नागेन्द्र चौधरी एमाले जनजाति महासंघको अध्यक्ष बन्लान् ?

एमाले भातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षसहित १७ सदस्यीय पदाधिकारी अप्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित गर्न प्रस्ताव गरिएको छ । शनिबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधन प्रतिवेदनले अप्रत्यक्ष प्रक्रियाबाट पदाधिकारी चुन्ने प्रस्ताव गरेको हो ।

महासंघका सचिव तथा प्रचार विभागका प्रमुख पासाङ शेर्पाले सातै प्रदेशबाट पहिले केन्द्रीय सदस्य प्रतिनिधिमार्फत चुनेर तिनैमार्फत पदाधिकारी निर्वाचित गर्नेगरी विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत भएको जानकारी दिए । जसअनुसार पहिले सात प्रदेशबाट ५७ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

महासंघको ३४ घटक संगठनका अध्यक्ष पदेन सदस्यमा निर्वाचित हुने भएकाले ९१ जनाको केन्द्रीय सदस्यबाट पदाधिकारी चुन्ने गरी उपाध्यक्ष शेरबहादुर तामाङले विधान संशोधन प्रस्ताव राखेका हुन् । एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेको महाधिवेशनलाई वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव गोकर्ण विष्टलगायतले सम्बोधन गरेका छन् ।

‘प्यानल’ विकृति रोक्न अप्रत्यक्षको प्रस्ताव

उपाध्यक्ष तामाङले प्यानल निर्वाचनबाट पार्टीमा गुटबन्दी मौलाएका कारण महासंघको पंक्तिलाई तलसम्म विभाजित हुन नदिन र पार्टीलाई समेत शिक्षा दिनेगरी पदाधिकारी अप्रत्यक्ष निर्वाचनबाट चुन्ने गरी आफूले विधान संशोधन राखेको बताएका छन् ।

को–को छन् पदाधिकारीका दाबेदार ?

अध्यक्षका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ, पोलिटब्युरो सदस्य पर्शुमेघी गुरुङ र नागेन्द्र चौधरी, केन्द्रीय सदस्य गोकुल घर्ती र शेरबहादुर तामाङ दाबेदार छन् । तीमध्ये पृथ्बीसुब्बा वर्तमान अध्यक्ष हुन् भने चौधरी र तामाङ उपाध्यक्ष छन् । घर्ती भने पार्टीले महासंघका लागि खटाएका इन्चार्ज छन् । त्यस्तै, महासचिवमा सचिव तथा प्रचार विभागका प्रमुख पासाङ शेर्पा र शरण राई, टासी स्याङ्बो गुरुङसेनी, विजय मोक्तानलगायत दाबेदार छन् । उपाध्यक्षहरूमा शिव गुरुङ, तिलकुमार मेयाङबो, चित्र थापा, झकबहादुर मगर, रामप्रसाद चौधरी, वीरबहादुर बुढाथोकीलगायत दाबेदार देखिएका छन् ।

सर्वसम्मतको विकल्पमा गृहकार्य

एमालेका कतिपय जिल्ला अधिवेशन संस्थापन र नेता माधवकुमार नेपाल समूहको सहमतिमा सर्वसम्मत भएपछि भ्रातृ संगठन जनजाति महासंघमा पनि त्यसैका लागि गृहकार्य भइरहेको एक पदाधिकारीले बताए । ‘१७ सदस्यीय पदाधिकारीमा अध्यक्ष लिनेले आठ पदाधिकारी र वरिष्ठ उपाध्यक्ष र महासचिव लिनेले नौजना पदाधिकारी लिनेगरी सर्वसम्मतको प्रयास भइरहेको छ,’ एक पदाधिकारीले भने, ‘तर अध्यक्ष लिनेले बहुमत लिने कि अर्कोले लिने भन्ने टुंगिएको छैन ।’ १० सदस्यीय अध्यक्षमण्डलका अध्यक्ष एमाले सचिव गोकर्ण विष्टले गुटका नाममा प्रचार गरे उम्मेदवारी खारेज हुने भन्दै सर्वसम्मत चयनका लागि दबाब दिएका छन् । उनकै नेतृत्वमा महासंघमा सर्वसम्मतिको प्रयास भइरहेको छ ।

नयाँ पत्रिकाबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *