गच्छदार र रुक्मिणी पार्टीका नेताहरु थरुहटमा प्रवेश

विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध अधिकांश नेता तथा कार्यकर्ता थरुहट तराई पार्टीमा प्रवेश गरेका छन्। बिहीवार धनगढीको जाईमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले फूलमाला लगाएर पार्टी प्रवेश गराए।

पार्टी प्रवेश गर्नेमा फोरम लोकतान्त्रिकका भातृ संगठन लोकतान्त्रिक फोरम नेपालका केन्द्रिय सदस्य, केन्द्रिय पार्षद, जिल्लाका पदाधिकारी रहेका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध जिल्ला नेता र एमालेका संगठित सदस्य रामबहादुर थापा पनि थरुहट पार्टी प्रवेश गरेका छन्। विभिन्न पार्टी आवद्ध ३५ जना प्रभावशाली नेता तथा कार्यकर्ताहरु थरुहटमा आएको सो पार्टीका माधव चौधरीले जानकारी दिए।

त्यस्तै फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रामप्रसाद चौधरी, केन्द्रीय पार्षद जगन्नाथ चौधरी, सीता थारु, विलारु चौधरी, देशराज चौधरी, जिल्ला सदस्य घनश्याम कुश्मी, सदस्य सीताराम चौधरी, कालीचरण चौधरी, रामचन्द्र चौधरीलगायत छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले आम उत्पीडित जाती, वर्ग र सामुदायलाई पार्टीभित्र गोलबद्ध गर्न आवश्यक रहेको उल्लेख गरे । उनले प्रदेशको सीमांकन हेरफेर र संविधान संशोधनका लागि दबाव दिन सशक्त आन्दोलनको जरुरी रहेको बताए। ‘हामीले उठाउँदै आएको महत्वपूर्ण माग मुद्दाहरु सम्बोधन भएका छैनन्’, थारुले अगाडि थपे, ‘त्यसैले गोलबद्ध भएर सशक्त आन्दोलन गर्न जरुरी रहेको छ।’

उनले टीकापुर घटना अन्तर्राष्ट्रियकरण भएको भन्दै उत्पीडित वर्गलाई अधिकार दिइनु पर्ने सवालमा अन्तर्राष्ट्रिय समुदाय पनि जानकार भइसकेको उल्लेख गरे । अध्यक्ष थारुले प्रादेशिक सीमांकनको विवाद साम्य नहुँदै स्थानीय तह पुनःसंरचनाको विवाद खडा गरेर संघीयतालाई नै असफल गर्ने षडयन्त्र भइरहेको बताए ।

उनले अहिले नेकपा एमाले बाहेक स्थानीय तह पुनःसंरचनालाई कुनै पनि पार्टीले नस्वीकारेको उल्लेख गर्दै संघीयता असफल पार्ने खेल सुरु भएकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन् । कार्यक्रममा सो पार्टीका सल्लाहकार पुरन चौधरी, कोषाध्यक्ष खडक चौधरी, केन्द्रिय सदस्य मनिराम चौधरी लगायतको सहभागिता रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *