बाँकेको ‘नयाँ गाउँ’मा थारू समुदायका पुराना सँस्कृति

थारु बस्ती बसेको ३० वर्ष भइसक्यो । नाम हो, ‘नयाँगाउँ’ । तर, थारु समुदायका पुराना सँस्कृतिक परम्पराले धनि छ गाउँ । पश्चिमा प्रभाव बढीरहेका बेला नयाँगाउँका बासिन्दा थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सकृय छन् ।

दाङबाट आएका थारु समुदायले २०२४ सालमा जंगल फाँडेर बस्ती बसालेका थिए । त्यही गाउँलाई ‘नयाँगाउँ’ भन्न थालियो । बाँकेको कोहलपुरबाट ११ किलोमिटर पूर्वतर्फ लागेपछि पुगिन्छ नयाँगाउँमा । महादेवपुरी गाविस-६ नयाँगाउँ पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पुग्न कठीन छैन । त्यसैले पनि होला थारुहरुको परम्परा र सँस्कृति हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन अटुट हुन्छ ।

पर्यटकहरुको बसाईं लम्ब्याउन स्थानीयले जुक्ति निकाले र होमस्टे सञ्चालन गरे । बाँकेको वर्ष दिन पहिले सञ्चालनमा आएको होमस्टेमा पाहुना बढ्दै गएका छन् । ०७२ साल जेठदेखि सुरु भएको होमस्टेमा ५ सय ५० भन्दा बढी पर्यटकहरु बास बसिसकेका छन् ।

ढकेरी नजिकको नयाँगाउँ सामुदायिक होमस्टेका सचिव मंगल चौधरीका अनुसार १० घरमा होमस्टे सुविधा छ । थारु संस्कृति र जीवनशैली अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको उनी बताउँछन् । होम स्टेमा आएका पाहुनाहरु थारुहरुको परम्परागत नाच र सँस्कृति अवलोकन गरेर रमाइलो मान्ने गरेको चौधरीले बताए ।

‘हामी उत्साही छौं’, चौधरीले भने, ‘बिस्तारै हाम्रो होमस्टेले गति लिँदै छ ।’

कति लाग्छ खर्च ?

बाँके राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिक भएकाले निकुञ्ज घुम्न आउने पर्यटकहरुका लागि सजिलो र सस्तो गन्तव्य नयाँ गाउँ बन्ने गरेको छ । गाउँमा आएका पर्यटकहरुलाई जंगल वाक र थारु बस्ती भ्रमण गराइन्छ ।

होमस्टेका हरेक घरमा एक-एक कोठा पाहुनालाई छुट्टयाइएको छ । हरेक कोठामा दुई जना बास बस्न सक्छन् । कोठाको दैनिक तीन सय रुपैयाँ पर्छ । त्यस्तै सादा खानाको १०० र मासु खानाको २५० रुपैयाँ पर्छ । दशैं विदा जस्तो फुर्सदिलो समयमा नयाँ गाउँमा पुगेर मनोञ्जन लिन सकिन्छ ।

होमस्टेमा देखाइने साँस्कृतिक प्याकेजमा लाठी, छोकरा, हुर्दङ्गा र मुजुरा नाच देखाइन्छ । साँस्कृतिक कार्यक्रम हेरेको समूहले २ हजार रुपैयाँ तिर्नु पर्छ ।

विशेष गरी एकरात दुई दिनको कार्यक्रमहरु बढी होम स्टेमा आउने गरेको चौधरीले बताए । उनका अनुसार पाहुनाहरुलाई पालैपालो मिलाएर घरमा राख्ने गरिन्छ ।

होमस्टे सञ्चालन गर्न तराई भूपरिधि कार्यक्रम, सामुदायिक वन समन्वय समिति, जलन्धारा सामुदायिक वन उपभोक्ता समिति र महादेवपुरी गाविसले हातेमालो गरेको सचिव चौधरीले बताए ।

अहिले होम स्टेमा आउने पाहुनाहरुलाई थारु सँस्कृति देखाउनका लागि घरको आँगन प्रयोग गरिन्छ । खुल्ला स्थानमा साँस्कृतिक कार्यक्रम देखाउँदा समस्या भएकाले हल निर्माण कार्य भइरहेको छ । दशैंलगत्तै हल सञ्चालन भएपछि केही राहत हुने स्थानीय थारु समुदायको विश्वास छ ।

‘साँझ त कार्यक्रम तथा साँस्कृतिक गतिविधि गर्न खासै गाह्रो छैन तर दिउँसोमा गाह्रो हुने भएकाले हल आवश्यक भयो,’ चौधरीले भने, ‘भर्खरै सुरु भएका कारण जती ब्यवस्थापन गर्नुपर्ने हो त्यति सकेका छैनौं तर विस्तारै-विस्तारै ब्यवस्थापन गर्ने प्रयास गरेका छौं ।’ आय आर्जन पनि हुने भएकाले अहिले आफ्ना गाउँका थारुहरु समेत होमस्टेबाट उत्साहित भएको बताए ।

भरतबन्धु थापा/अनलाइनखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *