एमनेष्टी इन्टरनेशनलले आन्दोलनमा भएका घटनाको छानविन गर्ने

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले मधेस आन्दोलनका क्रममा राज्यद्वारा भएका दमनका घटनाहरुलाई छानविन गर्ने आश्वासन दिएको छ। मधेस आन्दोलनमा राज्य पक्षले चरम मानव अधिकारको उल्लंघन, निर्मम दमन र शान्तिपूर्ण विरोध प्रदर्शनमा निहत्था निर्दोष जनताको हत्या भएको ठहर गर्दै एमनेष्टीले दोषीमाथि कारबाहीका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको हो। 

युरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग लण्डनमा भएको भेटमा एमनेष्टी इन्टरनेशनल साउथ एसियाकी कार्यकारी निर्देशक जमीन कौरले मधेस आन्दोलनमा चरम अमानवीय दमन गर्ने दोषिलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने प्रतिबद्धता जनाएकी छन्।

मधेस आन्दोलनका क्रममा निर्मम दमन हुनेगरी भएका गम्भीर घटनाहरुलाई अन्तर्राष्ट्रिय न्यायिक स्तरबाट छानविन गरी दोषीमाथि कारबाहीका लागि पहल गरिदिन फोरम नेपालका अध्यक्ष यादवले एमनेष्टी इन्तरनेशनलसँग आग्रह गरेका थिए। आन्दोलनका क्रममा नेपाल सरकारले सशस्त्र प्रहरी प्रयोग गरी हदैसम्मको दमन गरेको र मधेसमा मानव अधिकारको चरम उल्लंघन भएको भन्दै यादवले एमनेष्टीलाई अवगत गराएका थिए।

अन्तर्राष्ट्रियस्तरबाट स्वतन्त्र ढंगले मधेस आन्दोलनमा भएको दमनका घटनालाई छानविन गर्ने र दोषी राज्य तथा प्रहरीलाई अन्तर्राष्ट्रिय न्यायिक अदालतमा उभ्याउने विषयमा यादव र कौरबीच छलफल भएको थियो। एमनेष्टीले मधेस आन्दोलनमा भएको दमनमा घटनाहरुलाई सुरुदेखि नै नजिकबाट नियालिरहेको र स्वतन्त्र न्याय तथा छानविनका लागि चाँडै नै पहल गर्ने कार्यकारी निर्देशक कौरले बताएकी छन्।

संघीय गठबन्धनका संयोजक समेत रहेका यादव र एमनेष्टी साउथ एसियाकी कार्यकारी निर्देशक कौरबीचको भेटमा एमनेष्टी साउथ एसिया प्यासेफिक कार्यक्रमका उच्च अधिकारी आउरा फ्रिम्यान समेतको उपस्थिति रहेको थियो।

केही दिनअघि मात्रै लण्डनमा रहेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा बेलायत सरकारको दक्षिण एसिया र अफगानिस्तान तथा पाकिस्तानसम्बन्धि मामिला हेर्ने विशेष प्रतिनिधिहरुले उत्पीडित समुदायको सार्थक माग समेटेर संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउन नेपाल सरकारलाई सुझाव दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *