उपेन्द्रले अल्टिमेटम दिएको भोलिपल्टै महेन्द्र यादव बालुवाटारमा

संघीय गठवन्धनले १५ दिने म्याद दिएको भोलिपल्टै मधेसी मोर्चाका एकजना शीर्ष नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधनमा अघि बढ्न भनेका छन् ।

उपेन्द्र यादवले प्रधानमन्त्रीलाई १५ दिन म्याद दिएकोमा चित्त नबुझेको भन्दै मोर्चाका नेताले संविधान संशोधनको प्रस्ताव तत्कालै अघि बढाउन बालुवाटारमै पुगेर आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई यस्तो सुझाव दिन मंगलबार बिहान मोर्चाका एकजना उच्च तहका नेता बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्पर्क र सम्वादमा छन् ।

संघीय गठवन्धनले स्मरण पत्र बुझाउनु केही दिनअघि मात्रै मधेसी मोर्चाका तीन नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले प्रधानमन्त्रीलाई भेटेका थिए ।

उपेन्द्र यादवले स्मरणपत्र बुझाएको भोलिपल्टै मंगलबार पनि मोर्चाका नेता महेन्द्र राय यादवले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।

मधेसी मोर्चासहितको गठवन्धनको संयोजक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । र, उनले आफूहरुको सहमतिमा मात्रै संशोधन विधेयक दर्ता गर्नुपर्ने माग राखेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाउने क्रममा गठवन्धनले संविधान संशोधन विधेयक दर्ता गर्न थप १५ दिनको समय दिएको छ ।

जब कि मधेसी मोर्चाले कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता गर्न दबाव दिँदै आएको थियो । यहीबीचमा उपेन्द्र यादवले १५ दिने समय दिएकोमा मधेसी मोर्चाका अन्य नेताहरु सन्तुष्ट छैनन् ।

स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरुले छिटो संविधान संशोधन दर्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । ‘हामीले संशोधन विधेयक छिटो दर्ता गर्नुस् भनेका छौं’ मधेसी मोर्चाका एक नेताले भने, पहिल्यै सहमति-विमति हुनुपुर्छ भनेर हामीले भनेका छैनौं ।’

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र यादवले पनि प्रधानमन्त्रीलाई भेटेको स्वीकार गरे । आफूहरुले प्रधानमन्त्रीलाई २६ बुँदे माग बुझाएको भन्दै यादवले त्यसलाई सम्बोधन गर्ने गरी संविधान संशोधन विधेयक दर्ता होस् भनेर आफूले प्रधानमन्त्रीलाई भनेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *