लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ : अमनलाल मोदी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन्।

सांसद मोदीले सार्वभौम संसदमा उक्त प्रस्ताव दर्ता भैसकेकोले हचुवाको भरमा उक्त प्रस्ताव फिर्ता हुनै नसक्ने समेत ठोकुवा गरे। उनले अघि थपे, ‘महाअभियोगको प्रस्ताव फिर्ता हुन्छ वा लिने हल्ला चलाइएको छ, यो गलत कुरा हो, सार्वभौमसत्ता सम्पन्न संसदको क्षेत्रको कुरा हो, यो विषयमा संसदमा छलफल हुन्छ।’

यद्यपी उनले आफ्नो पार्टी अहिले नेपाली काँग्रेससँगको गठबन्धनको सरकारमा भएकोले काँग्रेसको निर्णय आएपछि मात्रै पार्टीले पनि आधिकारिक निर्णय बाहिर ल्याउने जनाए। उनले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पारे। त्यस्तै उनले महाअभियोग सिफारिश समिति लोकमानकै लागि भनेर गठन नगरिएको समेत प्रष्ट्याए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *