कैलालीमा थारु समुदायको ढिकरहुवा कार्यक्रम

कैलालीको उदासिपुर–१ नुक्लिपुरमा शनिबार ढिकरहुवा कार्यक्रम–२०७३ सम्पन्न भएको छ। ‘थारु परम्परा रिती ओ संस्कृतिके जगेर्ना करी, थारु खानपान ओ अपन पहिचानके संरक्षण करी’ भन्ने मूलनाराका साथ स्थानीय नुक्लिपुर गाउँको आयोजनामा कार्यक्रम भएको हो। स्थानीय सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद डा. गोपाल दहितले थारु समुदायको विभिन्न परिकारमध्ये एउटा मुख्य परिकार ढिक्री भएको र यसलाई थारु समुदायले जन्मदेखि मरणसम्ममा जुनसुकै काममा प्रयोग गर्ने गरेको बताए।

सांसद थारुले थरुहट तराई पार्टी नेपालसहित २९ दलले सरकारसँग गरेको सम्झौता कार्यन्वयनको स्थितिमा रहेको जानकारी दिए। कञ्चनपुर र कैलालीको सीमाङ्कनको विषय टुङ्गो नलगाई संविधान संशोधन गरिए त्यो आफूलाई स्वीकार्य नहुने समेत सांसद दहितले बताए।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल कैलालीका संयोजक कृष्णाकुमार चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरी, युनिक नेपाल बर्दियाका केन्द्रीय अध्यक्ष देवमान चौधरी, कठरिया समाज नेपालका केन्द्रीय सचिव सन्तोष कठरिया, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाह लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा थारु जातिको विभिन्न चाडपर्वमा विशेष गरी बनाइने प्रमुख थारु परिकार २५ प्रकारको ढिकरी प्रदर्शन गरिनुका साथै थारु परिकार घोंघी, बंगुरको मासु, सिद्रा, खरिया, बरिया, खुर्मा, बचरिक रिया, अन्डिक भात, जांरको झोल निंघार र महुवारी रक्सी लगायतका परिकार स्टलमा राखिएको थियो।

कार्यक्रममा थारु महालोक गायक मनिराम चौधरी, चर्चित राष्ट्रिय थारु गायक रामकुमार कठरिया, रमेश मिसन, दर्पन कुशमियाँ, विजय चौधरी, नतु चौधरी, नायक सुरज चौधरी लगायतका कलाकार तथा साहित्यकारको प्रस्तुति थियो।

-धनश्याम पौडेल




Leave a Reply

Your email address will not be published. Required fields are marked *