थ्रेस होल्डले साना दल थर्कमान, प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

कृष्णराज सर्वहारी/काठमाडौं
साना दलका नेताहरु चुनावमा थ्रेसहोल्ड लगाउनु पर्ने ठूला दलको संशोधन प्रस्तावले थर्कमान भएका छन्। बुधबार संघीय समाजवादी फोरमको संसदीय दलको कार्यालयमा बसेको साना दलको बैठकले थ्रेसहोल्ड लगाउने ठूला दलको संशोधन प्रस्ताव फिर्ता गराउन ४ ठूला दलका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने भएका छन्।

यसै क्रममा बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थरुहट तराई पार्टीका वरिष्ठ नेता गोपाल दहितले जानकारी दिए। उनले भने- ‘३ प्रतिशत भोट ल्याउने दल मात्रै अस्तित्वमा रहने गरी संशोधन प्रस्ताव ठूला दलले ल्याइरहेको सुन्नमा आएको छ। त्यसो भयो भने ४ ठूला दल मात्रै अस्तित्वमा रहनेछन्। त्यसैले संसदमा प्रतिनिधित्व गरिरहेका बाँकी २६ दलको हस्ताक्षर गराएर ४ ठूला दलका अध्यक्षहरुलाई ज्ञापनपत्र बुझाएका हौं।’

नेपाली कांग्रेसका सांसद राजु खनाल जनमतसंग कुनै पनि दल डराउन नहुने जिकिर गर्दै थ्रेसहोल्डबाट साना दल डराउने कुनै कारण नरहेको बताए। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पनि सांसद खनालको तर्कमा सहमति राख्दै आयोगले आफ्नो मस्यौदामा थ्रेसहोल्डबारे बुँदा राखेको जानकारी दिए। उनले भने, ‘२०७० सालको निर्वाचनमा १ सय २२ दलले भाग लिएका थिए। यसपाली दलको संख्या १ सय ६० पुगेको छ। ठूलो टेबुलमा पनि नअट्ने मतपत्र देखेर मतदाता स्वतः अलमलमा पर्नेछन्। त्यसैले, कुनै निश्चित प्रतिशत ल्याउनेले प्रतिनिधित्व गर्ने व्यवस्था हुनुपर्छ।’

प्रवक्ता शर्माले चुनाव चिन्ह समेत बुझ्न नसक्ने गरी मतपत्र छाप्न समस्या हुने भएकाले आयोगलाई काम गर्न सहजताको लागि पनि नयाँ नीति ल्याइनु पर्ने बताउँदै जनताले विश्वास गर्ने कुनै पार्टी नहराउने बताए।

हालको संसदमा ३० दलले प्रतिनिधित्व गरिरहेकोमा ११ दलले मात्रै १ प्रतिशत भन्दा बढी भोट ल्याएका छन्। जसमा कांगे्रस २५ प्रतिशत, एमाले २३ दशमलव ६६ प्रतिशत, माओवादी १५ दशमलव २१ प्रतिशत, राप्रपा नेपाल ६ दशमलव ६६ प्रतिशत, राप्रपा २ दशमलव ७४ प्रतिशत, फोरम लोकतान्त्रिकले २ दशमलव २६ प्रतिशत भोट ल्याएका छन्।

त्यस्तै, तमलोपा १ दशमलव ं९१ प्रतिशत, सद्भावना १ दशमलव ४० प्रतिशत, नेकपा माले तथा संघीय समाजवादीले १ दशमलव ं३८ प्रतिशत भोट ल्याएका छन्। राप्रपा नेपाल र राप्रपाको पार्टी एकिकरणपछि १ प्रतिशत भन्दा बढी भोट ल्याउने १० दल मात्रै रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *