देउवाले भने- ‘७ नम्बर प्रदेशको सीमा हेरफेर हुँदैन’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको सीमाङ्कनमा कुनै विवाद नरहेको दाबी गरेका छन्। आफू पार्टी सभापति भएपछि पहिलो पटक सुदूरपश्चिम आएका सभापति देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘७ नम्बर प्रदेशको सीमा हेरफेर हुँदैन ।’

उनले संविधानको कार्यान्वयनको लागि संविधानमा व्यवस्था भए अनुरुप सबै तहको निर्वाचन २०७४ माघ ७ गतेभित्र सम्पन्न गर्नैपर्ने बताएका छन् । देउवाले मधेशी दललाई समेत सहमतिमा ल्याएर निर्वाचनको वातावरण सिर्जना गर्न नेपाली कांग्रेसले पहल गरिरहेको बताए ।

सभापति देउवाले प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनमा सकारात्मक देखिएकाले छिट्टै संविधान संशोधन गरी निर्वाचन हुने बताएका छन् । देउवाले भने, ‘संविधान संशोधनका विषयमा मधेसी दल र एमालेसँग सकारात्मक कुराकानी भएको छ ।’ संशोधन सँगसँगै निर्वाचनको तयारी पनि भइरहेको उनको दाबी छ ।

स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन भएसँगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने उनले दाबी गरे । ‘सीमाङ्कनका विषयमा केही कुरा मिल्न बाँकी रहेकाले संशोधनमा ढिलाई भएको हो,’ सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने, ‘मैले आफैं मधेसी दलसँग वार्ता गरें, एमालेसँग पनि सकारात्मक वार्ता भएको छ । अब समस्या समाधान हुन्छ ।’

बिहीबार बिहान पनि एमालेसँग वार्ता भएको बताउँदै देउवाले भने, ‘ओलीजीले पनि संशोधनको ड्राफ्ट हेरेर जवाफ दिने भन्नुभएको छ । अब सबै कुरा मिल्छ ।’ पार्टी सभापतिमा विजयी भएपछि देउवा पहिलो पटक सुदूरपश्चिम आएका हुन् । शुक्रबार देउवाले डडेल्धुरामा आयोजना हुने महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसले जानकारी दिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *