are marked *