थारु समुदायको यमोसा पर्व

कारी महतो।

थारु समुदाय सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको एउटा समुदाय हो। थारु जातिले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन्। हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ। ती चाडपर्वहरुमध्ये ‘यमोसा’ (पितृ औंसी) पर्व पनि एक हो। ‘यमोसा वा यम्वासा’ चितवन जिल्ला र नवलपुर क्षेत्रका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो। यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्छन्। उक्त दिन औंसी पर्ने भएकाले यस पर्वलाई पितृऔंसी पनि भनिन्छ।

यो पर्व असोज महिनाको औंसीको दिन पर्छ। दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ। यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ। यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ। त्यस दिन व्यक्तिगत वा सामूहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ।

अर्को दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन्। त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाई धोइ पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का वा कुर्चीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ। त्यसलाई थारु भाषामा ‘पहुनी बेठोइ’ भनिन्छ। पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ। घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ। पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ। त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ।

त्यसबेला हातमा कुश लिई पानी चढाउँदै ‘ले रे π बुबा पानी π, ले री π बिदाओ पानी π’ भन्दै मृत्यु भैसकेका पितृगण, हजुरबा र हजुरआमाको मृत आत्मालाई तर्पण गरिन्छ। नुहाइधुवाइ गरिसकेपछि नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने गरिन्छ। त्यसलाई ‘छाकी चढोइ’ भनिन्छ। त्यसपछि मात्र खानपिन सुरु हुन्छ। सर्वप्रथम छोरी-ज्वाइँ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ। यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोई’ भनिन्छ। पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ। यता केटीहरुले पाहुनाको कपालमा तेल लगाई काइँयोले कोरिदिने गरिन्छ। त्यसपछि सफा उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ। त्यसलाई ‘पित्पित्रायन खेदई’ भनिन्छ।

उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउनुपर्छ। यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ। यसरी खानपिन दिनभरि नै चलिरहन्छ। उता गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ। पहिले पहिले एउटै रुखमा पाँच छ वटा पिङ लगाइन्थ्यो। यता केटाहरुले साँझपख गाउँको बाटोको महत्वपूर्ण ठाउँमा ‘म्वार्‍हा’ गाड्छन्। गाउँको बीच बाटोमा एक मिटर जति गहिरो खल्डो खनी खाल्डोमा लाम्चो फलाम वा बलियो काठ तेर्सो पारी पुरिन्छ र त्यसमै बाँधिएको बलियो डोरी खाल्डो बाहिर ल्याई अल्झाउने खालको फन्दा बनाइन्छ। बलिया र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन्। उखेल्न सक्नेलाई गाउँकै पहलमानको दृष्टिले हेरिन्छ।

बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर-घरमा ‘यमोसा’ खान जान्छन्। हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउँदै यमोसा खान्छन्। उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन्-

गीत नं. १ डौली डौली मोदवा देले दबकाई

बौरी बौरी मोदवा देले निसकाई

मोदहर्नीक मोदवा घुघल बाजे

गीत नं. २ भन्साक लकर-तकर मजीघर छमाकरी,

कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी

गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,

दाली परैय गेल, मासु परैय गेल,

यौर परल गजमोती जेवहुँ सभरे,

गोतियवा-गोतिनिया मन चितलाई

तर अब ती गीतहरु, ती म्वार्‍हा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकीहरु. सबै सबै लोप हुँदैछन्। थारु समुदायमा यमोसा (पितृ औंसी) को सट्टा दशैंमात्र मनाउने चलन बढ्दो छ। किनकि हाम्रो देशमा यमोसा मनाउने वातावरण छैन।

पितृऔंसीमा विदाको माग

यमोसा (पितृऔंसी) पर्वमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन्। तर थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको सबाल उठाए पनि निजी विद्यालयहरुले सोही चाडपर्वमै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भैरहेको छ। यसवर्ष पितृऔंसी असोज १३ र १४ गते परेको तर सोही दिनमा निजी स्कुलहरुले दोस्रो त्रैमासिक परीक्षा कार्यक्रम राखेकोले उक्त परीक्षा अन्य दिनमा सारेर भए पनि विदा गर्न अनुरोध गरिएको छ।

चाडपर्वमै परीक्षा राखिदा संविधानको धारा ३२ ले दिएको थारु बालबालिकाहरुको मौलिक हक हनन् भएको बताइएको छ। परीक्षाका दिन बालबालिकाहरुले प्रत्यक्ष रुपमा आफ्ना साँस्कृतिबारे बुझ्न, सिक्न र अनुभव गर्न पाउँदैनन्। फलस्वरुपः थारु सँस्कृति विस्तारै लोप भई पहिचान नै नष्ट हुने खतरा बढेकाले सम्पूर्ण शिक्षण संस्थाहरुमा उक्त दिनहरुमा विदा हुनुपर्ने जनाइएको छ। संविधानको मौलिक हकखण्डको धारा ३२.२ को भाषा तथा संस्कृतिको हकमा ‘प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको साँस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछु’ लेखिएको छ। त्यस्तै ३२.३ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, साँस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ’ उल्लेख गरिएको छ।

यमोसा पर्व चितवन र नवलपुर क्षेत्रका थारुहरुले मात्र मनाउने चाडपर्व भएकाले राष्ट्रिय विदाको सवाल नउठेपनि स्थानीय विदाको हुनुपर्ने हो। तर त्यसो नभइकन सरोकारवालाहरुले बलमिचाई गरेर थारु सभ्यता र संस्कृति विलय वा विनाश गराउन चाहेको देखिन्छ। त्यसैले जंगली पशुपंक्षी, चिप्ले कीरा लोप हुँदा चिन्तित हुने राज्यले आदिवासी जनजातिका संस्कृति लोप हुँदा त्यतिकै चिन्तन गर्नुपर्छ। समतामूलक समाजको परिकल्पना गर्ने हो भने आदिवासीका चाडपर्व मनाउन आदिवासी कर्मचारीहरुलाई भत्ता दिन सक्नुपर्छ। नसके यमोसा जस्ता साँस्कृतिक चाडपर्वमा विदाको व्यवस्था हुनुपर्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *