दशैंको मौका पारेर गच्छदारले देखाए पार्टी एकताको सन्देश, आफ्नो समर्थनमा १४ सांसदलाई हस्ताक्षर गराए

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो समर्थनमा पार्टीका सबै सांसदको हस्ताक्षर संकलन गरेका छन् । र, आफू र आफ्नो नेतृत्वको प्रशंसा गर्दै विज्ञप्ति जारी गर्न लगाएका छन् ।

असन्तुष्ट समूहले पार्टी विभाजनसम्मको तयारी गरेपछि गच्छदारले पार्टीका १४ सांसदको हस्ताक्षर संकलन गरेका हुन् । जसमा असन्तुष्ट सांसदहरुले समेत हस्ताक्षर गरेका छन् ।

सरकारमा सहभागितालाई लिएर फोरम लोकतान्त्रिकको विवाद उत्कर्षमा पुगेको छ । र, गच्छदारले आफू जान नपाएको अवस्थामा पार्टी सरकारमा सहभागी नहुने अडान लिएपछि असन्तुष्ट समूहहरुले पार्टी फुटाउनेसम्मको तयारी गरेका थिए ।

यो सुइँको पाएपछि गच्छदारले पार्टीका १४ सांसदलाई हस्ताक्षर गराएर बुधबार विज्ञप्ति जारी गराएका छन् ।

विज्ञप्तिमा गच्छदारको भूमिकाको प्रशंसा गरिएको छ र पार्टी अध्यक्षप्रति आफूहरुको पुरै विश्वास रहेको उल्लेख छ । ‘संविधान जारी हुँदाको कठीन परिस्थितिलाई चिर्न जसरी सफल हुनुभयो, त्यसैगरी यस संविधानको संशोधन र कार्यान्वयनको चुनौती सामाना गर्न समक्ष र समन्वयकारी एवं सक्रिय भूमिका अबको दिनमा समेत उहाँबाट हुनेछ भन्ने विश्वास यो संसदीय दल व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

गच्छदारकै कुलश नेतृत्वका कारण राष्ट्रिय राजनीतिमा पार्टीको विशिष्ट पहिचान बनेकामे भन्दै विज्ञप्तिमा आगमी दिनमा पनि गच्छदारलाई समर्थन गर्ने उल्लेख गरिएको छ । २ पृष्ठको विज्ञप्तिमा पार्टी अध्यक्ष गच्छदारको प्रशंसा मात्र गरिएको छ र, पार्टी विभाजनतर्फ गएको भन्ने समाचारहरुको खण्डन गरिएको छ ।

पार्टी अध्यक्षको प्रशंसा विज्ञप्ति जारी गर्नु पर्ने कारण के आइपर्‍यो भन्ने प्रश्नमा सांसदहरु बोल्न चाहँदैनन् । यद्यपि असन्तुष्ट समूहका एक नेताले भने आफूहरु अहिले पर्ख र हेरको नीतिमा रहेको र दशैंपछि आवश्यक कदम चाल्ने बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *