नेपाललाई ६२ वर्षपछि उपाधि दिलाउने ‘गेम–चेन्जर’

नवीन अर्याल/सेतोपाटी
दुई साताअघि मलेसियाको कुचिङमा एएफसी सोलिडारिटी कप खेल्न जाँदा नेपाली स्ट्राइकर भरत खवासले सपनामा पनि सोचेका थिएनन्, ‘प्लेइङ सेट’ मा उनको पालो तुरुन्त आउला! कारण, उनी १५ दिनअघि मात्र राष्ट्रिय टोलीमा समावेश भएका थिए।

जापानी प्रशिक्षक क्योटोको कोजीले एएफसी सोलिडारिटी कपका लागि विशेष अभ्यास गर्न करिब दुई महिनाअघि राष्ट्रिय टोलीलाई काठमाडौं बोलाएका थिए। भरतलाई पनि यसमा समावेश गरिएको थियो। तर, उनी अभ्यास क्रममै घाइते बन्न पुगे। अभ्यासमा कमल श्रेष्ठसँग जुध्दा खराब ‘ल्यान्डिङ’ का कारण उनको दायाँ नाडीको तल्लो हड्डी ‘अल्ना’ नै भाँचियो।

त्यतिबेला भरतलाई लागेको थियो, टोलीमा पर्न अब असम्भव छ। हड्डी भाँचिएपछि चिकित्सकले प्रायः सबैलाई ‘प्लास्टर गर्न’ सल्लाह दिन्छन्। प्लास्टर गरेपछि ६ महिना पूरै विश्राम गर्नुपर्ने बाध्यताबीच भरत नेपाल आर्मीका चिकित्सक डा. अमित जोशीसँग सल्लाह गर्न गए। डा. जोशीले भने उनलाई प्लास्टरको विकल्पका रूपमा ‘अपरेसन’ गर्न सुझाए।

अपरेसन गर्दा तीन सातामै फुटबल मैदानमा फर्किन सक्ने डाक्टरले बताए। खेल्दा भने केही महिना सावधानी अपनाउनुपर्ने उनको सुझाव थियो। भरतले त के चाहियो! उनी हातको शल्यक्रिया गरेर पुनः मैदानमा फर्किए।

मलेसियाको युथ–२२ विरूद्ध ‘कम–ब्याक’ खेलमा गोल गरेपछि कोजीले भरतलाई खुब रुचाएका थिए। तैपनि सोलिडारिटी कपअन्तर्गत टिमोर लेस्टेविरूद्ध पहिलो खेलमै उनी टिममा पर्नेमा कमैलाई विश्वास थियो। कोजीले भने खेलाडीको अन्तिम नामावली पठाउँदा भरतलाई पनि टिममा समावेश गराए। उनी ‘प्लेइङ–११’ भन्दा बाहिर पहिलो हाफको पूरै खेलमा बेञ्चमा बसे। त्यस क्रममा ‘अपरेसन’ गरेको आफ्नो हातलाई लिएर उनी निकै तनावमा थिए।

टिमोरविरूद्धको खेलमा झमझम पानी परिरहेको थियो। भरत ‘स्लाइड’ हानेर खेल्न खुब रुचाउँछन्। असमञ्जसमा परिरहेका भरतलाई प्रशिक्षक कोजीले एक्कासि ६१ मिनेटमा मैदानमा पठाउने निर्णय गरे, त्यो पनि पछिल्लो समय ‘ह्याट्रिक हिरो’ को छवि बनाएका स्टार स्ट्राइकर नवयुग श्रेष्ठलाई पदस्थापन गर्दै।

पहिलो हाफमा नेपालको खेल फितलो थियो। प्रतियोगिताको सबैभन्दा कमजोर आँकिएको टिमोरविरूद्ध अग्रपंक्तिमा तालमेल नमिलेपछि कोजीले चोटबाट ‘रिकभर’ गरिरहेका भरतलाई एक्कासि मैदानमा पठाउने निर्णय गरेका थिए।

त्यसपछि जे भयो, त्यो सबै नेपाली फुटबल समर्थकलाई थाहा भएकै कुरा हो।

भरतको उपस्थितिपछि टिमोरविरूद्ध बाँकी ३० मिनेटको खेलमा नेपालले पुनः आफ्नो लय समात्यो। यद्यपि पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा टिमोरसँग अंक बाड्न बाध्य बन्यो। त्यसपछि भने पूरै प्रतियोगितामा नेपालले पकड जमायो। र, फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै एएफसी सोलिडारिटी कपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।

सन् १९५४ मा नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को सदस्यता प्राप्त गरेपछि एएफसीले आयोजना गरेको कुनै प्रतियोगिता जितेको थिएन। नेपाललाई ६२ वर्षपछि एएफसीको आधिकारिक प्रतियोगिता जिताउन भरतको योगदान उच्च थियो।

उनले यो प्रतियोगितामा नेपालले खेलेका चार खेलमा विपक्षी टोलीलाई निर्धारित ९० मिनेटमा गरेका ६ गोलमध्ये एउटा गोल आफैंले र दुई वटा गोलका लागि वातावरण मिलाइदिएका थिए। अझ, उनले टिमोरविरूद्ध गोलरहित बराबरी खेलेको खेलको अन्त्यतिर अर्का स्ट्राइकर अनिल गुरुङलाई ‘डिबक्स’ भित्र गोलको राम्रो वातावरण मिलाएका थिए। भरतले क्रस गरेको बल अनिलले डिबक्समा छोए मात्र पुग्ने थियो। तर, अनिल गोल गर्नबाट चुके।

सोलिडारिटी कपमा भरतलाई खेल जिताउने ‘म्याच–चेन्जर’ को उपमा दिँदा फरक पर्दैन। कप्तान विराज महर्जन पनि यो स्वीकार गर्छन्। ‘प्रतियोगितामा सबैको योगदान आ–आफ्नो ठाउँबाट उत्तिकै महत्वपूर्ण थियो। तर, ऊ (भरत) मैदानमा प्रवेश गरेपछि खेलले अर्को मोड लियो,’ सन् २००८ मा पोखरामा पाकिस्तानविरूद्ध भरतसँगै ‘डेब्यु’ गरेका विराजले भने।

टिमोरविरूद्ध ६१ मिनेटमा उत्कृष्ट पुनरागमन गरेपछि भरत प्रशिक्षक कोजीको विश्वासपात्र मात्र बनेनन्, अन्य ३ खेलमा ‘प्लेइङ–११’ मा समावेश भए। उनले ब्रुनईविरूद्ध महत्वपूर्ण खेलमा ३–० ले नेपाल विजयी हुँदा एक गोल गरेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको त्यो नवौं गोल थियो।

उनले प्रतियोगिताको कडा टिम लाओसविरूद्धको सेमिफाइनलमा विमल घर्तीमगरले हानेको दोस्रो हेडिङ गोलमा पास मिलाइदिएका थिए। त्यस्तै, मकाउविरूद्ध १–० ले विजयी फाइनल खेलमा सुजल श्रेष्ठले हानेको निर्णायक हेडिङ गोलका लागि पनि भरतले नै पास मिलाएका थिए।

‘टिमोरविरूद्ध पहिलो खेलमा मैदानमा प्रवेश गर्दा म आफ्नो हातलाई लिएर केही तनावमा थिएँ। खेल्दै गएपछि सबै कुरा बिर्सिएँ। चिकित्सकको हात जोगाएर खेल्नु भन्ने कुरा दिमागमा ज्यादा गढेर होला, मैदानमा लड्दा आफैं हात माथि जान्थ्यो,’ गत वर्ष भारतमा भएको साफ च्याम्पियनसिपका लागि काठमाडौंमा ट्रेनिङ गर्दा घुँडामा पनि चोट बोकेका भरत भन्छन्।

घुँडाको चोटका कारण उनले साफ च्याम्पियनसिप मात्र होइन, यही वर्ष नेपाली टोलीले बंगलादेशमा आयोजना भएको बंगबन्धु कप र भारतको आसाम र सिलोङमा सम्पन्न १२ औं साफ च्याम्पियनसिपमा भाग लिएको खेलमा खेल्न सकेनन्।

नेपालले जितेका यी दुवै प्रतियोगितामा चोटका कारण बाहिरिनुपर्दा भरतलाई सोलिडारिटी कपमा आफ्नो भूमिकालाई लिएर पनि शंका थियो। ‘तर, प्रशिक्षक र पूरै टिमले मलाई विश्वास गर्यो। किन गर्यो? मलाई थाहा छैन,’ २४ वर्षीय यी स्ट्राइकरले सेतोपाटीसँग भने।

नेपाली फुटबलमा भरतलाई अभागी खेलाडी मान्नेहरूको कमी छैन। उनी सन् २००८ मा कम्बोडियामा एएफसी च्यालेञ्ज कपको छनोट चरणको खेलमा सहभागी भएर उतैबाट माल्दिभ्समा हुन लागेको साफ च्याम्पियनसिप खेल्न जाने क्रममा जन्डिसको शिकार भए।

उतिबेला उनको उमेर १६ वर्ष थियो। भर्खरै राष्ट्रिय टोलीमा अटाएका भरतलाई नेपाली टिम साफ च्याम्पियनसिपका लागि माल्दिभ्स उड्नु र आफू जन्डिसका कारण घर फर्किनु पर्दा निकै दुःख लागेको थियो। उनी आठ वर्षको फुटबल करिअरमा चोट र बिरामीका कारण तीनपल्ट राष्ट्रिय टोलीबाट भित्र–बाहिर हुँदै आइरहेका छन्।

पहिले उनलाई टोलीबाट बाहिरिनु पर्दा उदेक लाग्थ्यो। अहिले यो उनको जीवनको एउटा हिस्साजस्तै भइसक्यो। त्यसैले उनी यसलाई स्वाभाविक मान्छन्। र, अहिले राष्ट्रका लागि ठूलो उपलब्धि दिलाउन आफूले गरेको योगदानको सर्वत्र प्रशंसा भएकोमा दंग छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *